Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनक्कली भुटानी शरणार्थी प्रकरणः सफल कार्यान्वयन गरे देश परिवर्तनको विन्दु बन्न सक्छ ?

नक्कली भुटानी शरणार्थी प्रकरणः सफल कार्यान्वयन गरे देश परिवर्तनको विन्दु बन्न सक्छ ?


काठमाडौं,संसद भवन, नयाँ बानेश्वरमा नेपाली नागरिकता त्यागी नक्कली भुटानी शरणार्थी पुनस्र्थापना प्रकरण, अख्तियारको दुरुपयोग, ठगी, भ्रष्टाचार तथा सांगठित अपराधसम्बन्धी उच्चस्तरीय राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता भइराखेको जस्तो देखिन्छ । सत्तापक्ष र प्रतिपक्ष दुवैका माननीय सांसदहरूको राम्रै सहभागिता देखिन्छ । खासगरी उच्च आवाजमा बोल्न सक्ने, सेतोलाई कालो, कालोलाई सेतो भन्न सक्नेहरूको उच्च आवाज सुन्न पाइन्छ । नयाँ दलका नयाँ सांसदहरूको राम्रै सहभागिता रहेको र अरू पुराना भ्रष्टाचारका फाइलहरू पनि खोल्नुपर्ने र भ्रष्टाचारीलाई दण्ड दिनुपर्ने माग उठाइराखेको देखिन्छ ।

जनताहरू अब के हुने हो भन्दै उकुसमुकुस, आपसमा कानेखुसीदेखि चर्काचर्की प्रतिक्रिया दिएको र सामाजिक सञ्जालमा ‘कोभन्दा को कम ?’ भने जसरी लेख, अन्तर्वार्ता र प्रतिक्रिया प्रस्तुत गरेको देखिन्थ्यो । साँच्चिकै विशिष्ट व्यक्ति को–को संलग्न होलान् भन्ने चासो चलिरहेको आज दुई हप्ताभन्दा बढी भइसक्यो ।

जसले जे बोले पनि भ्रष्टाचार तथा सांगठित रूपमा अख्तियारको दुरुपयोग गरी नक्कली शरणार्थी खडा गरी तेस्रो मुलुकमा मानव तस्करी गर्नु जघन्य अपराध भएकाले गहन र निष्पक्ष अनुसन्धान गर्नुपर्ने र संलग्न अपराधी जोसुकै भए पनि कडाभन्दा कडा सजाय दिनुपर्नेमा सबै सांसदहरू एकमत भने देखिन्छन् । नेपाल प्रहरीले अनुसन्धान गरी प्रारम्भिक नतिजाको आधारमा आजसम्म १६ जना पक्राउ गरिसकेको छ ।

दुईजना राज्य सञ्चालन गर्ने वरिष्ठ नेता एवम् भूपू गृहमन्त्री बालकृष्ण खाँड र उपप्रधान तथा गृहमन्त्रीसमेत भएका टोपबहादुर रायमाझी, बहालवाला गृहसचिव आदि पक्राउ परिसकेका छन् । टोपबहादुर रायामाझीलाई पक्राउ पुर्जी जारी भएको दश दिनपछि लुकेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । यिनले प्रहरीबाट जोगिन अनेक प्रपञ्च गरेर आफ्ना भएका प्रमाण लुकाउने कोसिस गरे । जनताको विरोध खप्न नसकेर आफ्नो पार्टी एमालेले नै यिनीलाई निलम्बन गरी प्रहरीमा आत्मसमर्पण गर्नसमेत निर्देशन दिएको थियो । अपराधमा टोपबहादुरका आफ्नै छोरा पनि संलग्न भएको प्रमाणको आधारमा प्रहरीले थुनामा राखिसकेको छ ।

यही काण्डमा वरिष्ठ नेता एवम् भूपू गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा पनि संलग्न भएको आरोप लागेको छ । उनीविरुद्ध समेत पक्राउ पुर्जी जारी भएपछि उनी अहिले फरार छन् । भुटानी शरणार्थीका नेता टेकनाथलगायत कतिपय सोच्दै नसोचेकाहरूसमेत पक्राउ परिसकेका छन् । भूपू प्रधानमन्त्री र उनको परिवारका सदस्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलगायत उच्च ओहदाका परिवारको नामसमेत चर्चामा आएको छ ।

प्रहरीलाई पूर्ण सहयोग र निष्पक्ष अनुसन्धान गर्न दिनेभन्दा निर्दोष पर्न नहुनेमा जोड दिँदै सांसदहरू बोलेकाबोलै छन् । सामाजिक सञ्जाल, टिभी, समाचार आदिमा त्यही कुरालाई आ–आफ्नो तर्क दिएको पाइन्छ । केही माननीयहरूले आ–आफ्नो नृत्य, अर्धनग्न भएरसमेत देखाइसकेका छन् । वास्तवमा दुवै पक्षको एउटै भनाइ हो ‘दोषी नउम्किऊन् निर्दोष नफसून्’ । तर किन एकले अर्कालाई लाञ्छना लगाएको हो बुझ्न नसकिने विषय बन्यो । ‘नबिराउनु, नडराउनु’ भन्ने त बुझ्नु पर्ने थियो ।

नेपाली काँग्रेसका बालकृष्ण र एमालेका टोपबहादुरको गिरफ्तारीपछि भने माहोल केही परिवर्तन भएको देखिन्छ । ठूला तीन दलका नेता तीनतिर फर्किने, सँगै बस्नसमेत साइत हेर्नुपर्नेहरूको भेटघाट एकाएक धेरै बाक्लिएको र विभिन्न बहानामा छलफल गरेको सुनिन्छ । के विषयमा छलफल भयो र निष्कर्ष के निस्कियो भन्ने साँचो कुरा बाहिर आएको देखिँदैन । भेटघाटबाट जारी अनुसन्धानमा खेलबेल गरी आफ्ना नेता कार्यकर्ताहरूलाई बचाउने वा सफाइ दिने त होइन भन्ने प्रश्न जनमानसमा उठेको देखिन्छ ।

नाम मुछिएकाहरूले आ–आप्mनो बचाउको अन्तर्वार्ता सामाजिक सञ्जालमार्फत जनतामाझ प्रस्तुत गरेका छन् । राजनीतिक दलका नेताहरूले विभाजित मत पोखेको पनि जनतासामु प्रकट गरेको सुनिन्छ । भ्रष्टाचारदेखि आजित र आक्रोशित जनताहरू क्यान्सर रोगजस्तो भ्रष्टाचार निर्मूल गर्नैपर्ने जनचाहना हो । नागरिक समाजका अगुवा, बुद्धिजीवीहरू यस काण्डको विरोधमा र निष्पक्ष छानबिनको पक्षमा सडक प्रदर्शनमा उत्रिएका छन् । अदालतले कस्तो निर्णय गर्ने हो, को–को, कति ठूलो विशिष्ट व्यक्तिहरू पर्ने हुन्, जनताहरू चाख लिई गम्भीर भएर पर्खिरहेका छन् । अब त भ्रष्टाचारविरुद्ध केही गर्लान् कि भन्ने आशा बढेको देखिन्छ ।

‘केही हुनेवाला छैन’ भन्नेहरूको जमात पनि निकै देखिन्छ । ठूला राजनीतिक दल र नेताहरूको भविष्य, यो प्रकरणमा उनीहरूले खेल्ने भूमिका र अदालतको निर्णयमा भरपर्ने धेरैको बुझाइ छ । नतिजा आएपछिमात्र जनताले आफ्नो प्रतिक्रिया दिने देखिन्छ ।देशको प्रमुख सरकारी संयन्त्र गृह प्रशासनका भूपू मन्त्रीहरू, सचिवहरू, अख्तियार प्रमुखसमेतको संलग्नता देखिएको र थुनामा समेत राख्नुपर्ने अवस्था सिर्जना भएबाट नेपालको अन्तर्राष्ट्रिय जगतमा लजास्पद, बेइज्जत र राष्ट्रघाती छवि निर्माण भइसकेको छ ।

अरू देशको अगाडि शिर झुकाई विश्वास गुमाउनुपर्ने अवस्था सिर्जना भइसकेको र नेपालको नियन्त्रणबाट बाहिर गइसकेको अनुमान गर्नेहरू पनि कम छैनन् । शरणार्थी पुनस्र्थापना गर्न सहयोग गरेका यूएनएचसीआर र आफ्नै मुलुकमा आश्रय दिएका देशहरू, खासगरी संयुक्त राज्य अमेरिकाले कसरी लिने हो ? बाहिरी सतहमा नदेखिए पनि चुपलागेर बसेको पक्कै छैन होला । सुरुवाती दिनदेखि नजर परेको र सूक्ष्म तरिकाले अध्ययन गरेको हुनुपर्छ र यिनीहरूकै दबाबमा नेपाल सरकार लाचार भएर अनुसन्धान गर्न बाध्य भएको अनुमान पनि धेरैको छ ।

यो काण्ड राष्ट्रियमात्र नभई अन्तर्राष्ट्रिय समाचारसमेत बन्न पुगेको छ । ठूलाठूला मिडिया हाउसहरूले पनि राम्रै स्थान दिएर यसको समाचार छापेका छन् । नेपालका सम्बन्धित निकाय र राजनीतिक दलहरूले छानबिन र व्यवस्थापनमा कस्तो भूमिका खेल्ने हो भन्नेमा आम जनता र विदेशी निकायले समेत उत्सुकताका साथ नियालिरहेको देखिन्छ ।यो काण्डले विभिन्न आपराधिक क्रियाकलापमा राज्य नै संलग्न भएको देखिसकिएको छ । धनआर्जन गर्न राज्य र मातहतका जिम्मेवार व्यक्तिहरूले गल्तीमाथि गल्ती गरेको प्रष्ट देखिन्छ । नेपालीलाई नक्कली भुटानी शरणार्थीको चयन गर्नु, दोस्रो मानव बेचबिखन र तेस्रो मुलुकमा मानव तस्करी, शरणार्थी पुनस्र्थापना गर्ने राष्ट्र र यूएनएचसीआरसँग बेइमानी र पैसा ठगीगरी जघन्य अपराध गरेको पुष्टि भएको छ ।

यो प्रकरणले गर्दा संयुक्त राज्य अमेरिकाको सुरक्षाको लागि अर्को ठूलो र गम्भीर चासोको विषय हुन सक्छ । पुनस्र्थापना गरिसकेका शरणार्थीहरूमध्ये कति सक्कली र कति नक्कली छुट्याउनुपर्ने हुन सक्छ । अमेरिकाविरुद्ध काम गर्ने र आतंकवादी समूहका सदस्यहरू पनि पर्न सक्ने शंखा उत्पन्न हुन सक्छ । अर्को ठूलो दुर्भाग्य त के भने विशिष्ट व्यक्तिहरूले आफ्ना छोराहरू ‘छोरा ग्याङ’लाई समेत यस्तो जघन्य आपराधिक कूकर्ममा होमेको देखियो ।

आफ्ना छोराछोरीले गरेको राम्रो कामको प्रशंसा सुन्न पाउँदा कुन आमाबुबा खुसी हुँदैनन् होलार ? सबै आमाबुवा आफ्ना छोराछोरी राम्रो, असल, पढेको, इमान्दार हुनुको साथै परिवार, समुदाय र सकेसम्म देशमा केही गरोस् भन्ने चाहना हुनु ध्रुवसत्य कुरा हो । कसैले तिम्रो छोराछोरी के गर्दै छ भन्दा गौरवको अनुभूति हुनेगरी जवाफ दिन सकोस् भन्ने चाहना हुन्छ ।
हिजोसम्म सिंहदरबार कब्जा गर्ने, आमा बुवाको नाममा मोजमस्ती गर्ने, ठेक्कापट्टा र कमिसनबाट पैसा हसुर्ने गरेकाहरू आज हातमा हतकडी लगाएर टिभी र सामाजिक सञ्जालमा हेर्दा र जघन्य अपराधमा संलग्न अपराधी भनि सुन्दा आमाबुबा, साथी सँगिनीहरूले के अनुभूति गर्दो हो प्रश्न गर्न मन लाग्छ । अझ दुवै, बुबा र छोरा मिलेर अपराध गरेको देख्दा झन् के भन्ने होला ।

आमाबुबाले आफ्ना बच्चाहरूलाई के सिकाएका होलान्, कसरी हुर्काएका होलान् ? कसरी र किन राष्ट्रद्रोही कपुत भएर निस्कियो होला ? पैसाको पछिपछि लाग्ने र पैसाकै लागि आफ्नो आमासमेत बेच्न पछि नपर्ने खालको निस्कियो ? अचम्म मानेका छन्, जनता । आफ्नो खुबीबाट आम्दानीको स्रोतबिना बिलासी जीवन बिताउने, करोडौंको महँगो गाडीमा घुम्ने औकात कहाँबाट आयो ? अपराध गरेर सजिलै पैसा कमाउने ‘छोरा ग्याङ’जस्ताले गर्दा मेहनत गरेर पढेलेखेका प्रतिभाशाली युवाहरूमा निराशा छाएको र विदेशमा पलायन हुन बाध्य हुनुपरेको सुनिन्छ । प्रत्येकदिन ३००० को हाराहारीमा युवा विदेश पलायन हुने गरेको सुनिन्छ । युवाहरूलाई हतोत्सहितबाट रोक्न पनि यस प्रकरणमा मुछेका ‘छोरा ग्याङ’ र नेताहरूलाई कठोरभन्दा कठोर सजाय दिन ढिलो गर्न नहुने माग बढेको छ ।

प्रेरणाको स्रोत हुनुपर्ने ठूला नेताहरू आफैँबाट आफ्ना बच्चालाई कुकर्म गर्ने, अपराधिक शिक्षा दिनेजस्ता कर्ममा सक्रिय भएपछि यी नेताबाट के आशा गर्न सकिन्छ ? अनि यस्ताले देश विकास कसरी गर्लान् ? दल र नेताहरूप्रति जनता आक्रोशित छन्, घृणित छन् । होसियार आमाबुवाहरू ! साँच्चै होसियार ! साँच्चै पाठ सिक्न र सिकाउनुपर्ने नै भयो ।
‘गर्नेलाई भन्दा हेर्नेलाई लाज“ भनेझैं जघन्य अपराधमा प्रहरीले पक्राउ गरी थुनामा लैजाँदै गर्दा वरिष्ठ नेता, भूपू उपप्रधान टोपबहादुर रायामाझीले हाँस्दै हात हल्लाएको फोटो भाइरल बनेको छ । आफ्नै छोरा थुनामा राखेको भए पनि यी नेतामा न गल्तीको महसुस देखिन्छ, न लाज । कस्तो कोखबाट जन्मेको होलान् ?

आजसम्म प्रहरी प्रशासनले राम्रो व्यवस्थापन गरेको देखिन्छ । तर भित्रभित्रै चलखेल गरी सच्चा अपराधीहरूलाई उम्कायो भने होसियार, देशमा ठूलो दुर्घटना हुने सम्भावना छ । इमान्दारिताका साथ अनुसन्धान सफल कार्यान्वयन गर्न सके यो नै देश परिवर्तनको विन्दु बन्न सक्छ ?


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #page4

तपाईको प्रतिक्रिया