Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनवलपरासीमा सामसङको टेलिभिजन फ्याक्ट्री सञ्चालन

नवलपरासीमा सामसङको टेलिभिजन फ्याक्ट्री सञ्चालन


काठमाडौं । सामसङले नवलपरासीमा टेलिभिजन फ्याक्ट्री सञ्चालनमा ल्याएको छ । स्मार्टफोन र उपभोक्तामुखी इलेक्ट्रोनिक्स ब्राण्डहरुका विश्वव्यापी अग्रणी कम्पनीहरुमध्ये एक सामसङले नेपालमा वर्षौँदेखि साझेदार रहँदै आएको हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा बुधबार एक ल्याण्डमार्क टेलिभिजन कारखानाको उद्घाटन गरेको हो ।

कारखानाको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र सामसङ दक्षिण–पश्चिम एसियाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत जेबी पार्कले संयुक्त रुपमा गरेको कम्पनीले जनाएको छ । स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने गरी नेपालमा बहुराष्ट्रिय कम्पनीले इलेक्ट्रोनिक्स वस्तुहरुको उत्पादन सुरु गर्न कारखाना स्थापना गरेको यो नै पहिलो भएको कम्पनीले दाबी गरेको छ ।

कार्यक्रममा गोल्छा समूहका अध्यक्ष एवं प्रबन्धनिर्देशक शेखर गोल्छा, नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुक, सामसङ इलेक्ट्रोनिक्सका नेपाल प्रमुख सुङ जुन पार्कलगायत अन्य स्थानीय अधिकारीहरुको उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगमन्त्री रिजालले कोरियाली लगानीकर्तालाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरे। उनले वैदेशिक लगानीका लागि नियम कानुन बाधक भए सरकार सच्याएर जान तयार रहेको बताए ।

कार्यक्रममा सामसङ दक्षिण–पश्चिम एसियाका अध्यक्ष एवंं प्रमुख कार्यकारी अधिकृत पार्कले नेपालमा दुई दशकभन्दा बढी समयदेखि रहिरहेको सामसङले नेपाली जनतासँग एउटा बलियो सम्बन्ध गाँसिसकेको बताए । सामसङको साझेदार हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा खोलिएको यो नयाँ टेलिभिजन कारखानाले नेपालसँगको कोरियाली सम्बन्धलाई अझ मजबुत बनाउने उनको भनाइ थियो । सामसङले यहाँका जनताहरुलाई रोजगारीका अवसरहरु उपलब्ध गराउने र दक्ष जनशक्ति निर्माण गर्न भूमिका निर्वाह गर्ने उनले बताए ।

कार्यक्रममा गोल्छा समूहका अध्यक्ष एवं प्रबन्धनिर्देशक शेखर गोल्छाले विश्वकै सबैभन्दा बृहत् इलेक्ट्रोनिक्स कम्पनीले नेपाली बजारप्रति गहिरो अभिरुचि देखाएको बताए । ‘हाम्रो लागि यो महत्वपूर्ण संकेत हो । यस क्षेत्रलाई प्रवद्र्धन गर्ने उपयुक्त नीतिहरुसँगै हामीले देशको अर्थतन्त्रमा रोजगारी, मूल्य अभिवृद्धि र देशको सीमापारिका अवसरहरुका रुपमा धेरै सकारात्मक योगदानहरु परेको देख्न सक्छौँ’, उनले भने ।

टेलिभिजन कारखानाको शिलान्यास अगष्ट, २०२२ मा गरिएको थियो । नयाँ सुविधायुक्त यस कारखाना नेपालको उत्पादनको यात्रामा एक कोशेढुंगा भएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार यसले स्थानीय उद्यम, नयाँ सीपहरु, खोजहरु र रोजगारीसँग देशमा इलेकट्रोनिक्स क्षेत्रको रुपान्तरण गरिरहेको छ । यसले देशमा दक्षता र उत्पादकत्व अभिवृद्धि गर्न, अझ धेरै रोजगारी सिर्जना गर्न र मजबुत इलेक्ट्रोनिक्स उत्पादन प्रणालीको वातावरण विकास गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।

सामसङले नेपालमा उपभोग्य इलेक्ट्रोनिक्स उत्पादनहरु टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ्स, र स्मार्टफोन बिक्रीवितरण गर्दै आएको छ । देशभर सामसङको पाँच सय इलेक्ट्रोनिक्स रिटेल पसल र ग्राहक सेवा केन्द्रको सञ्जालमा रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया