Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगथपिए एक लाख २७ हजार नयाँ उद्यमी

थपिए एक लाख २७ हजार नयाँ उद्यमी


काठमाडौं । गएको पाँच वर्षमा एक लाख २७ हजारभन्दा बढी नयाँ उद्यमी थपिएका छन् । आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७८/७९ सम्म नेपाली बजारमा एक लाख २७ हजार दुई सय ४२ नयाँ उद्यमी थपिएका हुन् ।

औद्योगिक विकास, नयाँ उद्यमी सिर्जना तथा उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत सो संख्यामा नयाँ उद्यमीहरू सिर्जना भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नयाँ उद्यमी सिर्जनाको लागि सरकारले गरेको लगानीले पूर्ण प्रतिफल दिन नसके पनि कार्यक्रमले निरन्तरता पाइरहेको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

मन्त्रालयका तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा ११ हजार सात सय ४७ जना, २०७५/७६ मा २० हजार छ सय ४१ जना, २०७६/७७ मा सात हजार एक सय ५२ जना, २०७७/७८ मा ३६ हजार चार सय ५६ जना र २०७८/७९ मा ५१ हजार दुई सय ४६ जना नयाँ उद्यमी सिर्जना भएका छन् ।

चालू आर्थिक वर्षमा नयाँ उद्यमी सिर्जना तथा उद्यमशीलता विकास कार्यक्रम प्राथमिकतामा रहे पनि कार्यान्वयन हुन सकेको छैन । उद्योग विभागले नवप्रवर्तन प्रवर्द्धन गर्न स्टार्टअप व्यवसाय कार्यक्रमलाई भने कार्यान्वयनमा ल्याएको छ । यसका लागि विभागले आवेदन माग गरी छनोट प्रक्रिया सुरु गरिसकेको छ । उद्यमशीलता विकासका लागि महत्वपूर्ण मानिने लघु उद्यम विकास (मेड्पा) कार्यक्रम सञ्चालनमा भने मन्त्रालय नै अनभिज्ञ छ । संघीय सरकारमार्फत सञ्चालन हुँदै आएको मेड्पा कार्यक्रम सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई दिएसँगै मन्त्रालय बेखबर देखिएको हो ।

स्थानीय तहमा पठाएको करिब तीन वर्षपछि संघीय सरकारले मेड्पा कार्यक्रम बढी प्रभावकारी हुने बताएको छ । स्थानीय तहमा सञ्चालन भइरहेकाले स्थानीय सरकार नै बढी जानकार हुने जवाफ मन्त्रालयका अधिकारीहरूले दिनेगरेका छन् । सरकारले गरिबी निवारणका लागि मेड्पा कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

यस्तै पछिल्ला वर्षहरूमा मन्त्रालयले नयाँ उद्यमी सिर्जना गर्ने मात्र नभई उद्यमीहरूको स्तरोन्नति, प्रविधि हस्तान्तरण र साझा सुविधा केन्द्रको समेत विकास गरेको बताएको छ । सोही क्रममा मन्त्रालयले आर्थिक वर्ष २०७४/७५ मा छ हजार दुई सय ४० जना, २०७५/७६ मा पाँच हजार सात सय ८७ जना, २०७६/७७ मा दुई हजार नौ सय ७३ जना, २०७७/७८ मा १२ हजार एक सय ३६ जना र आर्थिक वर्ष २०७८/७९ मा २० हजार पाँच सय १७ जना उद्यमीहरूको स्तरोन्नति गरेको छ ।

यस्तै आर्थिक वर्ष २०७५/७६ मा पाँच हजार छ सय ३८ जना, २०७६/७७ मा दुई हजार नौ सय जना, २०७७/७८ मा २९ हजार ९२ जना र आर्थिक वर्ष २०७८/७९ मा ३० हजार नौ सय ७० जना उद्यमीलाई प्रविधि हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०७६/७७ मा आठ वटा, २०७७/७८ मा ३४ वटा र २०७८/७९ मा २२ वटा साझा सुविधा केन्द्र स्थापना गरिएको छ ।

मन्त्रालयले मुलुकको औद्योगिक तथा उद्यमको विकास तथा प्रवर्द्धनको लागि उद्यमी सिर्जना, उद्यमीको स्तरोन्नति, प्रविधि हस्तान्तरण र साझा सुविधा केन्द्र स्थापना कार्यक्रमहरू सञ्चालन गरेको हो ।

प्रत्येक वर्षको बजेटले उद्यम तथा औद्योगिक विकास तथा प्रवद्र्धनका लागि विविध कार्यक्रम तय गरेको हुन्छ । सोहीअनुरूप नै विगतका पाँच वर्ष उद्यमी बनाउने तथा उनीहरूको स्तरोन्नति हुनेगरी कार्यक्रम सञ्चालन गरिएको हो । चालू आर्थिक वर्षमा पनि सरकारले नवप्रर्वतन प्रवर्द्धन गर्न स्टार्टअप व्यवसाय कार्यक्रमका साथै लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन, स्वदेशी उत्पादन तथा उपभोग तथा आफ्नै उत्पादन आफैँ उपभोगलगायतका कार्यक्रम तय गरी स्वदेशी उद्यम, उद्योग तथा उत्पादनलाई प्राथमिकतमा राखेको छ । जुन कार्यान्वयनमा समेत रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया