कांग्रेसबारे प्रा.डा.हरू
काठमाडौं । चितवन र तनहुँको उपनिर्वाचनमा कांग्रेस उठ्नै नसक्ने गरी पछारिएपछि त्यस पार्टीका पूर्वसांसद, मन्त्री, राजदूत (भारत) दीपकुमार उपाध्यायले भन्नुभयो, ‘सभापति देउवाले पार्टी सिध्याएरै छाड्ने भए ।’ दीपकुमार उपाध्याय कांग्रेसको दूतावास कनेक्सन आन्तरिक जोड घटाउ राजनीतिमा गिरिजा प्रसाद कोइराला र शेरबहादुर देउवा दुवैतिर ब्यालेन्स मिलाएर आफ्नो ध्येय—साधनामा सिपालु र भलादमी नेता मानिनुहुन्छ । पंक्तिकारका दृष्टिमा पनि उहाँ साँच्चै नै भलादमी सहयोगी व्यक्तित्व हुनुहुन्छ । त्यसैले डा. मीनेन्द्र रिजाल, डा. प्रकाशशरण महत (हाल अर्थमन्त्री) सांसद रामहरि खतिवडा आदि इत्यादि एकहुल कांग्रेसी नेतृत्वहरुका लागि उहाँ एक ‘रोडमोडल’ पनि मानिनुहुन्छ ।
टिकट पाएर चुनाव हारेर भारतको राजदूत पड्काउन पाउनु कांग्रेसका एकहुल केन्द्रीय सदस्यहरुका लागि ‘रोलमोडल’ हुनु स्वाभाविक भइहाल्यो । यस्ता दीपकुमार उपाध्यायजस्ता कांग्रेस नेताले पनि कांग्रेस अब सकिने नै भयो भनेपछि समानुपातिक, राष्ट्रियसभा, दूतावासको दाउ हेरिरहेका स्वर्णिम वाग्ले टाइपका (टाइप किन भनेको भने स्वर्णिम तीन महिना पहिले गगन थापालाई (एमसीसी) भावी प्रधानमन्त्री भन्दै पछि लागेका थिए भने भोलिपल्टदेखि रवि लामिछानेलाई भावी प्रधानमन्त्री भनेर अहिले सांसद भएका छन्) प्रा.डा.हरु पनि देउवालाई धारेहात प्रतिक्रिया दिइरहेका भेटिनु अस्वाभाविक भएन । तथ्यमा कांग्रेसलाई देउवाले मात्र सिध्याउने नभएर सबै (प्राधिकार) मिलेर सिध्याउनेचाहिँ साँचो हो ।
‘शेरेले सिध्यायो’ भन्दै टाउकोमा हात राखेर अलापविलाप गरिरहेका कांग्रेसजनको अवस्था तनहुँ र चितवनले यसपटक मात्र देखाएको होइन । अहिलेका राष्ट्रपति रामचन्द्र पौडेललाई शेरबहादुर देउवाले ‘चुनावमा हारेर मसँग गफ गर्ने ?’ भनेर ५ वर्ष उठबैठ गराएका पाठ्यक्रम अभिलेख छँदै छ । मिष्टर प्रचण्डले छोरी जिताउन मतपत्र च्यात्नेजस्तो अन्तर्राष्ट्रियस्तरमा देखिने गुण्डागर्दी प्रजातन्त्रको हत्याबाट चितवनबासी लज्जित र अपमानित महशुस गरेर बदलामा रवि लामिछानेलाई उठाए । हो, त्यो मतपत्र च्यातेर छोरी जिताउने गुण्डागर्दी हर्कतमा साथ दिन कांग्रेस सभापतिका हैसियतले शेरबहादुर देउवाले चुनावी सभामै उभिएर रेनु दाहाल (मेयर भरतपुर) को नामै किटेर ‘हसियाँ हथौडा’मा भोट हाल्न ‘रुख’का मतदातालाई आह्वान गरेका थिए । बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई, महेन्द्र नारायण निधि, भीमबहादुर तामाङ, सिके प्रसाईं (या भनौँ हामीहरुजस्ता)को लिगेसी बोकेको पार्टीको सभापतिको त्यस्तो हर्कतले चीन, भारत, बेलायत, जापानलगायत विश्वमान चित्र र जागरुक जनमतमा नेपाली कांग्रेसको मात्र होइन प्रणाली अपनाएको मुलुककै बेइज्जतीको कुरो भयो । इदि अमिन (शत्रुको मुटु कलेजो भुटेर खान्थे अरे) ले पनि आजको विश्वमा हर्कत गर्न नसक्ने ‘मान्छेको टाउको काटेर झोलामा ल्याऊ र त्यही झोलामा पैसा भरेर लैजाऊ’जस्ता सरकारी (प्रधानमन्त्री देउवा) उर्दीको अवगाल धमिलो हुँदै गएको थियो कि अर्को निर्वस्त्र हर्कत प्रदर्शन भयो । बीपी, गणेशमान, भट्टराई लिगेसी बोकेका सारा कांग्रेसजनका लागि अलापविलापको स्थिति हुनु स्वाभाविक भयो । त्यसपछि पनि कांग्रेसका अधिराज्यभर आठ लाख कार्यकर्ता (सक्रिय सदस्य) भन्ने जुन छ, तिनले फेरि महाधिवेशनबाट शेरबहादुर देउवालाई नै फेरि ५ वर्षका लागि सभापतिमा निर्वाचन गर्नु भनेको दास मानसिकता या कविलाई चेतनाबाट माथि उठेका महाधिवेशन प्रतिनिधिहरु भइदिएका भए सम्भव थिएन । त्यसमा शेरबहादुर देउवाभन्दा झन् धेरै गुणाले शेखर, सुजाता कोइरालाहरु खत्तम भन्ने (शैलजा आचार्य प्रकरण अध्याय) आम कांग्रेस प्राडाहरुको जुन तर्क छ, त्यसमा कुनै दम छैन ।
कांग्रेसका भलादमी नेतृत्व दीपकुमार उपाध्यायलाई मेरो यो प्रश्न चिढाउनका लागि नभएर स्मरण गराउनका लागि हो । हसिया हथौडामा भोट माग्न रामचन्द्र पौडेल उफ्रिएजस्तै उहाँ उफ्रिनु भयो कि भएन ? त्यो मलाई थाहा भएन । कांग्रेसभित्रका (कांग्रेसबाहिर पनि बुर्जुवा समाजमा) ठूला विद्वान् नेता मानिएका भर्खरै स्वर्गारोहण प्रदीप गिरिले वसन्तपुरको खुला आमसभामा ‘शेरबहादुर देउवालाई बुद्धि चाहिँदैन, उसको बुद्धि हामी छौँ’ भाषण गरेको पंक्तिकार प्रत्यक्ष साक्षी छ । त्यो आमसभाको मञ्चमा दीपकुमार उपाध्यायजी पनि आसीन हुनुहुन्थ्यो । सायद आमसभाको आयोजना काठमाडौं कांग्रेसले गरेको थियो ।
अर्को एउटा यस्तै पाठ्यक्रम बन्नैपर्ने प्रतिक्रिया उदाहरण अभिलेख गरेर प्रतिपाद्य शीर्षक ‘काग्रेसबारे प्राडाहरुको प्रतिक्रियामा आउँछु ।
एक जना प्रखर पत्रकार, (रेडियो नेपालको लोकप्रिय कार्यक्रम (एक समय) का संस्थापक सञ्चालक) पाका प्राध्यापक, साहित्यलेखनका साधक हुनुहुन्छ पुरुषोत्तम दाहाल । राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक ‘हिमालय टाइम्स’ (नेपाली)का प्रधान सम्पादक हुनुहुन्छ । यसका साथसाथै शेरबहादुर देउवा कांग्रेस केन्द्रीय समितिमा ‘कार्यकर्ता प्रशिक्षण प्रशिक्षित विभाग’का एक प्राधिकार प्रमुख पनि हुनुहुन्छ । मेरो आपत्ति कांग्रेस प्राधिकार पुरुषोत्तमसँग मात्र हो । उहाँ टिभी, युट्युब पर्दाहरुमा भन्दै हुनुहुन्थ्यो, ‘तनहुँमा कांग्रेस पराजयको जिम्मा गण्डकी प्रदेशका पार्टी प्रमुख पोखराका शुक्रराज शर्माले लिनुपर्छ ।’ पुरुषोत्तम दाहालको यो वक्तव्य पूर्णरुपमा सरासर विवेक बुद्धिहीन कलुषित भ्रम फैलाउने डिजाइनका कारिन्दाको वक्तव्य जस्तो मात्र हो । म यो कुरो किटान ठहरका साथ किन भनिरहेको छु भने शुक्रराजजी गण्डकी प्रदेशका कांग्रेस प्रमुख हुनु पाँच दशक अघिदेखि नै राम्रोसँग चिन्दछु । हाम्रो चिनजान विचार आदानप्रदान हुने गरेको पाँच दशक पार भइसकेको छ । उहाँको ‘कांग्रेसमा संकल्पित ५२ वर्ष’ नामक पुस्तक बजारमा आएको छ । जुन पुस्तकमा मन्तव्य दिँदै प्रख्यात बौद्धिक व्यक्तित्व (पूर्वयूएनओमा नेपाल प्रतिनिधि) प्रा.डा. जयराज आचार्यले ‘यो पुस्तक पाँच हजार छापेर पुगेन पाँच लाख छापेर विदेशमा कामदार हुन विवश युवाजमातसम्म पु-याउनुपर्छ’ भनेर लेख्नुभएको । सो पुस्तकको प्रस्तुतकर्ता पंक्तिकार भएका नाताले पनि मलाई उहाँबारे धेरै जानकारी उपलब्ध भएको हो ।
शुक्रराजजी वि.सं. २०२३ सालमा बीपीका हातबाट तरुणदलको सदस्यता लिएर कास्कीमा संगठन खडा गरेदेखि अहोरात्र संघर्षरत नै हुनुहुन्छ । गिरिजा प्रसादबाट एकपटक सांसद पनि बनाइनुभएको थियो । १६ वर्ष कास्की कांग्रेसको सभापति भएर काम गर्दा केन्द्रको आफ्नो अफिसघर नहुँदै पोखरा कांग्रेसको भव्य जिल्ला कार्यालय भवन खडा गरेर अहिले मासिक दुई लाख भाडा उठ्ने पार्टी सञ्चालनलाई कुनै आर्थिक तंगी छैन । १६ वर्षमा कास्की जिल्लाका ३५ गाविस प्रत्येकमा आधाभन्दा बढी त भवन खडा भएर बाँकी सबैमा भवन खडा गर्ने जग्गा हुनु भनेको सानो लगन र कौशल होइन । बीपी, गणेशमान, योगेन्द्रमानका शालिक खडा गर्नु भनेको कांग्रेसको उज्यालोको लागि दियो बालिरहनुजस्तो हो । जब कि सो कार्यकालमा सारा प्राधिकार कांग्रेसीहरु निजी महल खडा गर्न दत्तचित्त भए । (शेरबहादुरलगायत खुमबहादुर, विजय गच्छदार, गोविन्दराज जोशी, रामचन्द्र पौडेल, अर्जुन नरसिंह के.सी. आदि इत्यादि टाइपका कांग्रेस नेताहरुका राजधानीमा पाँचतारे शैलीका महल त खुजुरा कमाइ मात्र हुन्) उहाँ सादगीपूर्ण जीवनमा साधनारत हुनुहुन्छ । माछा, मासु, रक्सी, चुरोट, खैनी केही लिनुहुन्न । ३२ वर्ष नुन खानुभएन । १३ वर्ष काँचो खादा गणेशमानजीले ‘रसायन मलबाट मरौला’ भनेपछि उमालेको खान थाल्नुभयो । तत्कालीन नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला सभापतिको उम्मेदवार भएर शुक्रराजजीसँग भोट माग्न पोखरा पुगेका बखत संयोगले पंक्तिकारसँग पनि जम्का भेट भएको थियो । त्यसबखत मैले शशांकलाई भनेको पनि थिएँ — ‘आज कांग्रेसलाई रुपान्तरण गर्न शुक्रराजजीजस्तो नेतृत्व अपरिहार्य छ ।’
यस्ता शुक्रराजलाई गण्डकी प्रदेशको कांग्रेस प्रमुख पदमा उम्मेदवारी दिँदा शेरबहादुर, शशांक, रामचन्द्र आदि इत्यादि सबै लागेर उहाँका विरुद्ध एउटा भङजाहालाई उठाएर हराउन ठूलो प्रयास भएको थियो । तनहुँमा टिकट दिँदा शुक्रराजजीसँग सोधिएको थियो र पुरुषोत्तम दाहालले हारको जिम्मा उहाँले लिनुपर्छ भनेर कुतर्क गर्ने ? मलाई व्यक्तिगत पुरुषोत्तम दाहालसँग कुनै मतलब होइन । तर पार्टीको केन्द्रीय समितिमा त्यो पनि ‘नीति सिद्धान्त प्रशिक्षण विभागको’ प्राधिकार भएर त्यस्तो नचाहिने दुईपैसे (‘दुईपैसे’को सन्दर्भ मेरा पछिल्ला पुस्तक ‘सहिद क्याप्टेन यज्ञबहादुर थापा’ र ‘अमर सहिद दिवानसिंह राई’मा पनि आएको छ) फटाहा आम कार्यकर्ता पंक्ति र जनमतलाई गुमराहमा पु-याउने परचक्री गोयवल्स (हिटलरको सञ्चारमन्त्री) कुरो गर्ने ? कांग्रेसभित्रका प्रायः सबै प्राडाहरु आफ्नो निम्ति स्वार्थी कलुषित महत्वाकांक्षापूर्तिका लागि (समानुपातिक, राष्ट्रियसभा, राजदूत आदि इत्यादि) यसखालका अनर्गल हर्कतमा भेटिएकै कारण कांग्रेसभित्रको एउटा ठूलो समस्या त यो पनि छ । कांग्रेसभित्र एक जना ठूला विद्वान् हुनुहुन्छ, राजनीति शास्त्रका ठूला पण्डित भनेर सारा मिडियाले उचालेका । शेरबहादुरले प्रचण्डलाई विश्वासको मत दिइरहँदा कान्तिपुरको आफ्नो स्तम्भमा लेखिरहेका भेटिए :— दुनियाँमा प्रतिपक्षविनाको राजतन्त्र पनि छ’ नर्वे, डेनमार्कतिर त्यस्तो चल्छ भन्दैमा प्रचण्ड र देउवा जस्ता दुनियाँले थुकेका दुत्कारेका आम सर्वसाधारण नेपाली जनमतले धारेहात लाएर रातोदिन सरापिरहेका इतिहासको कन्टेनरमा पुगिसकेका पात्रलाई ठूलो पण्डित भएर झन् उकास्ने ? कहाँ गयो बौद्धिकताको धर्म ?
अब आऊँ ‘कांग्रेसबारे प्रा.डा.हरु’ शीर्षकको मुख्य फोकस तनहुँमा कांग्रेस हारेको भए पनि चितवनमा चाहिँ कांग्रेस नभएर कमरेडबाट मिष्टर भएका प्रचण्ड हारेका हुन् ।
दुर्गा प्रसाईं, मनोज सापकोटा आदि इत्यादिहरुले (सामाजिक सञ्जाल) गगन थापाहरुको भड्काउ भाषण (रास्वपा ज्वाइन पूर्वाभ्यास)ले तनहुँमा कांग्रेस हारेको जुन प्रतिक्रियाहरु दिइरहनुभएको छ, त्यो तथ्य होइन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति भएका बुढेसकालको उपचार जोहो र चुनाव खर्च उठाउन भन्ने गोविन्दराज जोशी आदि इत्यादिले धूवाँधार प्रचार गरिएका कारण विचरा एक सहिद पुत्र (कांग्रेस उम्मेदवार) घानमा परेका हुन् । चितवनमा मिष्टर प्रचण्डले छोरी जिताउन मतपत्र च्यात्नेजस्ता प्रजातन्त्रलाई अवगाल बेइज्जती हुने गुण्डागर्दी देखाएका कारण त्यो अवगाल र बेइज्जतीको बदला लिन चितवनवासीले रवि लामिछानेलाई पहिलेभन्दा झन् बढी मतले जिताएका हुन् भन्ने माथि पनि पहिलो जितको प्रसंगमा आइसकेकै छ ।
निष्कर्षमा सामयिक कालखण्डका बहुचर्चित, अन्तर्राष्ट्रियजगत्को नेपाली समाजमा पनि लोकप्रिय एक पाको प्रा.डा. हुनुहुन्छ —डा. सुरेन्द्र के.सी. । उहाँले आफूलाई भावी राष्ट्रपतिको उम्मेदवार (हक पनि पुग्छ) पनि घोषणा गर्नुभएको छ । प्रतिक उदाहरणमा उहाँको प्रतिक्रिया अघि सार्छु । ‘घडी चोर र बाख्रा ठगीका बात लागेकाहरुले कांग्रेस रुपान्तरणको गुड्डी हाँकिरहेका भेटिनु करुणाभाव राख्नुभन्दा के प्रतिक्रिया गर्न सकिन्छ र’ प्रा.डा. के.सी.को कथन हो । अस्तु ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया