Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशसोलुखुम्बुको बरुन्त्से हिमालबाट फोहोर संकलन

सोलुखुम्बुको बरुन्त्से हिमालबाट फोहोर संकलन


सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ मा अवस्थित बरुन्त्से हिमालबाट १८ हजार किलोग्रामभन्दा बढी फोहोर संकलन गरिएको छ । ‘सफा हिमाल २०२३’ अभियानअन्तर्गत नेपाली सेनाको नेतृत्वमा गएको हिमाल सफाइ टोलीले १८ हजार पाँच सय ६० किलो फोहोर संकलन गरेको हो ।

बरुन्त्से हिमालको दोस्रो क्याम्पसम्म पुगेर संकलन गरिएको फोहोरमा डोरी, टिनको क्यान, पाल, फलामका टुक्रा, इपिग्यासका खोल, प्लाष्टिक, टेन्ट, कपडा, रबर, कागज, बोतललगायतका रहेका छन् । १५ हजार पाँच सय १० किलो नकुहिने र तीन हजार ५० किलो कुहिने उक्त फोहोर हेलिकोप्टरमार्फत महाकुलुङको पेल्माई ल्याएको नेपाली सेनाका मेजर समिर बहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार कुहिने फोहोर महाकुलुङ गाउँपालिका २ पेल्माङमा नष्ट गरिएको छ भने नकुहिने फोहोर गाडीमार्फत काठमाडौं लगिनेछ ।

नकुहिने फोहोरहरुलाई काठमाडौंस्थित रिसाइकलन कम्पनीमा जिम्मा लगाइने उनले बताए । १० हजार किलो फोहोर संकलन गर्ने लक्ष्यका साथ गत चैत्र २३ गते निस्किएका नेपाली सेनाको टोलीले लक्ष्यभन्दा बढी फोहोर संकलन गरेको छ । यद्यपि निरन्तरको हिमपात र हावाका कारण क्याम्प दुईभन्दा माथि जान नसकिएको मेजर बस्नेतले बताए ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया