भू–क्षयको समस्या : रोक्नैपर्ने अवस्था
काठमाडौं । पृथ्वीको सतह भूमि, पानी, हावा र बर्फिलो चट्टानबाट बिस्तारै बगेर जानु नै भू–क्षय हो । यसरी माटो, चट्टान र बालुवाको क्षयबाट पृथ्वीको माथिल्लो भू–सतह बिस्तारै नष्ट भएर जान्छ । चट्टानहरू यान्त्रिक र रासायनिक घर्षणबाट क्षय हुँदै जान्छन् । खासगरी वर्षा र उर्लिँदो भेल वा पानीले चट्टानहरूलाई कमजोर तुल्याउँदै लैजान्छ । केही चट्टानहरू, जस्तैः चुनढुङ्गा बिस्तारै पानीमा घुलिन पुग्छ । अन्य चट्टानहरू पानीमा रसायनहरूबाट नष्ट पारिन सक्छन् । उर्लिँदो भेल छालको रूपमा, वर्षात् अथवा नदीनाला र खोलाहरूले चट्टानका स–साना टुक्राहरू नदीको सिरानमा र समुद्रहरूमा जम्मा गर्छन् । यस्तै किसिमले माटोको नरम भाग बगाएर लैजाने र कुनै ठाउँमा जम्मा हुने गर्छ । यस्तै किसिमले माटोको नरम भाग बगाएर लैजाने र अन्यत्र जम्मा हुने प्रक्रियालाई नै भू–क्षय भनिन्छ ।
यस्तो भू–क्षयबाट अत्यन्त खतराजनक रूपमा जमिन भासिने र जमिनको ठूलो भाग कुनैपनि उब्जनीको लागि अनुपयुक्त हुन सक्छ । यसको लागि बोट–बिरुवा र वनस्पतिले माटोको सतहलाई मजबुत बनाउने र अत्यधिक पानीको बहाबलाई सोसेर भू–क्षय रोक्न सक्छ । यदि यस किसिमको संरक्षण पद्धतिलाई जथाभावी रूपमा वनजंगल फँडानी गरेर हटाइयो भने निश्चित रूपमा यसबाट माटोको ठूलो हिस्सा बगेर जाने प्रबल सम्भावना रहन्छ । त्यस्तै, विभिन्न गाईवस्तु र चौपायाहरूको अत्यधिक चरिचरनबाट घाँसहरू उखाडिँदै जान्छन् । यसले पनि भू–क्षयको सम्भावना बढाउँछ । यसका लागि विशेषज्ञहरूले विभिन्न वैज्ञानिक पद्धतिहरू अपनाउन जोड दिएका छन् । जसअन्तर्गत् बोट–बिरुवाहरू काटिएका ठाउँमा नयाँ रुखहरू लगाउनु अथवा वृक्षारोपण गर्नुपनि एक प्रमुख पद्धति मानिएको छ ।
पृथ्वीमा विद्यमान विभिन्न प्राकृतिक तत्वहरूमध्ये एक प्रमुख तत्व हो, माटो । माटो जमिनको उत्पादकत्व र उर्वरता बढाउन अपरिहार्य मानिन्छ । माटो प्रकृतिमा चट्टान र स–साना कणहरू, विभिन्न लवण पदार्थहरू, सूक्ष्म जीवाणु तथा पानीको ओसहरू मिलेर बनेको एक जटिल मिश्रण हो र यसमा वनस्पति र बालीनाली हुर्काउन सक्ने उर्वरा शक्ति विद्यमान रहेको हुन्छ । स्मरण रहोस् माटोमा जैविक तत्व, खनिज लवण तथा पानीको ओस र सूक्ष्म जीवाणु यथेष्ट मात्रामा रहेमामात्र यसमा रुख–बिरुवा, बालीनाली राम्रोसँग हुर्कन र फस्टाउन सक्छ । वास्तवमा माटोमा भएका जल, खनिज, लवण पदार्थ र अन्य प्राङ्गारिक तत्वहरूको सञ्चिति गर्दै भू–उपयोग गरिएमात्र जमिनको उत्पादकत्व बढ्छ । त्यसैले हामीले माटोलाई सामान्य वस्तु सम्झिएर बेवास्ता गर्नुहुँदैन । हामीलाई सुन्दा अचम्म लाग्न सक्छ कि प्रकृतिमा एक इन्च माटो बन्न एक सयदेखि चारसय वर्षसम्म लाग्न सक्छ ।
नेपाल कृषिप्रधान मुलुक हो । देशको ८० प्रतिशतभन्दा बढी जनसंख्याको आय–आर्जनको माध्यम कृषि हो । यस हिसाबले जमिन अर्थात् माटो नै हाम्रो मुलुकको जीविका धान्ने प्रमुख प्राकृतिक स्रोत हो । हाम्रो देशको भौगोलिक अवस्था अत्यन्त जटिल छ । अतिभिराला पाखाहरूमा कृषि उत्पादनका लागि अव्यवस्थित वा अवैज्ञानिक तरिकाले खनजोत गरिएका छन् । फलस्वरूप पहाडमा खेतबारीबाट मलिलो माटो नास भएर उब्जाउ घट्दै जाने क्रम एकातिर छ भने अर्कोतिर त्यही माटो रुखो गेगरमा परिणत भई तराईका फाँटहरू पुरिंदै जाने स्थिति रहेको छ । यसैले मध्यपहाडी क्षेत्रको अनुपयुक्त भू–उपयोग नै नेपालको प्रमुख भू–क्षयको कारक बनेको छ । त्यस्तै, चुरे तथा भावर क्षेत्रमा अनपेक्षित रूपमा बढ्दै गएको उत्खनन्का कारण पनि यो क्षेत्र तीव्र भू–क्षयबाट प्रभावित भएको छ । त्यस्तै, पृथ्वीको वायुमण्डलमा कार्बन–डाइअक्साइड तथा अन्य हानिकारक ग्यासहरूको मात्रा बढ्दै छ । यस्ता समस्याहरूको न्यूनीकरणका लागि पनि भू–संरक्षणले अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । अर्कोकुरा, हाम्रो देशको अधिकांश भू–भाग भिरालो पहाड पर्वतले ढाकेको छ । यो क्षेत्र अत्यन्त कमलो, निर्वल र अस्थिर छ । जसले गर्दा यी क्षेत्रहरूमा वर्षेनि बाढी पहिरोको पीडा खप्न हामी बाध्य छौं ।
त्यसैले भू–संरक्षण अर्थात् माटोको संरक्षण गरेर माटोमा प्राकृतिक गुणहरू कायम राखेमा कम भूमिमा खेती गरेपनि माटोमा प्राकृतिक तत्वहरू प्रशस्त हुने भएकाले खाद्यान्न बढी प्राप्त गर्न सकिन्छ । जसले गर्दा बढ्दो जनसंख्यामा खाद्यान्नको माग पनि पूरा गर्न सकिन्छ ।
त्यस्तै, भू–संरक्षण गरी जमिनमा वन–जंगल र बोटबिरुवाका जराहरूले माटोलाई राम्रोसँग समातेर पहिरो, भू–क्षय जस्ता प्राकृतिक प्रकोपहरू न्यून गर्न सकिन्छ । यसका साथै बोटबिरुवाको कारणले वर्षाको भेल नियन्त्रण गर्न पनि सहयोग गर्ने गर्छ । जसले गर्दा बाढीले बालुवा, गेगर आदि थुपार्न पाउँदैन । यसबाट हाम्रो भू–भाग मरुभूमीकरण हुनबाट पनि जोगिन सक्छ । त्यस्तै, भू–संरक्षण गरेर जमिनको प्राकृतिक गुण कायम गरेमा माटोमा बस्ने सूक्ष्म जीवहरूले आफ्नो पोषकतत्वहरू पाउँछन् र तिनीहरूको विनाश हुन पाउँदैन । यसबाट पारिस्थितिक पद्धति पनि सन्तुलित एवम् संरक्षित रहन पुग्छ । त्यतिमात्र नभई भू–संरक्षण गर्न सकेमा हाम्रा वरपरका भू–स्वरूप अर्थात् प्राकृतिक वातावरणको पनि संरक्षण हुन पुग्छ । साथै, भू–संरक्षणबाट जमिनमा विद्यमान अम्लीयपना तथा विकिरणयुक्त माटो पानीतिर बगेर जान पाउँदैन । यसबाट जल प्रदूषण पनि केही हदसम्म रोकिन्छ र वातावरणमा सकारात्मक प्रभाव पर्छ ।
भू–संरक्षणको सम्बन्धमा हामीले बुझ्नुपर्ने महत्वपूर्ण कुरा के हो भने अधिकांश समस्याहरू प्रकृतिजन्य भएपनि मानवनिर्मित समस्याले पनि भू–संरक्षण कार्यमा अवरोध पु-याइरहेको हुन्छ । उदाहरणका लागि अत्यधिक वनजंगल फँडानी र चरिचरनले भू–क्षयमा तीव्रता ल्याएको हुन्छ । त्यसैले यसको लागि अवैज्ञानिक र अव्यावहारिक ढंगबाट भिरालो जमिनमा खेती गर्नु उपयुक्त हुँदैन । अर्कोतर्फ नाङ्गा डाँडापाखा र खेर गइरहेको जमिन तथा घर छेउछाउ र आली कान्लाहरूमा वृक्षारोपण गरी माटो संरक्षण गर्ने र सम्भव भएसम्म भू–संरक्षणसम्बन्धी घरदैलो कार्यक्रम, सडक नाटक, पर्चा, पम्प्लेट र पोस्टरहरूबाट भू–संरक्षणको महत्व झल्किने गरी कार्यक्रमहरू सञ्चालन गर्नु बान्छनीय हुने देखिन्छ ।
उपयुक्त भू–उपयोग र प्रविधि (जस्तैः गह्रा सुधार, जैविक मलको प्रयोग आदि) को विकास गरी धेरै भिरालो नभएको जग्गामा खेती गर्नु उपयुक्त हुन्छ । साथै, खेती सम्भव नभएको क्षेत्रहरूमा माटोलाई अड्याइराख्ने प्रजाति–जस्तैः दुबो, बाँस, विभिन्न जातका घाँस आदिको वृक्षारोपण गरिनुका साथै खेर गइरहेको खाली क्षेत्रमा हावापानी सुहाउँदो र मौसमअनुसारका फलफूल र जडीबुटी खेती गरी माटोको क्षमता र उर्वरतालाई कायम राख्ने गर्नुपर्छ । वास्तवमा दिगो विकासको सिद्धान्तअनुरूप प्राकृतिक वातावरण र सामाजिक आर्थिक विकासबीच सन्तुलन कायम रहनेगरी भू तथा जलाधार क्षेत्रको व्यवस्थापन एवम् संरक्षण जस्ता कार्यक्रमहरूलाई आधुनिकीकरण गर्दै जैविक विविधता संरक्षण र सम्बर्धन गरी उपयुक्त भू–उपयोगमा टेवा दिनु वर्तमान समयको आवश्यकता हो । त्यसो त वातावरण संरक्षण र सम्बर्धन गर्न तथा पृथ्वीलाई प्रदूषणरहित बनाई जीवित प्राणीहरूको भौतिक अस्तित्व कायम राख्न पनि भू–संरक्षणको गहन महत्व रहेको हुन्छ ।
यस्तो वस्तुस्थितिलाई दृष्टिगत गरिहेर्दा नेपालमा वर्षेनि प्रमुख प्राकृतिक विपत्तिको रूपमा देखापरिरहेको बाढी, पहिरो र भू–क्षयको समस्यालाई रोकथाम अथवा न्यूनीकरण गरी भू–संरक्षणसम्बन्धी विविध कार्यक्रमलाई राष्ट्रिय अभियानकै रूपमा अघि बढाउनु अपरिहार्य देखिएको छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया