Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशकोशी प्रदेशका तीन पालिका अझै सडक पहुँचबाहिर

कोशी प्रदेशका तीन पालिका अझै सडक पहुँचबाहिर


सोलुखुम्बु । कोशी प्रदेशका १४ जिल्लामध्ये तीन जिल्लाका तीनवटा गाउँपालिका केन्द्र अझै पनि सडक सञ्जालको पहुँचबाहिर रहेका छन् । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका तथा संखुवासभाको भोटखोला र सिलिचोड गाउँपालिका केन्द्रमा हालसम्म सडक पुग्न सकेको छैन ।

सडक नपुगेको कारण तीन पालिकाका बासिन्दा अझै खच्चड र भरियाले बोकेका सामग्रीमा निर्भर छन् । १० स्थानीय तह रहेको संखुवासभाका बाँकी आठ पालिकामा सडक पुगेको छ भने आठ स्थानीय तह रहेको सोलुखुम्बुको खुम्बुबाहेक सात पालिका केन्द्रमा सडक पुगेको छ । कोशी राजमार्गअन्तर्गत संखुवासभाको खाँदबारी भोटखोला गाउँपालिका हुँदै तिब्बत जोड्ने एक सय ६२ किलोमिटर सडकमध्ये १० किलोमिटर अझै खन्न बाँकी नै छ । खाँदबारी र सिलिचोड जोड्ने छब्बीसेमा पुल नबन्दा सिलिचोड गाउँपालिकामा सडक पुग्न नसकेको हो । यहाँ खाद्यान्न ढुवानीमा भरिया तथा खच्चडकै भर पर्नुपरेको भोटखोलाका पासाङ खम्बा भोटे बताउँछन् ।

झापाको केचनाकवलदेखि ताप्लेजुङको ओलाङचुङगोलासम्मको सडक मेची राजमार्ग हो । तर पाथीभरा याङवरक, फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिका छुने यो सडक अहिलेसम्म ओलाङचुङगोलासम्म पुगेकै छैन । सोलुखम्बुको खुम्बु पासाङल्हमु गाउँपालिकामा सडकको पहुँच नपुग्दा दैनिक उपभोग्य वस्तु निकै महंगो हुनेगरेको होटल व्यावसायी ल्हाक्पा दिकी शेर्पाको भनाइ छ । यी गाउँपालिकाहरूमा कि हवाइमार्गबाट ढुवानी गर्नुपर्छ नभए भरिया र खच्चडको भर पर्नुपरेको छ । कोशी प्रदेश सरकारले सडक सञ्जाल नपुगेका यी स्थानीय तहमा नयाँ योजना ल्याएर सडक जोड्ने तयारी गरेको कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री दुर्गाप्रसाद चापागाईंले बताए । सरकारको हरेक स्थानीय तहमा सडक सञ्जाल पु-याउने योजना पूरा हुन नहुँदा स्थानीयले नुन, तेललगायतका दैनिक उपभोग्य सामग्री महंगोमा किन्नु परिरहेको छ । कोशी प्रदेशमा एक सय ३७ वटा स्थानीय तहमध्ये तीन जिल्लाका चार पालिकाका स्थानीयको दैनिकी कष्टकर छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया