एसीसी प्रिमिअर कप: नेपाल च्याम्पिअन, एसिया कपमा छनोट
काठमाडौं,गुलशन झाको आक्रामक ब्याटिङको मद्दतले नेपालले एसीसी प्रिमिअर कपको फाइनलमा प्रतिद्वन्द्वी यूएईलाई सात विकेटले पराजित गरेको छ।
कीर्तिपुर क्रिकेट मैदानमा यूएईले दिएको ११८ रनको सामान्य लक्ष्यको चुनौतीलाई नेपालले ३० ओभर ३ बलमा ३ जना खेलाडी गुमाउँदै पूरा गरेको हो।
यो उपाधिसँगै नेपाल आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपको लागि छानिएको छ।नेपालले डेढ महिनाको बीचमा यूएईलाई दोस्रो पटक महत्त्वपूर्ण खेलमा पराजित गरेको हो।
गुलशन उत्कृष्ट प्रदर्शन
नेपालले जितका लागि ११८ रनको लक्ष्य पाएको थियो। त्यो ठूलो लक्ष्य थिएन।तर वर्षाका कारण खेल ‘डीएलएस’ मा पनि जानसक्ने भएकोले नेपालले रन र विकेटको हिसाब गरेर सुझबुझपूर्ण तरिकाले खेल्नुपर्थ्यो।
जति धेरै विकेट गुम्यो, नेपालको लक्ष्य त्यति नै बढ्ने हुन्थ्यो।यस्तो बेला नेपालले सुरुवातमा नै लगातार तीन विकेट गुमाएपछि टोली अचानक दबाबमा परेको थियो।
ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा रोहन मुस्तफाबाट एलबीडब्लूको सिकार भए। आठ बल खेलेका उनले एक रन मात्र जोड्न सके।
सातौँ ओभरको पहिलो बलमा अर्का ओपनर आसिफ शेख पनि एलबीडब्लूकै धरापमा परे।यूएईका रोहन मुस्तफा त्यसबीच शेखसँग विवादमा अल्झिन पुगेका थिए। उनको यो रणनीति सफल भएजस्तो देखिएको थियो।
शेखले १० बल खेलेर एक चौकासहित आठ रन मात्र जोड्न सके।त्यसपछि कप्तान रोहित पौडेल पनि आउट भएपछि नेपाल समस्यामा परेको थियो।
एक रन मात्र बनाएका पौडेललाई मुस्तफाले नै बोल्ड गरे। यति बेला आठ ओभरमा नेपालले २२ रन मात्र बनाएर खेलिरहेको थियो।
त्यसपछि खेल सम्हाल्ने जिम्मा गुलशन झाले लिए।स्कोरबोर्डमा छरितो रन जोड्न आवश्यक भएकोले प्रशिक्षक मोन्टी देसाईले भुर्तेल आउट भएपछि नै झालाई मैदानमा पठाएका थिए। जबकि अन्य बेला भीम सार्की आउने गर्थे।
झा र रोहित आउट भएपछि आएका भीम सार्की मिलेर नेपाली इनिङ्सलाई धैर्यपूर्ण तरिकाले अगाडि बढाए।दबाबमा धेरै ‘डट बल’ गइरहेको बेला बायाँ हातले खेल्ने आक्रामक झाले निरन्तर जस्तो चार छक्का र तीन चौका प्रहार गरेर टोलीको दबाब घटाउने काम गरेका थिए।
झाले आक्रामक रणनीति अपनाउँदा अर्को एन्डबाट सार्कीले विकेट बचाएर खेले।झाले ८४ बल खेलेर ६७ रनको अविजित अर्धशतकीय इनिङ्स खेले। सो क्रममा उनले ६ छक्का र ३ चौका प्रहार गरे।
भीम सार्कीले ७२ बल खेलेर अविजित ३६ रन बनाए।यी दुईले चौथो विकेटका लागि ९६ रनको अविजित साझेदारी गरे।
स्मरणीय कुरा के छ भने विश्वकप लिग-२ को अन्तिम खेलमा पनि झाले नै एउटा ओभरमा आक्रामक खेलेर २० रन जोडेपछि ‘डीएलएस’ मा यूएई पराजित हुन पुगेको थियो।
राजवंशीको चार विकेट
एसीसी प्रिमिअर कपको मङ्गलवार सुरु भएको फाइनलको दोस्रो दिनको खेलमा यूएई ११७ रनमा अल आउट भएको छ।
ललितनारायण राजवंशीले ३३.१ ओभरमा जुनेद सिद्दिकीको विकेट लिएपछि यूएई अलआउट भएको हो।मङ्गलवार पनि वर्षा हुने पूर्वानुमान रहेकोले नेपाली बलरहरूले छिटो भन्दा छिटो यूएईको अन्तिम विकेट लिने प्रयास गरेका थिए।
त्यसका लागि कप्तान रोहित पौडेलले स्पिनरद्वय राजवंशी र सन्दीप लामिछानेलाई मात्र प्रयोग गरेका थिए।तर अन्तिम विकेट लिन चार ओभरको समय लाग्यो। लामिछानेले दुई ओभर बलिङ गरे।
अन्ततः राजवंशीले ३४ ओभरको पहिलो बलमा सिद्धिकी (१० रन) लाई कुशल भुर्तेलबाट क्याच आउट गराए।यसबीचमा यूएईले ११ रन थप्यो भने सिद्धिकीले एक छक्का प्रहार गर्न भ्याएका थिए।
किन सारिएको थियो खेल ?
पछिल्लो समय २८ ओभरको खेल चलिरहेको बेला पुन: वर्षा भएपछि सोमवार खेल रोकिएको थियो।वर्षाका कारण सोमवार खेल रोकिएको त्यो दोस्रो पटक थियो।
कीर्तिपुर मैदानको आउटफिल्ड पूर्ण रुपमा ढाकिएको थियो।एकदम दर्केर नभइ सिम सिम मात्र पानी परेको कारण पुन: खेल सञ्चालन गर्ने आशामा रहेको प्राविधिक टोली पानी रोकिने प्रतिक्षामा थिए।
दिउँसो ३ बजेपछि पानी पर्न कम हुने मौसम पुर्वानुमान भएकोले पनि नेपालले दोस्रो इनिङ्समा कम्तीमा २० ओभरको खेल सञ्चालन गर्न सकिने अनुमान गरिएको थियो।तर साढे ३ बजेसम्म पनि पानी नरोकिएपछि म्याच रेफ्रीले खेल नहुने निर्णय गरे।
क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार पानी रोकि हालेमा पनि आउटफिल्डबाट पानी हटाउन र पिच तयार गर्न एक घण्टा भन्दा बढी समय लाग्ने थियो र त्यसपछि २० ओभरसम्म खेल खेलाउन समय अपुग हुन्थ्यो।(बीबीसी)
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया