Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपालको चिया र अन्तर्राष्ट्रिय व्यापार

नेपालको चिया र अन्तर्राष्ट्रिय व्यापार


काठमाडौं । नेपालमा चिया उत्पादनको लामो इतिहास छ । पहिलो चिया बगान, इलाम चिया बगान, १८६३ मा इलाम जिल्लाको पहाडी क्षेत्रमा सुरु भएको थियो । इतिहासकारहरूका अनुसार नेपालमा पहिलो चियाको बोट बीउबाट हुर्किएको हो जुन चिनियाँ सम्राटले तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणालाई उपहारस्वरूप दिएका थिए । भारतको दार्जिलिङ पहाडमा जस्तै नेपालमा पनि चियाको खेती सुरु भएको मानिन्छ ।

हालै भारतले नेपाली चियामा ४० प्रतिशत कर लगाउने तयारी गरेपछि सरोकारवाला चिया व्यवसायी चिन्तित देखिएका छन् । यसै सन्दर्भमा व्यवसायीहरू भने ४० नभएर ५ प्रतिशत मात्र कर लगाए पनि नेपाली चिया उद्योग धराशायी हुने बताउँछन् । स्मरण रहोस् हालसम्म विनाकर निकासी भइरहेको देखिन्छ ।

यस सन्दर्भमा नेपालले भारतबाट आयातित चियामा ४० प्रतिशत कर पु-याएपछि भारतले पनि नेपाली उत्पादनमा समेत सोहीअनुसार व्यवहार गर्न खोजेको हो कि भन्ने आभाष छ । पहिला ३० प्रतिशत कर हुँदा भारतीय पक्षले त्यसबारे आवाज उठाएको थिएन । सरकारले १० प्रतिशत कर बढाएसँगै भारतीय पक्षले पनि नेपाली चियामा ४० प्रतिशत कर लगाउन खोजिरहेको छ ।

‘टी बोर्ड अफ इन्डिया’ले नेपालको चिया चीनलगायत तेस्रो मुलुकबाट आयातित गुणस्तरहीनको संज्ञा दिँदै आएको छ । भारत निकासी हुने चिया नेपाली उत्पादन हो भन्नेमा कुनै शंका छैन । यो कुरा भारत सरकारसमक्ष पु¥याउन नेपाल सरकारले तत्काल ठोस, प्रभावकारी कदमकुट नैतिक, व्यावसायिक र प्रधानमन्त्रीस्तरबाट र सचिव र आईजीसीमार्फतबाट समेत चाल्नु आवश्यक र अनिवार्य भएको छ ।

सन् १९६५ मा झापा जिल्लाको समतल इलाकामा दोस्रो चिया बगान सोक्तिम चिया बगान स्थापना भएको थियो । नेपालमा समुद्री सतहबाट आठ सयदेखि २२ सय मिटरसम्मको उचाइमा चिया खेती गरिन्छ । यसअघि पूर्वी नेपालको इलाम र झापाजस्ता केही जिल्लामा उत्पादन केन्द्रित थियो । पछिल्लो समय देशका अन्य भागमा पनि चिया बगान फस्टाउँदै गएको छ । हाल चियाको क्षेत्रफल २८ हजार सात सय हेक्टर रहेको छ । नेपालले पहाडमा वार्षिक करिब सात हजार एक सय ६८ टन अर्थोडक्स चिया उत्पादन गर्छ । यसले तराईको तराईमा बलियो र चम्किलो उपस्थितिका लागि परिचित १५ हजार छ सय ५४ टन सीटीसी चिया पनि उत्पादन गर्छ ।

पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०७८/७९ मा एक करोड १७ लाख किलो चिया निकासी भएको देखिन्छ । जसबाट तीन अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भएको देखिन्छ । चालू आर्थिक वर्ष २०७९/८० को फागुनसम्म एक करोड २६ लाख किलो निर्यात भएको छ । जसबाट दुई अर्ब ५२ करोड रुपैयाँ राजस्व उठेको मेची भन्सारले जनाएको छ ।

चिया नेपाल र भारतमा दैनिकरूपमा प्रयोगमा आउने वस्तु हुन् । तर यो नरम पात एउटा मुद्दाको रूपमा देखा परेको छ जसलाई दुई देशहरूबीच कूटनीतिक समाधान आवश्यक एवं अनिवार्य भएको छ, दुवै मुलुक विश्वमा सबैभन्दा बढी खपत हुने वस्तुहरू उत्पादन गर्नका लागि परिचित छन् ।

नेपाल–भारतबीचको वाणिज्य सन्धिविपरीत भारतीय पक्षले नेपाली चियामा परिमाणात्मक बन्देज वा भन्सारदरमा वृद्धि गर्ने तयारी गरेपछि नेपालको समग्र चिया उद्योग यतिबेला आतंकित बनेको छ ।

छिमेकी मुलुक भारतले आफ्नै उद्योग जोगाउन नेपाली चिया आयातमा अवरोध बढाउने चिन्तामा नेपाली चिया उत्पादकले नेपालका प्रधानमन्त्रीलाई भेटेर यस्तो कदमको सम्भावित गम्भीर परिणामबारे जानकारी गराउनु जरुरी छ किनकि उनी छिट्टै भारत जाने कुरा छ ।

विगतमा समेत भारत नेपाली चियाको सबैभन्दा ठूलो खरिदकर्ता हो र भारतीय संसदीय प्यानलले माग गरेअनुसार उत्पत्ति प्रमाणपत्रको लागि थप कडा आवश्यकताहरू घरेलु उत्पादकहरूका लागि विनाशकारी हुने कुरामा कुनै शंका छैन ।

भारतले चिया निर्यातमा थप कर लगाएमा नेपाल आफ्नो चिया क्षेत्रको अस्तित्वको चिन्तामा छ । भारतको वाणिज्यसम्बन्धी संसदीय स्थायी समितिले जुनमा नेपालबाट भारत निर्यात हुने चियाको प्रमाणीकरणका लागि भन्सारका अतिरिक्त कडा मापदण्डहरू लागू गर्न सरकारलाई सिफारिस गरेको कुरा सार्बजनिक भएका छन् जसको समाधान कूटनीतिक माध्यमबाट हुनु आवश्यक र अनिवार्य छ । भारतीय चिया उद्योगलाई जोखिममा पारेको भन्दै ४० प्रतिशतसम्म थप शुल्क लगाउन लागिएको छ । त्यसर्थ नेपालको पाँच अर्ब रुपैयाँको चिया उद्योग कठिन समयबाट गुज्रिरहेको कटुसत्य हाम्रोसामु छ ।

नेपाली चिया उत्पादकहरूले निर्यातमा प्रतिबन्ध लगाउने कुनै पनि कदमले उद्योगलाई नराम्ररी असर गर्ने देखिन्छ । नेपालले आफ्नो करिब ९० प्रतिशत अर्थोडक्स चिया र ५० प्रतिशत क्रस, टियर एन्ड कर्ल (सीटीसी) चिया दक्षिणी छिमेकी मुलुकमा पठाउने गरेको छ ।

इतिहासको सरसरी समीक्षा गर्दा, वर्षौँअघि दार्जिलिङ चिया संघले तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई दार्जिलिङ भ्रमण गर्दा ज्ञापनपत्र बुझाएर नेपाली चिया आयात रोक्न आग्रह गरेको थियो । नेपाली चियाको आयात रोक्न दार्जिलिङबाट पटक–पटक प्रयास भइसकेको छ । नेपालको चिया गुणस्तरहीन भएको र मूल्य पनि कम भएकाले भारतको चिया उत्पादनमा असर परेको भारतीय उत्पादकहरूले आरोप लगाएका छन् । नेपालमा उत्पादन हुने सस्तो चिया भारतमा निकासी गर्न नपाउने भएकाले भारतका चिया उत्पादकहरूलाई चुनौती दिने विगतमा पनि उल्लेख हुनेगरेको थियो । भारतले नयाँ नीति लागू गरे हजारौँ किसानलाई असर पर्न सक्छ । चियामा थप भन्सार लगाउने नेपाली चिया महँगो हुने भएकाले यस निर्णयले सयौँ कारखाना ध्वस्त हुने सम्भावना छ ।

नेपालले पहाडमा वार्षिक करिब सात हजार एक सय ६८ टन अर्थोडक्स चिया उत्पादन गर्छ । यसले तराईमा बलियो र चम्किलो उपस्थितिका लागि परिचित १५ हजार छ सय ५४ टन सीटीसी चिया पनि उत्पादन गर्छ ।

नेपालका चिया उद्यमी तथा सरोकारवालाहरू त्रस्त बन्नलाई यसबेलाको समयले पनि काम गरेको छ । नेपाल–भारत वाणिज्य सन्धिको आवधिक पुनरावलोकन हुने बेलामै भारतले यस्तो तयारी गर्दा समेत चिन्ता र चासो बढेको हो ।

नेपाल भारतबीच सम्पन्न द्विपक्षीय व्यापार सन्धिअनुसार नेपालबाट भारत निर्यात हुने कृषिवस्तुमा कर नलिने उल्लेख छ । यति मात्रै होइन, नेपालबाट आयात गरिने कृषि उत्पादनमा भारतले परिमाणात्मक बन्देज नलगाउने बुँदा पनि प्रस्टरूपमा उल्लेख छ ।
हालसम्म कुनै पनि करको दायरामा नपरी भारत निर्यात भइरहेको नेपालको चियामा कर लगाउने अनि गुणस्तरका नाममा परिमाणात्मक बन्देज लगाइने हल्लाले नेपाली चियाले अन्तर्राष्ट्रिय बजार गुमाउने खतरा बढेको भन्दै सरोकारवाला यतिबेला तीव्र बहस÷पैरवीमा लागेका हुन् ।

भारतीय पक्ष नेपाली चियाप्रति यसरी अनुदार हुनुमा दार्जिलिङको दबाबले काम गरेको हो कि भन्ने अनुभूति भएको छ । नेपाली चियाका कारण आफूहरू मारमा परेको भन्दै दार्जिलिङका चिया उत्पादकले नेपालको चिया आयात रोक्न माग गर्दै आएको लामो समय भइसकेको छ ।

अर्कोतर्फ नेपाली चियालाई गुणस्तरहीन भन्दै रोक्न माग गर्ने दार्जिलिङका व्यवसायीहरूले नेपालकै चियालाई आफ्नो ट्रेडमार्क प्रयोग गरेर विश्वबजारमा पठाइरहेको आरोप नेपाली पक्षको छ । यसका बाबजुद अहिले भारतमा जे तयारी भएको छ त्यसले नेपाली चिया उद्योग संकटग्रस्त बन्ने जानकारहरू बताउँछन् । प्रमुख अन्तर्राष्ट्रिय बजार राष्ट्रले आयात महँगो गर्ने तयारी गर्नु चिन्ताको विषय हो । नेपालका प्रधानमन्त्रीले तत्कालै भारतीय पक्षसँग कुरा गर्नु जरुरी छ ।

झापा र इलाम चिया उत्पादनका लागि कहलिएका क्षेत्र हुन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पछिल्लो तथ्यांकअनुसार नेपालका २८ जिल्लाका १६ हजार नौ सय २० हेक्टर क्षेत्रफलमा चियाउत्पादन भइरहेको छ ।

बोर्डका अनुसार सन् २०२०–०२१ मा नेपालमा एक करोड ५६ लाख ४१ हजार केजी सीटीसी चिया उत्पादन भएको थियो । अर्थोडक्स चिया ७१ लाख ६८ हजार दुई सय ५५ केजी उत्पादन हुँदा ग्रीन टी सात लाख ७२ हजार चार सय ५५ केजी उत्पादन भएको थियो । अन्य चिया एक लाख ५१ हजार ९१ केजी उत्पादन हुँदा कुल दुई करोड ३७ लाख ४५ हजार नौ सय एक केजी चिया उत्पादन भएको थियो । यो सबै चियाको ९० प्रतिशतभन्दा ठूलो हिस्साको बजार भारत नै हो ।

नेपालको १३ प्रतिशत व्यापारघाटा पूर्ति गर्ने र वैदेशिक मुद्रा आर्जन गर्ने प्रमुख कृषि उत्पादन चिया नै भएको जनाउँदै सम्बन्धित व्यवसयीले भारतीय पक्षसँग कूटनीतिक पहलमार्फत सहजीकरण गर्न सरकारसँग माग गरेको छ । नेपालको चियालाई खराब गुणस्तर भन्ने भारतीय चिया व्यवसायीले नेपाली हरियो चियापत्ति निकासीमार्फत प्रशोधन गरी दार्जिलिङकै नामबाट बिक्री गर्दै आएको कुरा समेत सार्वजनिक भएका छन् ।

भारतले प्रतिबन्ध लगाउने हो भने त्यो अन्तर्राष्ट्रिय व्यापार कानुनको उल्लंघन हुने कुरा पूर्व वाणिज्यसम्बन्धी अधिकारी र व्यापार विज्ञको मत रहेको छ । दार्जिलिङको चियाभन्दा इलामको अर्थोडक्स चिया स्वादिलो हुने नेपाली व्यापारीहरूको दाबी छ । दार्जिलिङ र इलामको प्राकृतिक विशेषता र मौसम लगभग उस्तै छ । त्यसैले इलामको चिया दार्जिलिङको चिया जत्तिकै राम्रो रहेको व्यवसायीले बताए । नेपाली चियाको गुणस्तरलाई लिएर भारतीय पक्षले बारम्बार गरेको झन्झटले किसानलाई चिया उत्पादन गर्न निरुत्साहित गरेको नेपाली चिया उत्पादक बताउँछन् । घरेलु उद्योगलाई जोगाउन कुनै पनि उत्पादनको आयातमा रोक लगाउनु अन्तर्राष्ट्रिय व्यापार प्रथाविपरीत हो ।

चीनमा नेपाली चियाको बजार सम्भावना प्रचुर भए पनि निकासीमा सहजीकरणका लागि सरकारले पहल गर्नुपर्नेछ । चीनमा चिया निर्यात गर्न सहज नहुने देखिन्छ ।

समग्रमा चियासम्बन्धी यो सम्भावित समस्याको भारतीय पक्षबाट नेपालको समग्र अर्थतन्त्रमा चियाले पु-याएको योगदान र छिमेकीको दृष्टिबाट र प्रचलित वाणिज्यसम्बन्ीध कानुन समेतलाई मध्यनजर गरी तदनुरूप नेपाली चिया उद्यमी र व्यवसायीको समेत हितमा निर्णय हुनेमा नेपाल विश्वस्त छ भन्नुमा अत्युक्ति नहोला ।

विडम्बनाकै कुरा हो, अहिलेसम्म नेपाल सरकारले मुलुकमा एउटा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशाला स्थापना गर्न सकेको छैन । नेपालमा प्रयोगशाला नहुँदा यहाँका चिया उद्योगी तथा व्यवसायी भारतको भर पर्नुपरेको कटु वास्तविकता छ । भारतले नेपालको चियालाई ‘सेन्ट्रल फुड ल्याब’ (सीएफएल) कोलकातामा परीक्षण गराएर मात्रै निकासीको अनुमति दिँदै आएको छ ।

नेपाली चियाको ब्रान्डिङ र बजारीकरणमा नेपाल लाग्नुपर्छ । नेपाली अर्थोडक्स चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सर्वोत्कृष्ट घोषित भइसकेकोले अब भारतबाहेक अन्य देशमा बजार विस्तार गर्न लाग्नुपर्ने वास्तविक चुनौती रहेको छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया