Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगाँउमा कतै गहुँ काट्न, कतै चैते धान रोप्न भ्याइनभ्याइ

गाँउमा कतै गहुँ काट्न, कतै चैते धान रोप्न भ्याइनभ्याइ


कञ्चनपुर,चैत २७
बेल्डाँडी झिलमिला बस्ने रिता शाहलाई दुई÷चार दिन पहिले गहँु काट्न भ्याइनभ्याइ थियो फेरि अचेल चैते रोपाइँ चलेर धान रोप्न भ्याइनभ्याइ छ । घर नजिकै खेतबारी छ, खेतबारी कै छेउमा नहर बगिरहेको हुन्छ । चैतको महिना लागेपछि उनको परिवारमा गहुँ काट्ने, चुट्ने अनि अन्नबाली भित्र्याउने चटारो चल्छ । अझ जसरी हुन्छ, चाँडो गहँु काटेर खेतमा असारको सुरुमै काट्न मिल्ने गरी चैते धान रोप्न हतारो भइहाल्छ । यस्तै दैनिकी उनीहरूको हरेक वर्ष चल्ने गर्दछ ।

महेन्द्रनगर हल्दुखालकी चाँदनी बमलाई पनि गहँु काट्न भ्याइनभ्याइ परिहेको थियो । श्रीमान् बजारमा सानो खोकाको व्यापार चलाउने र आफूले दैनिक ज्याला मजदुरी नै गरेर घरबार चलाइरहेको उनी बताउँछिन् । अहिले लकडाउनले उनको श्रीमान्को खोकाको पसल बन्द भएको छ । उनी गहुँ काटेर ज्यालादारीको काम गरेर नै घरपरिवार चलाइरहेकी छिन् । ‘श्रीमानको खोकाको पसल छ बजारमा तर अहिले त बन्द भएको छ ।

लकडाउनले, मैले नै अरुको खेतबारीमा गहँु काटेर कमाएको कमाइले नै घर खर्च चलाइरहेका छौँ’ उनले भनिन् । विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को सक्रमण रोक्नका लागि आह्वान गरिएको लकडाउनको प्रवाह नै नगरी कञ्चनपुरका किसानहरू खेतीबारीको सिजन लागेको भन्दै खेतबारीको गहँु काटेर चैत्रे धान रोप्ने चटारोमा व्यस्त हुन थालेका हुन् । गत सातादेखि कञ्चनपुरमा किसानहरू गहँु काट्न र धान रोप्नमा तल्लीन छन् ।

धेरैजसो ठाउँमा अझै गहुँ काटेर सकिएको छैन । जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडीका किसानहरूले खेतबारीमा लगाइएको गँहुबाली काटेर उक्त जमीनमा धान रोपाइँ सुरु गरेका छन् । बेल्डाँडी गाउँपालिका वडा नम्बर ५ झिलमिलाकी रिता शाहका अनुसार किसानहरूले गहुँबालीको कटाइसँगै चैते धानको रोपाइँ समेत सुरु गरेका छन् ।

तराईका जिल्लाहरू कञ्चनपुर र कैलालीमा चार जना कोरोना भाइरसका बिरामी फेला परिसकेको सरकारले जनाएको छ तर यसै समयमा खेतीको बाली काट्नु पर्ने र धान रोप्नु पर्ने बेला भएको भन्दै कञ्चनपुरका किसानहरूले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै संयमित भएर काम गर्नुपरेको बताएका छन् ।

लकडाउनको बेला भन्दै घरभित्र बस्दा बाली लगाउने बेला गुम्नसक्ने र आफूहरूले वर्षभरि भोकै बस्नुपर्ने अवस्था आउनसक्ने शाहले बताइन् । उनले आफूहरू लकडाउन भए पनि बाध्य भएर खेतबारीमा काम गरिहेको बताइन् ।

‘लकाडाउन छ, पुलिसले नजान भनिरहेको छ, घरमै बस्यो भने खेतबारीको काम रोकिन्छ, अनि वर्षभरि भोकै बस्ने त ?’ उनले भनिन् , ‘अहिलेको समय भनेको हाम्रो धान रोप्ने समय हो, चैत्रभित्र चैते धान रोपिसक्यो भने, मात्रै हामीले असारमा चाँडै रोप्न सक्छौँ नत्र असारमा पानी परेर त्यो धान पनि कुहिएर जान्छ ।’

लकडाउनका कारण आफूहरूले खेती गर्न चाहिने मलखाद जन्य कृषि सामग्रीहरू सहजरूपमा उपलब्ध गर्न गाह्रो भइरहेको झिलमिलाका अर्का कृषक तुलसी बुढाले बताइन् । उनले लकडाउन हुँदा बजार नखुलेपछि कृषिको लागि आवश्यक मलखाद लगायतका समाग्रीहरूको अभाव भोग्नुपरेको बताइन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x