खराब कर्जा बढ्नुको वास्तविक कारण पहिल्याइयोस्
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणले बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा बढ्दै गएको देखाएको छ । आन्तरिक र बाह्य कारणले अर्थतन्त्रमा देखिएको शिथिलता, व्यवसाय र आम्दानीमा परेको प्रभाव, बढ्दो महंगी, उच्च ब्याजदरलगायतका कारण ऋणीले कर्जाको किस्ता तिर्नसक्ने क्षमतामा कमी आएको छ । यही कारण बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा अर्थात् खराब कर्जाको आँकडा बढेको छ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको औसत खराब कर्जा एक दशमलव ८३ प्रतिशत थियो । दोस्रो त्रैमासमा यस्तो कर्जा बढेर दुई दशमलव ३५ प्रतिशत पुग्यो । तेस्रो त्रैमासमा झनै बढेर तीन दशमलव शून्य तीन प्रतिशत पुगेको छ । औसत निष्क्रिय कर्जा बढेकै कारण धेरै बैंकहरूको नाफा खुम्चिएको छ । विकास बैंकहरूको औसत खराब कर्जा तीन दशमलव छ प्रतिशतभन्दा माथि पुगेको छ । फाइनान्स कम्पनीहरूको खराब कर्जा छ दशमलव १३ प्रतिशत हाराहारी पुगेको छ । यसबाट वाणिज्य बैंकभन्दा विकास बैंक र फाइनान्स कम्पनीको खराब कर्जा उच्च छ ।
नेपालमा हाल २१ वटा वाणिज्य बैंकहरू सञ्चालनमा रहेका छन् । तीमध्ये चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा तीनवटा वाणिज्य बैंकको खराब कर्जा चार प्रतिशतभन्दा माथि पुगेको छ । हिमालयन बैंक, कृषि विकास बैंक र नेपाल बैंकको खराब कर्जा चार प्रतिशत नाघेको हो । सिटिजन्स बैंक, कुमारी बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्र्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकको खराब कर्जा पनि करिब चार प्रतिशत हाराहारी छ । एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एनआईसी एसिया र नेपाल एसबीआई बैंकको खराब कर्जा भने एक प्रतिशतभन्दा कम रहेको छ ।
बैंकहरूको खराब कर्जा बढ्दा त्यसको असर मुनाफामा पर्छ । तर वाणिज्य बैंकहरूको मुनाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा ११ दशमलव ६७ प्रतिशतले बढेको छ । खराब कर्जा बढेका कारण केही बैंकको नाफा घटे पनि कर्जा असुलीमा आक्रामक भएका कारण बैंकहरूको औसत नाफा बढेको देखिन्छ । वाणिज्य बैंकहरूले चैत मसान्तसम्म ४८ अर्ब ७० करोड ४९ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् । यो नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासमा भन्दा पाँच अर्ब नौ करोड ११ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको चैतमा बैंकहरूको नाफा ४३ अर्ब ६१ करोड ३८ लाख रुपैयाँ रहेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ५४ खर्ब ५३ अर्ब रुपैयाँ र कुल कर्जा ४८ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ । यसमध्ये वाणिज्य बैंकहरूको निक्षेप ४८ खर्ब छ अर्ब रुपैयाँ र कर्जा प्रवााह ४२ खर्ब ९६ अर्ब रुपैयाँ रहेको छ । यस्तै विकास बैंक र फाइनान्स कम्पनीहरको कुल निक्षेप छ खर्ब ४६ अर्ब र कुल कर्जा पाँच खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाको औसत निष्क्रिय कर्जा साढे तीन प्रतिशतभन्दा माथि पुगेको छ । जसले वित्तीय क्षेत्रमा खराब सङ्केत गरेको छ । खराब कर्जा बढ्दा वित्तीय क्षेत्रमा जोखिम बढ्छ । वित्तीय क्षेत्रमा सम्भावित जोखिम कम गर्न खराब कर्जा बढ्दै जानुको ठोस कारण पहिल्याउनुपर्छ । यसमा नियामक निकाय नेपाल राष्ट्र बैंक चनाखो बन्नुपर्ने बेला आएको छ । नाफाको लागि जे पनि गर्ने बैंकिङ क्षेत्रको नियतलाई केन्द्रीय बैंकले अंकुश लगाउनुपर्छ ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
- म्याग्दीमा करिब तीन हजार उद्योग
- दोहोरो अंकले घट्यो नेप्से
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया