Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभाईरस संक्रमण नियन्त्रणमा रुपन्देहीका गाउँपालिकाहरु सक्रिय बन्दै

भाईरस संक्रमण नियन्त्रणमा रुपन्देहीका गाउँपालिकाहरु सक्रिय बन्दै


बुटवल, चैत २१

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नियन्त्रणमा यतिबेला रुपन्देहीका गाउँपालिकाहरुले निकै सक्रियता देखाएका छन् । जनताबाट निर्वाचित जनप्रतिनिधीहरुले सञ्चालन गर्ने स्थानिय सरकारमा जनताको मन जित्नु मुख्य रहेको बुझेका जनप्रतिनिधीहरुले कोरोनाभाईरसको संक्रमणबाट आफ्नो निर्वाचन क्षेत्रका जनताहरुलाई बचाउनु चुनौती र अवसर दुबै देखिएकोे छ । गाउँपालिकाहरु यतिबेला भाईरसको संक्रमणबाट बचाउन गाउँपालिकामा बाहिरबाट आएकाहरुलाई जनसुरक्षाको लागि क्वारेण्टाईनमा राख्न र सरकारले गरेको लकडाउनलाई प्रभावकारी बनाउन दिनरात उच्च सर्तकताका साथ लागि परेका छन् । साथै, विपन्न परिवारहरुको खाद्य संकटलाई समाधान गर्न चामल, दाल, तेल, नुन लगायतका खाद्य सामाग्रीहरु वितरणमा पनि गाउँपालिकाहरुले तिब्रता देखाएका छन् ।एक उपमहानगरपालिका, पाँच नगरपालिका र दश गाउँपालिका गरी १६ वटा स्थानिय सरकारको भएको रुपन्देहीमा सबै स्थानिय सरकारहरुले कोरोना भाईरसको नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेका छन् । त्यसमा पनि कमजोर क्षेत्रको रुपमा हेरिने गाउँपालिकाहरु पनि यति बेला बलिया र सक्षम मानिने नगरपालिका र उपमहानगरपालिका भन्दा कम छैनन् । जिल्लामा भएका दश वटै गाउँपालिकाहरुले कोरोना भाईरस संक्रमण नियन्त्रणमा आ–आफ्नै तरिकाबाट महत्वपूर्ण भूमिका खेलेका छन् । जिल्लामा भएका दश वटा गाउँपालिकाहरु सबैले क्वारण्टाईन निर्माण र व्यवस्थापन देखि अन्य आवश्यक कार्यहरुलाई तिब्रता दिएका छन् । दश गाउँपालिका मध्ये ओमसतिया गाउँपालिका र सियारी गाउँपालिकाका क्वारेण्टाईनहरुमा हाल कोही नरहेता पनि बाँकी आठ वटा गाउँपालिकाहरुमा एक सय ३४ जना सुरक्षित बसोबास गरेका छन् ।

विगतका दुई बर्षहरुमा बजेट खर्चमा उलेख्य प्रगति गरेको शुद्धोधन गाउँपालिकाका रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीका अनुसार गाउँपालिकाको यज्ञदय बहुमुखी क्याम्पस फर्साटिकरलाई क्वारेण्टाईन बनाईएको छ । २० बेडको क्वारेण्टाईन बनाईएपनि हाल उक्त क्वारेण्टाईनमा १६ जना रहेका छन् । क्वारेण्टाईनमा रहेका सबै भारतबाट आएका हुन । संक्रमणकालिन अवस्थालाई मध्यनजर गर्दै गाउँपालिका बासीहरु हरेक समस्याहरु समाधान गर्न गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी दिनरात लागि परेको छ ।त्यस्तै, गैडहवा गाउँपालिका रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी घिमिरेका अनुसार गाउँपालिकाको वडा नं. ४ ठकुरापुरमा अवस्थित नव दुर्गा माविलाई क्वारेण्टाईन बनाईएको छ । २५ बेड क्षमताको उक्त क्वारेण्टाईनमा हाल १३ जना मात्र रहेका छन् । पछिल्लो समयमा रुपन्देहीका अन्य स्थानिय तहहरु भन्दा फरक शैलीमा विकास निर्माणका कार्यहरु गर्ने जमर्कोमा रहेको गाउँपालिकाले कोरोना नियन्त्रणमा पनि केही फरकपन देखाएको छ । गाउँपालिकाका सबै सीमा नाकाहरु र वार्ड वार्ड जिम्मेवार व्यक्तिहरुलाई खटाएर को को आए र गए भन्ने विवरण संकलन गर्दै चेकजाँचमा थप कडाई गरेको गरेको छ । हाल सम्म गाउँपालिकामा कोही पनि संकास्पद व्यक्तिहरुले प्रवेश नभएकोले त्रसित हुनु पर्ने अवस्था नभएतापनि सर्तकतालाई प्रमुख मान्दै दिनरात अनुगमन गरेर नवप्रवेशिहरुलाई कडाई गरिएको छ । लकडाउनको कारणले दैनिक ज्यालादारी गरेर खाने घरपरिवारको खाद्य संकटलाई समाधान गर्न चामल, दाल, तेल लगायतका समाग्रीहरु पनि वितरण गर्न सुरु गरिएको छ ।

त्यसैगरी कञ्चन गाउँपालिका रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीका अनुसार क्वारेण्टाईनको आवश्यकता बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै छ वटा विद्यालयहरुलाई जुन सुकै समयमा पनि क्वारेण्टाईन बनाउने गरी गाउँपालिकाले तयारी गरेको छ । हाल गाउँपालिकाको लुम्बिनी ज्ञान निकेतम मावि कञ्चन–५ मा बनाईएको क्वारेण्टाईनमा ११ जना रहेका छन् । क्वारेण्टाईन निर्माणमा आवश्यकतालाई परिपुर्ती गर्ने गरी गाउँपालिकाले आवश्यक रणनीति अपनाएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले हाल सम्म नौं सय ५० घरधुरीलाई राहत स्वरुप खाद्य सामाग्री वितरण गरिएको बताए । उनले वितरण गरिएको खाद्य सामाग्रीहरुको बारेमा जानकारी गराउँदै प्रति परिवार १५ केजी चामल, एक केजी दाल, एक लिटर तेल, एक केजी नुन, एक पिस साबुन पनि वितरण गरेको बताए ।रोहीणी गाउँपालिका रुपन्देहीका अध्यक्ष सनोज कुमार यादवका अनुसार गाउँपालिकाको धकधईमा अवस्थित राम नरेश यादव माविलाई क्वारेण्टाईन बनाईएको छ । १५ बेड क्षमताको उक्त क्वारेण्टाईटमा हाल नौं जना रहेका छन् । क्वारेण्टाईनमा रहेका नौं जना मध्ये तीन जना कतार र साउदी अरबबाट आएका हुन भने बाँकी छ जना भारतबाट आएका हुन । मायादेवी गाउँपालिका कार्यालयका अनुसार गाउँपालिकाको वडा नम्बर ८ मा अवस्थित शैक्षिक तालिम केन्द्रलाई क्वारेण्टाईन बनाईएको छ । प्रस्ताव तीन ठाउँमा गरिएपनि हाल तिनाउ मावि बेथरीको क्वारेण्टाईनमा कोही पनि छैन । बसडिल्लवामा अवस्थित शैक्षिक तालिम केन्द्रको क्वारेण्टाईनमा ३१ जना रहेका छन् । उक्त ३१ जनामा १२ जना गाउँपालिकाकै स्थानिय छन् भने २० जना अन्य क्षेत्रका रहेका छन् ।

कोटहीमाई गाउँपालिका रुपन्देहीले मर्चवार आदर्श बहुमुखी क्याम्पस मझगवालाई क्वारेण्टाईन बनाएको छ । मझगवाको उक्त क्वारेण्टाईनमा हाल दश जना रहेको गाउँपालिका कार्यलयले जनाएको छ । कार्यालयका अनुसार क्वारेण्टाईनमा रहेका दश जनामा पनि थप हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै बेडहरु थप्ने तयारीमा गाउँपालिका रहेको छ ।ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलका अनुसार गाउँपालिकामा अवस्थित सहकारी डिभिजन कार्यालयलाई क्वारेण्टाईन बनाईएको छ । दश बेड क्षमताको उक्त क्यारेण्टाईनमा हाल सम्म एक जना पनि राखिएको छैन । महामारीमा बढ्न सक्ने खाद्य संकटलाई मध्यनजर गर्दै खाद्य वितरणको लागि वडाबाट सिफारिस आईसकेको छ । वडाको सिफारिस बास्तविक हो वा होईन भन्ने एकिन गर्न गाउँपालिका स्तरिय अनुगमन समीतिले अनुगमन गरेको छ । अनुगमन समितिले ठिक छ भन्ने वित्तीकै १५ केजी चामल, दुई केजी दाल, एक लिटर तेल, एक केजी नुन, आधा केजी स्वाबिन वितरण कार्यलाई तिब्रता दिईने छ ।मर्चवारी गाउँपालिका रुपन्देहीका अध्यक्ष केशवनन्द बाँनियाका अनुसार गाउँपालिकाले भाईरस संक्रमण रोक्न सक्दो सुरक्षा रणनीति अपनाईएको छ । गाउँपालिकाको ६० प्रतिशत भू–भाग भारतिय सीमा क्षेत्रसँग जोडिएको र अधिकांस खुल्ला सीमाना हुँदा आगमन नियन्त्रणमा समस्या देखिएको छ । खुल्ला नाकाबाट आउनेहरुको नियन्त्रणमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधी, कर्मचारी सबै दिनरात खटिएतापनि पूर्ण रुपमा भारतबाट आउनेहरुको नियन्त्रण गर्न नसकिएको अवस्था छ । उक्त आगमनलाई नियन्त्रण गर्न कम्तिमा एक हजार जना सुरक्षा निकायका कर्मचारीहरु र जनप्रतिनिधी खटिनु पर्छ । गाउँपालिकाको वार्ड नंं. ५ मा अवस्थित जनतामा माविको क्वारेण्टाईनमा हाल २० जना छन् ।

सियारी गाउँपालिका रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत मिन प्रसाद भट्टराईका अनुसार गाउँपालिकाको पश्चिम अमुवा स्थित जनता माविलाई क्वारेण्टाईन बनाईएको छ । जनता माविमा बनाईएको आठ बेडको उक्त क्वारेण्टाईनमा सुरुमा आठै जना राखिएतापनि चार जना कञ्चन गाउँपालिका र चार जना लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्थानियहरु भएकोले सम्बन्धित स्थानिय तहहरुको समन्वयमा सोही क्षेत्रको क्वारेण्टाईनमा राख्नेगरी पठाईएकोले हाल एक जना पनि छैनन् ।सम्मरीमाई गाउँपालिका रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत टेकराज भट्टराईका अनुसार गाउँपालिकाको वडा नं. ७ मा अवस्थित मदरसालाई क्वारेण्टाइन बनाईएको छ । २० बेड क्षमताको क्वारेण्टाईन बनाईएपनि छिमेकी राष्ट्र भारतबाट खेतखेतै लुकेर आउने समस्याले गर्दा क्वारेण्टाईनको व्यावस्थापनमा केही समस्या देखिएको छ । सुरुमा २० जना सम्म राख्ने व्यवस्था गरिएपनि क्षमतामा बृद्धि गरेर हाल २४ जनालाई क्वारेण्टाईनमा राखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x