Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअन्नपूर्ण केबलकारको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

अन्नपूर्ण केबलकारको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल


काठमाडौं । दुई वर्षदेखि कास्कीको पोखरामा सञ्चालनमा रहेको अन्नपूर्ण केबलकारले साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । केबलकारले आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकको रुपमा काम गर्न मुक्तिनाथ क्यापिटलसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा केबलकार सञ्चालक समितिका अध्यक्ष कालु गुरुङ र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

२०७८ फागुन छ गतेदेखि सञ्चालनमा आएको अन्नपूर्ण केबलकार कम्पनीको जारी पुँजी एक अर्ब ५५ करोड छ । जसको २० प्रतिशतले हुने ३१ करोड रुपैयाँबराबरको ३१ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँका दरले आईपीओ निष्काशन गर्नेछ ।

आईपीओ निष्काशनपछि कम्पनीले थप परियोजनामा समेत लगानी गर्ने योजना बनाएको अध्यक्ष गुरुङले जनाएका छन् ।

पोखरा महानगरपालिका–१८ सेतीबगरस्थित अन्नपूर्ण केबलकारको बटम स्टेसन निर्माण गरिएको छ । जसको निर्माण लागत एक अर्ब ९७ करोड रुपैयाँ लागेको कम्पनीले जनाएको छ । जसमा कम्पनीका संस्थापकले सुरुमा इक्विटीमा ९० करोड लगानी गरेका थिए । केबलकार निर्माणको लागि कम्पनीले बैंकसँग एक अर्ब सात करोड रुपैयाँ ऋण लिएको छ ।

केबलकारको माथिल्लो स्टेसन सराङकोटमा पञ्चमुखे गणेशको मूर्ति निर्माण भइरहेको गुरुङले जनाएको छ । ४८ फिट अग्लो र ४४ फिट चौडाइ रकेको मूर्ति विश्वकै ठूलोमध्येको एक रहेको दाबी कम्पनीको छ । यसबाहेक भ्यू टावर, मूर्तिसहित अन्य संरचना आगामी छ महिनाभित्र निर्माणसम्पन्न गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।

केबलकार चढेर सराङकोटबाट सूर्योदय, सूर्यास्त, हिम शृंखलासहित फेवातालको अवलोकन गर्न सकिनेछ । हिमालको सबैभन्दा नजिक रहेको केबलकार नेपालकै पहिलो हो । केबलकारको निर्माण जापानी निप्पोन केबलकारको प्रविधि प्रयोग गरी गरिएको छ ।

२०७८ फागुनदेखि सञ्चालनमा आएको केबलकारमा क्याबिनसहित १८ वटा गोन्डोला छ । केबलकारको सुरुको स्टेसनदेखि अन्तिमसम्म १३ वटा टावर छ । एउटा गोन्डोलामा आठ जनाले यात्रा गर्न मिल्छ । एक घण्टामा पाँच सय यात्रुले यात्रा गर्न सकिने कम्पनीले जनाएको छ । अन्नपूर्ण केबलकार नेपालमा सञ्चालित केबलकारमध्ये हिमशृंखलाको सबैभन्दा नजिक र विदेशी लगानी भएको एकमात्रै केबलकार हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया