Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकृषि–खाद्य प्रणालीको क्षेत्रीय सम्मेलन

कृषि–खाद्य प्रणालीको क्षेत्रीय सम्मेलन


काठमाडौं । नेपालले दक्षिण एसियामा प्रभावकारी कृषि–खाद्य प्रणाली विषयक सापलिङको क्षेत्रीय सम्मेलनको आयोजना गरेको छ । सुधारिएको पोषण तथा वृद्धिको लागि दक्षिण एसियाली नीति निर्माताहरुको संगठन सापलिङको दोस्रो बैठक काठमाडौंमा सम्पन्न भएको हो ।

सोमबार र मंगलरबार दुई दिन भएको बैठकमा कृषि–खाद्य प्रणालीमा सुधार गर्ने सम्बन्धमा छलफल भएको थियो । उक्त कार्यक्रममा सापलिङका सदस्य राष्ट्रहरु नेपाल, बंगलादेश, श्रीलंका, भारत र भुटानका ६० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सम्मेलनमा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका वरिष्ठ कार्यक्रम अधिकृत सिद्धार्थ चतुर्वेदीले कृषि खाद्य प्रणालीको दृष्टिकोणबाट नीति निर्माताहरुको आवश्यकता र प्राथमिकताहरुअनुरुप कुपोषणविरुद्ध लड्न प्रमाणमा आधारित नीति, कार्य र नेतृत्वलाई मूल प्रवाहमा समाहित गर्न विभिन्न सरोकारवालाहरुबीच आपसी सहमति जुटाउनकै लागि क्षेत्रीय मञ्चको महत्व रहेको बताएका थिए । यस्तै राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारीले अन्तरसरकारी र निजी क्षेत्रका साझेदारहरुबीच सहकार्य हुन जरुरी रहेको बताए । राष्ट्रिय योजना आयोग सदस्य डा. जयकान्त राउतले दक्षिण एसियाली राष्ट्रहरुलगायत यस क्षेत्रका सबै देशहरुले जलवायु परिवर्तन र फसल उत्पादनपछिको नोक्सानीजस्तो समान चुनौतीहरुको सामना गरिरहेको उल्लेख गरे ।

सम्मेलनमा नीति निर्माताहरुको बीच विभिन्न चारवटा प्यानेल छलफल गरिएको थियो, जहाँ बंगलादेश, श्रीलंका, भुटान र नेपालका उच्चपदस्थ सरकारी अधिकारीहरुले प्राथमिकताहरु, कृषि खाद्य प्रणालीहरुलाई मजबुत बनाउनका लागि क्षेत्रीय सहायताका एजेण्डाहरु र सो परियोजनको लागि विभिन्न प्रारुपहरुका बारेमा विचार विमर्श गरेका थिए । साथै क्षेत्रीय सहकार्यलाई अघि बढाउन फसल उत्पादनपछिको नोक्सानी न्यून गर्ने र जलवायुमैत्री कृषिका लागि प्रविधिहरुको उपयोगिताको विषयमा पनि मन्थन गरिएको थियो । नेपालको तर्फबाट कृषि तथा पशुपन्छी मन्त्रालय सचिव डा. गोविन्द प्रसाद शर्माले छलफलमा भाग लिएका थिए । सम्मेलनमा सीमापारका निजी क्षेत्रका लगानीकर्ताहरुलाई प्रवद्र्धन गर्ने वातावरण निर्माण गर्ने, सापलिङ राष्ट्रहरुबीच ज्ञान र सीपका सिकाइहरुसम्बन्धी सहकार्यलाई अघि बढाउने विषयमा पनि छलफल गरिएको थियो ।

सम्मेलनमा सहभागी विज्ञहरु र सरकारी पदाधिकारीहरुले अन्तरसरकारी सहयकार्यलाई बढावा दिन र जलवायुमैत्री प्रविधिहरुको प्रयोग, फसल उत्पादनपछिको नोक्सानी न्यूनीकरण, दक्षिण एसियाली क्षेत्रभरिका सदस्य राष्ट्रहरुबाट खाद्य सुरक्षामा सुधार गर्न सापलिङजस्तो एक पहलले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्नेमा जोड दिएका थिए । पोषण सुरक्षित दक्षिण एसियाको लागि आहार प्रभावित खाद्य प्रणालीहरु परिपालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्मेलनले काठमाडौं घोषणापत्र जारी गरेको छ ।

सम्मेलनलाई राष्ट्रिय योजना आयोग, नेपालले हाल सापलिङको अध्यक्षता गरिरहेको ब्राक, बंगलादेश र आईपीई ग्लोबल लिमिटेड, भारत, विश्वकै सबैभन्दा ठूलो गैरसरकारी विकास संस्था, विकास क्षेत्र थिङ्क एन्ड डु ट्यांक र काठमाडौंमा प्रधान कार्यालय रहेको मुनाफारहित थिङ्क ट्यांक सर्वांगीण विकास अध्ययन केन्द्र, नेपालसँगको सहकार्यमा आयोजना गरेको हो । सापलिङलाई बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनको सहयोग प्राप्त छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया