Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगजनसंख्याको घट्दो वृद्धिदर

जनसंख्याको घट्दो वृद्धिदर


काठमाडौं । नेपालको राष्ट्रिय जनगणना २०७८ मुलुकको शासन व्यवस्था संघीय संरचनामा प्रवेश भएपछिको प्रथम जनगणना हो । यस जनगणनाको मुख्य गणनाको स्थलगत कार्य भने वि.सं. २०७८ जेठ २५ देखि असार ८ सम्म गर्ने गरी तय गरिएकोमा विश्वव्यापीरुपमा फैलिएको कोरोनाका कारण स्थगित भई करिब पाँच महिनापछि कात्तिक २५ देखि मंसिर ९ सम्म १५ दिनको समयावधिमा सम्पन्न भएको थियो । यसर्थ जनगणनाको मुख्य उद्देश्य जनसंख्याको प्रवृत्ति र विशेषताहरुबारे जानकारी गराउनु हो । यसले आवधिक रुपमा उपलब्ध जनसांख्यिक तथ्यांक तथा सूचनाले देशका लागि आवश्यक योजना, नीति तथा कार्यक्रम बनाउन विशेष सहयोग पु-याउँछ । मूलतः देशमा राजनीतिक परिवर्तन सम्पन्न भई देश आर्थिक विकासमा केन्द्रित भएका बेला ताजा जनसंख्याको महत्वपूर्ण हुन जान्छ । यसको साथसाथै राष्ट्रिय जनगणनाको अन्तिम नतिजाबाट सरकारका तीनै तहका संघ, प्रदेश र स्थानीय तहका सरकारका साथै विभिन्न निजी क्षेत्रलाई विभिन्न नीति तथा कार्यक्रमहरु बनाउन तथा तिनीहरुको अनुगमन र मूल्यांकन गर्न आवश्यक जनसांख्यिक, सामाजिक तथा राजनीतिक कार्यहरुको लागि यसले निकै महत्वपूर्ण टेवा पु-याउँछ । फलतः देशको कुरा गर्ने हो भने गत चैत्र १० गते बाह्रौँ राष्ट्रिय जनगणना २०७८ सम्म आइपुग्दा भौगोलिक क्षेत्रअनुसार कुल जनसंख्याकोे वितरण ०६८ को जनगणनामा तराईमा कुल जनसंख्याको ५०.२७ प्रतिशत हिस्सा रहेकोेमा ०७८ मा वृद्धि भई ५३.६१ प्रतिशत (१,५६,३४,००६ जना), पहाडमा ४०.३१ प्रतिशत (१,१७,५७,६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७,७२,९४८ जना) जनसंख्या रहेको छ । जुन दश वर्षअघि अर्थात् २०६८ मा क्रमशः तराईमा ५०.२७ प्रतिशत (१,३३,१८, ७०५ जना), पहाडमा ४३.०१ प्रतिशत (१,१३,९४,००७ जना) र हिमाली क्षेत्रमा ६.७३ प्रतिशत (१७,८१,७९२ जना रहेको थियो । यसर्थ हिमाली क्षेत्रमा कुल जनसंख्याको ६.७३ प्रतिशत अंश रहेकोमा २०७८ मा केही कम भई ६.०८ प्रतिशत रहेको देखिन्छ । त्यसैगरी पहाडी क्षेत्रमा २०६८ मा ४३.०१ प्रतिशत अंश रहेकोमा हाल(२०७८) ४०.३१ मा झरेको छ । यसरी मुलुकको नयाँ प्रशासनिक संरचना अनुसार हाल राष्ट्रमा जम्माजम्मी सात सय ५३ स्थानीय तहमध्ये २ सय ९३ वटा नगरपालिका र ४ सय ६० वटा गाउँपालिकाहरु रहेका छन् । जसअनुसार २०६८ को जनगणनानुसार नगरपालिकाको जनसंख्या १७ दशमलव ०७ र गाउँपालिकाको जनसंख्या ८२ दशमलव ९३ प्रतिशत रहेको थियो । जब संघीय संरचनापछि स्थानीय तहलाई नगरपालिका र गाउँपालिकामा गरिएको वर्गीकरणको आधारमा २०६८ सालको जनसंख्यालाई समायोजन गर्दा नगरपालिकाहरुमा बस्नेको जनसंख्या ६३ दशमलव १९ प्रतिशत र गाउँपालिकाहरुमा बस्ने जनसंख्या ३६ दशमलव ८१ प्रतिशत रहेको थियो भने हाल २०७८ सालको बाह्रौँ जनगणनामा उक्त प्रतिशत क्रमशः ६६ दशमलव २ र ३३ दशमलव ८ प्रतिशत रहेको अनुमान गरिएको छ ।

मुलुकमा वि.सं. १९६८ सालदेखि जनगणना गर्ने कार्य सुरु भएको थियो । यो जनसंख्या लिने कार्य प्रत्येक दश/दश वर्षको अन्तरमा जनगणना सञ्चालन हुँदै आएको छ । खासगरीकन पहिलो र दोस्रो जनगणनाको मुख्य उद्देश्य मालिक, कमारा कमारी, बाँधाको सूची तयार गर्ने रहेको थियो । यसरी वि.सं. १९९८ सालसम्म सञ्चालन भएका जनगणना सामान्य मुड गन्तीका रुपमा मात्र सीमित थियो भने वि.सं. २००९/०११ सालदेखि सञ्चालन भएका जनगणनाहरु अन्तर्राष्ट्रिय विधि र मापदण्डको प्रयोग गरी जनसंख्याका अन्य विशेषता समेत थपेर सञ्चालन गरिएका कारण आधुनिक तथा वैज्ञानिक जनगणना मानिन्छन् । यसरी नै वि.सं. २०१५ सालमा केन्द्रीय तथ्यांक विभागको स्थापना भएपछिका सबै जनगणना यस विभागले सञ्चालन गर्दै आएको छ । यस क्रममा वि.सं. २०७८ सालको राष्ट्रिय जनगणना नेपालको बाह्रौँ र वि.सं. २०७२ सालमा जारी भएको नेपालको संविधानबमोजिमको संघीय प्रणालीपश्चात्को पहिलो जनगणना पनि हो । देशको राष्ट्रिय जनगणना २०७८ मंसिर ९ गतेलाई आधार मानेर देशको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । जसमध्ये पुरुषको संख्या भने १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् प्रतिशतमा ४८ दशमलव ८७ रहेको अनुमान छ । त्यसरी नै महिलाको संख्या भने १ करोड ४९ लाख ११ हजार २७ अर्थात् प्रतिशतमा ५१ दशमलव १३ रहेको अनुमान गरिएको छ । जसअनुसार लैङ्गिक अनुपातलाई हेर्ने हो भने प्रत्येक १०० जना महिलामा पुरुषको संख्या ९५ दशमलव ५९ रहेको छ । जुन गत २०६८ सालको राष्ट्रिय जनगणनालाई हेर्ने हो भने कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ र लैङ्गिक अनुपात ९४ दशमलव १६ रहेको थियो ।

देशको वार्षिक जनसंख्या वृद्धिदरलाई अवलोकन गर्ने हो भने पनि २०७८ अर्थात् हालसालैको जनगणनाअनुसार जनगणना अवधिको वार्षिक औसत जनसंख्या वृद्धिदर शून्य दशमलव ९२ प्रतिशत मात्र रहेको छ । जुन २०६८ सालको जनगणनाअनुसार १ दशमलव ३५ अर्थात् शून्य दशमलव ४३ प्रतिशतले घट्न गएको देखिन्छ । यसरी सबैभन्दा बढी वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला भक्तपुरमा ३ दशमलव ३५ प्रतिशत छ भने सबैभन्दा कम वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला रामेछापमा भने माइनस १ दशमलव ६७ प्रतिशत रहेको छ । गत चैत्र १० गते सार्वजनिक गरेको जनगणनाको नतिजाअनुसार जनघनत्व प्रतिवर्गकिलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या १ सय ९८ जना रहेको छ । जुन २०६८ सालमो जनगणनामा हेर्ने हो भने १ सय ८० प्रतिवर्ग किलोमिटर रहेको थियो । त्यस्तै भौगोलिक क्षेत्रअनुसार हेर्ने हो भने सबैभन्दा बढी तराई क्षेत्रमा ४ सय ६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ । त्यसरी नै सबैभन्दा धेरै जनघनत्व काठमाडौं जिल्लामा ५ हजार १ सय ६९ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम मनाङ जिल्लामा ३ जना प्रतिवर्ग किलोमिटर रहेको छ ।

समग्रमा भन्नुपर्दा हाम्रो देशको सन्दर्भमा भन्ने हो भने वार्षिक वृद्धिदर घट्दो क्रममा रहेको विभिन्न समयका जनगणनाहरुको तथ्यांकले देखाएको छ । यसरी बृहत् उमेर समूहअनुसार जनसंख्यालाई हेर्ने हो भने जनगणनाअनुसार कुल जनसंख्याको ६१ दशमलव ९६ प्रतिशत १५ देखि ५९ वर्ष उमेरका रहेका छन् । गत २०६८ सालमा यो उमेर समूहका जनसंख्या ५६ दशमलव ९६ प्रतिशत मात्र रहेको थियो । हाल १४ वर्ष वा सोभन्दा कम उमेरका र ६० वर्ष वा सोभन्दा माथिल्लो उमेरका जनसंख्या क्रमशः २७ दशमलव ८३ प्रतिशत र १० दशमलव २१ प्रतिशत रहेको छ । जब कि पछिल्लो जनगणना अर्थात् वि.सं. २०७८ ले देशको जनसङ्ख्या वृद्धिदर शून्य दशमलव ९२ प्रतिशत रहेको देखिएको छ जसलाई प्रतिशतको आधार भन्ने हो भने ३१ दशमलव ११ प्रतिशत अर्थात् शून्य दशमलव ४२ विन्दु घटेको हो । यसअघि अर्थात् वि.सं. २०६८ को जनगणनाअनुसार जनसङ्ख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको थियो । त्यसरी नै वि.सं. २०५८ को जनगणनाअनुसार अवलोकन गर्ने हो भने पनि जनसङ्ख्या वृद्धिदर २ दशमलव २५ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया