Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशश्रमको मूल्य पाउनै कठिन !

श्रमको मूल्य पाउनै कठिन !


सोलुखुम्बु । सोमबार विभिन्न संघसंस्थाले १३४औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा श्रमिकको हक–अधिकारका लागि भन्दै विभिन्न कार्यक्रम गरी मनाए । तर सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा ज्यालादारी गरिरहेका मजदुरहरूलाई भने श्रमिक दिवसले छुन सकेन । सल्लेरीमा गिटी कुट्दै गर्दा भेटिएका सोलुदुधकुण्ड नगरपालिका–३ बोल्दोका बृद्ध पासाङ तामाङ श्रमिक दिवसबारे अनभिज्ञ छन् ।

उमेरले ६७ वर्ष नाघिसकेका तामाङलाई न त मजदुर दिवसकै वास्ता छ न त अधिकारकै । ज्यानले साथ नदिँदा समेत पेट पाल्नकै लागि मजदुरी गर्नैपर्ने बाध्यता रहेको तामाङको गुनासो छ । एक जनाले मजदुरीको भरमा परिवार पाल्नुपर्ने मजदुरहरूको बाध्यता हो । मजदुर दिवसका दिन र चुनावका बेला राजनीतिक दलका नेताहरूले मजदुर अधिकार र ज्यालाको बारेमा ठूला–ठूला भाषण छाट्ने गर्छन्, तर त्यसपछि सबै चुपचाप । नेचासल्यान गाउँपालिका एक लेब्लुका दावा शेर्पा भन्छन्, ‘खै मजदुरी गर्ने हाम्रो दैनिकी त कहिले फेरिने हो थाहा छैन । यस्तै होला अब, बिहान उज्यालो भएदेखि बेलुका रात नपरेसम्म काम गर्नै पर्छ ।’ जनताको ढाड भाँचिने गरी भइरहेको मूल्य वृद्धि र कालाबजारीको समेत तिनै मजदुरले सामना गर्नुपर्दछ । अरु त परको कुरा काम गरेको ज्याला लिन समेत संघर्ष गर्नुपर्ने तितो यर्थाथ मजदुरसँग छ ।

‘महंगी बढ्दो छ, तर हाम्रो ज्याला कहिल्यै बढेको अनुभूति भएको छैन मलाई, यहाँ हेर्नुस् न हामी यस्तो ठाउँमा रातदिन नभनी ढुंगामुढाको काम गर्नुपछ, तर थोरै भए पनि ज्याला पाए त हुन्थ्यो नि त्यो पाउन पनि कत्ति गाह्रो छ, पैसा नै दिँदैन ठेकेदारहरूले, काम गरेर बेलुका खानुपर्ने हामीलाई काम गरेको दुई वर्षमा पनि ज्याला पाइँदैन के गर्नु र खै ?’, थुलुङ दुधकोशी गाउँपालिका ७ देउसाका राज कुमार तामाङले भने । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन भन्ने श्रम ऐनमा नै उल्लेख छ, तर ती अधिकारबाट अधिकांश मजदुरहरू वञ्चित छन् । यी सबै अघिकारलाई ख्याल नगरी ज्यालाकै लागि श्रम बेच्न विवश मजदुरहरू पारिश्रमिक लिन भने फलामकै चिउरा चपाएसरह छ ।

निर्माण कम्पनीहरूले आफूसँग रकम नै नभई उधारोमा काम गर्दाको परिणाम श्रमिकले बेहोर्नुपरेको निर्माण व्यवसायी संघ सोलुखुम्बुका सदस्य राजकुमार खत्री बताएका छन् । उनले भने, ‘घाँटी हेरी हाड निल्नुको सट्टा विनातयारी काम सुरु गर्ने अनि रकम ढिला निकासा हुँदा मजदुरहरू समस्यामा पर्नेगरेको कुरा सत्य हो । यसमा निर्माण व्यवसायी साथीहरू पनि गम्भीर हुनैपर्छ ।’ आर्थिक पक्ष मजदुरहरूको हक अधिकारसित सम्बन्धित छ । मजदुरमाथि शोषण छ दमन छ, उत्पीडन प्रबल अवस्थामा छ । उनीहरूलाई बढ्दो महंगीको अनुपातमा ज्याला उचित तलब सेवा–सुविधा पाइराखेका छैनन् । औषधि उपचारबाट वञ्चित छन् । उनीहरूलाई सरकारले यस्तो सुविधाका बारेमा सूचित गराउन पनि सकेको छैन । मजदुरको हक–अधिकारका लागि मुकलुकको तीनै तहको सरकारको ध्यान खासै जान सकेको देखिदैन् ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया