Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगधरापमा कांग्रेसका आठ लाख ‘कमारा—कमारी’

धरापमा कांग्रेसका आठ लाख ‘कमारा—कमारी’


काठमाडौं । ८ लाख ‘कमारा—कमारी’ भनेर मैले तिनीहरू (आफैंलाई पनि)लाई भनेको हुँ, जो नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा (आरजु राणा)का प्रवक्ता डा.प्रकाशशरण महत, बालकृष्ण खाँण, मोहम्मद अफ्ताब आलम (हाल मानिसहरूलाई जिउँदै इँटा भट्टीमा पोलेको कसुरमा जेलमा छन्) आदि इत्यादिले अनलाइनखबरहरूका अनुसार यतिखेर देशभरि नेपाली कांग्रेसका आठ लाख ‘सक्रिय सदस्य’हरू छन् । जसले महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य र केन्द्रीय अध्यक्ष निर्वाचित गर्छन् । महामन्त्री कोषाध्यक्ष आदि इत्यादिहरू पनि निर्वाचित गर्छन् । हो, तिनै देशभरि छरिएर रहेका कांग्रेसका ‘सक्रिय सदस्य’हरू (मलाई आशंका छ ती आठलाख सदस्यहरूको नामावलीमा मेरो नाम पनि अवस्य हुनुपर्छ, हेरेको छैन) लाई मेरो ‘कमारा—कमारी’ सम्बोधन हो ।

त्यो कसरी भने शेरबहादुर, रामचन्द्र, सुजाता कोइराला, शेखर—शशांक, गगन—विश्वप्रकाश आदिको हकमा त ‘भैँसीलाई पुराण सुनाउनु जस्तो’ मात्र हुने यो वर्णनको कुनै अर्थ छैन । तर, भावीपुस्ताका कविलाई चेतना या दास मानसिकताबाट माथि उठेको दिनका लागि अनिवार्य पाठ्यक्रम हुने भएकाले यसखालको जाँगर पलाएको हो । होइन भने यो पाँच दशकको सक्रिय राजनीतिक जीवन बिताएर दर्जनौँ पुस्तकका लेखक, वरिष्ठ पत्रकार, अथक राजनीतिक योद्धा (अझ प्रदीप, गिरीजीबाट त जिउँदो शहीद सम्बोधन) ७० वर्ष नाघेको आफ्नै इतिहासको बोझले थिचिएर उन्मुक्त स्वान्त सुखाय आत्मशुद्धि अध्यायमा रमाइरहेको बखत हाँसीरहेको, नाचिरहेको जिन्दगी बाँचिरहेको यसखालका नर्क साहित्य वर्णनमा समय खेरफाल्न जाँगर गर्नु कुनै आवश्यक थिएन ।

अब आऔं ‘कांग्रेस आठ लाख कमारा—कमारी’ सन्दर्भको तथ्य अभिलेखतर्फ । नेपालमा माओवादी १० वर्षे हिंसात्मक कथित जनयुद्ध (रगतपिच्छे दुर्भाग्य) कालखण्डमा १७ हजार नेपाल आमाका सपूतहरू मरिँदा –हत्या हुँदा ‘कांग्रेसलाई खोजीखोजी, एमालेलाई रोजीरोजी’ भन्ने माओबादी कमान्डर प्रचण्ड (पहिले कमरेड अहिले मिस्टर)को उर्दी रहेको पाठ्यक्रम ग्रासरुट (अनकन्टार गाउँहरू)सम्म पुगिसकेकै छ । त्यसबखत प्रधानमन्त्री रहेका शेरबहादुर देउवाले ‘प्रचण्डको टाउको झोलामा लिएर आऊ र त्यही झोलामा पैसा लिएर जाऊ’ भन्ने सरकारी उर्दी भएबाटै इदी अमिन कालखण्डको इथियोपिया चेतनामा नेपाल रहेको अमेरिका युरोपियन युनियन या भनौं पश्चिमा जगतले छर्लङ्ग प्रमाण (तथ्य) फेला पारेका थिए । गिनिज बुकमा रेकर्ड भएअनुसार इदी अमिन के गथ्र्यो’रे भने आफ्नो मुख्य दुस्मनलाई मारेर आफ्नो गिरोहको खास राजदारहरूको रात्रिभोजको आयोजना गरेर मारिएको मुटु कलेजो भुटेर स्न्याक्स (रक्सी पिउँदाको सितन) खान्थ्यो अरे । शेरबहादुरको त्यो उर्दी आज भएको भए इदी अमिनलाई पनि वाक्वाकी हुन्थ्यो होला । ल भइहाल्यो । ‘कमारा—कमारी’ले मालिक बदल्न नपाउने हुँदा (दास मानसिकता) त्यो तथ्य आठ लाख सक्रिय सदस्यहरूले आयो–गयो–भयो भन्ने ठानेर बिर्सिसकेका थिए ।

अब हेर्नुहोस् है ! यो देउवाले प्रचण्डको टाउकोको मूल्य तोकेको पनि एक दशक पार भएको थिएन र मुलुक ओरालो लागेको अवस्थामा एउटा सिन्को भाँचेजति पनि केही काम (दुई–दुर्ई वटा संविधान सभा चुनावको नौटङ्की नेपाली जनताको रगत र पसिना (रेमिट्यान्स) बाट आर्जित खर्बौँ रकममा लुट मच्चाउनेबाहेक) भएको थिएन । भरतपुर नगरपालिकाको चुनावमा उनै प्रचण्डकी छोरी रेणु दाहाललाई चुनाव जिताउन नेपाली कांग्रेसको सभापति (वरिष्ठ नेता)को हैसियतले चुनावी आमसभामा उभिएर दुनियाँले देख्नेगरी माओवादीको चुनाव चिह्न ‘हँसिया हथौडा’मा भोट माग्नु (रुख चिह्नलाई भोट नदिनु भन्नु) दुनियाँको दलीय व्यवस्थामा काहीँ पनि हुन न मिल्ने असम्भव थियो । वी.पी., गणेशमान, सुवर्ण, कृष्णप्रसाद भट्टराई जस्ता सिद्धान्त (विचारधारा)निष्ठ इतिहास पुरुषहरूको लिगेसी बोकेको पार्टीको सभापति भएर देउवाले ‘रुख’ चुनाव चिह्नलाई लत्याएर ‘हँसिया हथौडा’मा भोट मागेको वैचारिक आधारलाई मटियामेट तुल्याइसकेपछि पनि फेरि तिनै देउवालाई अर्कोपटक पनि फेरि पाँच वर्षका लागि सभापति (अध्यक्ष)मा निर्वाचित गर्नु भनेको त्यो भोट ‘कमारा—कमारी’ (दास मानसिकता कविलाई चेतना)बाहेक अरूले दिने आजको विश्वजागरणमा कल्पना हुन पनि असम्भव छ ।

कांग्रेस इतिहासको पछिल्लो यो तथ्यबाट ‘आठ लाख कमारा—कमारी’लाई यसखालको लेखनबाट पाठ्यक्रम ठानियो भने ‘ भैँसीलाई पुराण’ सुनाए जस्तै हुन्छ भनेर माथि नै पनि भनिसकेकै छु । अर्को तथ्य यो कुरो कांग्रेसका आठ लाख ‘कमारा—कमारी’को मात्र नभएर एमाले माओवादी आदि इत्यादि दलहरूका कतिकति लाख सक्रिय सदस्यहरू छन्, तिनीहरूको अवस्था पनि ठीक यस्तै हो । तसर्थ, मेरो यसखालको लेखनको उपादेयता दलीय दलहरूको उल्लिखित भाषामा छट्पटाइरहेका र निरर्थक पौँठेजोरीमा आफूलाई खुम्च्याइरहेका ज्ञानेन्द्र शाही, रवि लामिछाने, अमरेशकुमार सिंह आदि इत्यादि नयाँ उदाइरहेका जागरणलाई हो भन्छु । आशा त फेरि जहिलेसुकै पनि अजरअमर नै रहन्छ । निरासाले जहिलेसुकै पनि खुम्च्याउने र सिध्याउने नै हो । आजका मितिमा सबै दलहरू र तिनका नेताहरू (गिरिजा, देउवा, ओली, प्रचण्ड, माधव, झलनाथ, बाबुराम, कमल थापा, शशांक, शेखर, सुजाता, गगन, विश्वप्रकाश, ईश्वर पोखरेल आदि इत्यादिहरू) इतिहासका कन्टेनरका सामग्री भइसकेका अकाट्य तथ्य हो । कन्टेनरको पछिल्लो उदाहरण पाँचपटक प्रधानमन्त्री भइसकेका हाम्रो ठाउँमा बस्न आइपुगे भनेर बुढानीलकण्ठवासीले ‘देउवाचोक’ नाम दिएका एमसीसी पास गरेर देउवा घर पुग्न नपाउँदै स्थानीयवासीले ‘देश बेचुवा’ भन्दै रातोरात ‘देउवाचोक’ नामका साइनबोर्डहरू सडकमा फालेर पुरानै नाम कायम गरे । सुजाता कोइरालाले गिरिजाप्रसाद कोइरालाको सालिक खडा गर्न खोज्दा स्थानीयवासीले ‘यो भ्रष्टाचारको दलदलमा मुलुकलाई टुप्पीसम्म डुबाएर अर्थतन्त्रलाई पूरै टाट पल्टाउनेको केको सालिक ? बेइजती ! भन्दै इँटा, छड, सिमेन्ट, बालुवा सबै फालिदिएको समाचार तत्कालीन समयमा समाचार आएको थियो । वी.पीले कांग्रेसको भविष्यबारे आकलन गर्नुभएको ‘चीनको कोविन्ताङ पार्टी इतिहासको कन्टेनरमा थन्किएको अहिले कसैलाई चासो नभएको जस्तै अवस्था कांग्रेसको हुनेछ’ यस्तै उदाहरणलाई हो । वी.पी.को कांग्रेसको वर्तमान नेतृत्वप्रतिको भविष्यदृष्टि अक्षरशः कमा र फुलिस्टपसहित चरितार्थ भएको अहिलेको अवस्था हो । धरापमा (झेलजाल) परेका कांग्रेसका ‘आठ लाख कमारा—कमारी’ (परिभाषा माथि आइसकेको छ—चिनारी) लाई त्यस पार्टीका घडीचोर र बाख्रा ठगीका बात लागेकाहरूले उद्धार गर्ने भन्नुले दयाभाव जाग्नुभन्दा अरू के गर्न सकिन्छ र ? यो कुरा प्रख्यात प्रोफेसर डा. सुरेन्द्र के.सी.ले सामाजिक सञ्जाल, अनलाइन र युट्युबमार्फत भाइरल गरिसक्नु भएकाले त्यतातिरको वर्णन गर्न चाहन्नँ ।

सतहमा आएका दुईवटा कुरा के साँच्चै नै बालकृष्ण खाँण (निवर्तमान गृहमन्त्री, देउवा कांग्रेसको ठूलो नेता)लाई प्रचण्ड र नारायणकाजीको एक्लो बलले मात्र गिरफ्तार गर्न सकेका हुन् र ? नेपाली कांग्रेस र एमालेले टोपबहादुर रायमाझी (पूर्व उपप्रधानमन्त्री, निर्वाचित रनिङ सांसद र एमाले पार्टी केन्द्रीय सचिव (पोलिटव्युरो) लाई कारबाही गरेको जस्तो बालकृष्ण खाँणलाई किन कारबाही गर्न नसकेको ?

मलाई लाग्छ नानीमैया दाहालको इतिहास (अझै जीवित)बाट प्रेरित भएर ०४७ को संविधान बोकेर सडक तताइरहेका दुर्गा प्रसाईं, देवेन्द्रलाल नेपाली, रमा सिंह, (एक दृष्टिले ज्ञानेन्द्र शाहसमेत) आदि इत्यादि हुलबीच यी दुई प्रश्न साँच्चै नै सरोकारको विषय भएको छ— यतिखेर ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिकालाई (पश्चिमा मुलुकमा) बेच्ने जघन्य अपराधीलाई कानुन अनुसारको सजाय दिलाउन प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी कति तागतका छन् ? भन्ने प्रश्नको अन्त्यमा आफ्नो धारणा (अध्ययन ठहर विश्वास) राख्ने नै छु । पहिले आऔं कांग्रेसले खाँणलाई किन कारबाही नगरेको भन्ने प्रश्नमा । धेरैलाई नाम अझै सम्झना हुनुपर्छ र झन् सांसद अमरेशकुमार सिंह वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी आदि इत्यादि कांग्रेसमा ठूलो भाग खोजेर लेखेटिएकाहरूलाई त झन् झलझली सम्झना हुनुपर्छ एउटा नाम । त्यो नाम हो खुमबहादुर खड्काको । उनी भ्रष्टाचार मुद्दामा जेल परे । सारा दुनियाँले लोकलाजकै लागि भएपनि खुमबहादुरलाई कारबाही गर भने । उल्टो खुमबहादुर खड्का सजाय काटेर डिल्लीबजार जेल (खोर)बाट बाहिर निस्किँदा पटनादेखि ट्रकमा ल्याइएका फूलमालाले सजाएर रथयात्रा (इम्पररक्लोथ) गराइयो । त्यसपछि जेल पुगेका विजय गच्छदार, चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी, जयप्रकाश आनन्द गुप्ताजस्ता (मन्त्री, उपप्रधानमन्त्री भएका) आदि इत्यादि कुनैमा पनि पार्टी कारबाहीको प्रश्न नउठेको हुनाले यसैलाई कांग्रेसमा गिरिजापछिको सनातन परम्परा भनेर बुझ्दा केही फरक पर्दैन र चासो लिइरहनुको कुनै अर्थ र मूल्य पनि छैन ।

नारायणकाजी (गृहमन्त्री) तागतको सवालमा पम्फा भुसालदेखि स्वर्णीम वाग्लेसम्म सारा नागरिक समाजले संयुक्त राष्ट्रसंघको शरणार्थी समस्या समाधान विभागको निर्देशनमा अमेरिकी सेनाले चलाएको कारबाही भनिरहेकोमा मलाई पनि कुनै विमति राख्नुछैन । मेरो भनाइ चाहिँ कतिमात्र हो भने अनसनकारी नन्दप्रसाद अधिकारीको लास तीन चारवर्षदेखि टिचिङ अस्पतालमा सुतिरहेको छ । त्यही लासमाथि टेकेर हाम्रा आराध्यदेव पशुपतिनाथले ताण्डव नृत्य प्रारम्भ गर्नुभएको छ । ‘नेपालीलाई नागरिकता शरणार्थी (हाल ८० लाख बढी तथ्यांक) बनाएर विदेश लखेटेर भारतीयलाई नेपाली नागरिकता दिएर ‘प्रधानमन्त्री’ लाई ‘मुख्यमन्त्री’ बनाउने नियत (रणनीति)को राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जारी हुन संकल्पित (कांग्रेस केन्द्रीय समितिमा पास) पूर्व राष्ट्रपति विद्यादेवीबाट विचाराधीन राष्ट्रघाती कथित ‘नागरिकता विधेयक’ जारी हुनबाट रोक्न अमेरिकी सेनाले के चासो देखाउँछ त्यो पंक्तिकारलाई थाहा हुनेकुरो भएन । तर, टिचिङ अस्पतालको मुर्दाघरमा अनसनकारी शहीद नन्दप्रसाद अधिकारीको लासमाथि शिवजीको जुन ताण्डव नृत्य प्रारम्भ भएको छ, त्यहाँबाट निस्केका वाणहरू (उग्र जनआक्रोश)ले भने कुनैपनि हालतमा नछोड्ने पक्का छ । पंक्तिकारको यस विश्वासमा सहमति राख्ने नराख्न सबै पाठकहरू विवेकअनुसार स्वतन्त्र हुनुहुन्छ । भ्रष्टाचारको ‘पाँचवर्षे हद विधेयक’ले नियत त प्रष्टै पारेको नै छ । अस्तु ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया