Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा रिलायन्स र कृषि सहकारीबीच सम्झौता

सानिमा रिलायन्स र कृषि सहकारीबीच सम्झौता


काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र नेपाल कृषि सहकारी केन्द्रीय संघबीच बीमासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार नेपाल कृषि सहकारीका देशभर रहेका सदस्यताप्राप्त कृषि तथा साना किसान कृषि सहकारी संस्थाहरुका विपन्न तथा साना किसान सदस्यहरुलाई म्यादी जीवन बीमा सेवा प्रदान गरिने छ । म्यादी बीमा एकप्रकारको लागत प्रभावी जीवन बीमा योजना हो । यस योजनाअन्तर्गत बीमितको मृत्यु भएमा बीमांक रकम प्रदान गरिनेछ ।

संघले आफ्नो स्थापनाकालदेखि नै ग्रामीण गरिबी न्यूनीकरण र समावेशीकरणका लागि सदस्यहरुको क्षमता वृद्धि गरी सामाजिक पुँजीको विकास गर्न उत्पे्ररणा गर्ने नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ । संघले सदस्य संस्थाहरुलाई कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न, व्यावसायिक योजना तथा रणनीतिक योजना बनाउन सहयोग पुयाई गैरवित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । हाल यस संघबाट नेपालको ७७ जिल्लामा १२ सयभन्दा बढी संस्थाहरुमा वार्षिक १२ लाख साना किसान परिवारहरूले सेवा लिइरहेका छन् ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लि, साबिक रिलायन्स लाइफ इन्स्योरेन्स लि र साबिक सानिमा लाइफ इन्स्योरेन्स लि एक–आपसमा गाभिएर, प्रचलित नियम तथा कानुनबमोजिम सम्बन्धित नियमनकारी निकायबाट बीमा व्यवसाय सञ्चालन गर्न अनुमति प्राप्त गरी बीमा व्यवसाय प्रदान गर्दै आइरहेको संस्था हो ।

साबिकको सानिमा लाइफ र रिलायन्स लाइफ मर्ज भई बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले विगत पाँच वर्षदेखि बीमा सेवा प्रदान गर्दै आइरहेको छ । इन्स्योरेन्सले देशभर एक सय ७५ शाखा सञ्जालमार्फत १० लाखभन्दा बढी ग्राहकलाई बीमा सुविधा दिइरहेको छ । यस योजनामार्फत देशभर छरिएर रहेका विपन्न तथा साना किसान सदस्यहरुलाई बीमाको परिधिभित्र समावेश गर्न सफल हुने विश्वास गरिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया