Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविपन्न वर्गको राहत वितरणमा विराटनगरका वडाध्यक्षहरूको अनियमितता

विपन्न वर्गको राहत वितरणमा विराटनगरका वडाध्यक्षहरूको अनियमितता


विराटनगर,चैत २८
मजदुरहरूलाई वितरण भएको राहत सामग्रीमा विराटनगर महानगरपालिकाका वडाध्यक्ष तथा सर्वदलीयका नेता मिलेर राहतको खाद्या सामग्री घोटाला गर्नेगरेको तथ्य सार्वजनिक भएको छ । विराट नगरपालिका केही वडाहरूले घरधुरीभन्दा बढीको संख्या देखाएर राहत वितरण गरेको तथ्य खुल्न पुगेको छ । कोभीड १९ बाट ग्रस्त भएर देश अन्धकारको भुमरीमा फसेको बेला विराटनगर महानगरपालिकामा भएको राहत वितरणको घोटाला प्रकरणमा मेयर भीम पराजुलीसहित वडा ६, १५ र १९ का वडाअध्यक्षसमेत विवादित बन्न पुगेका छन ।

विराटनगर महानगरपालिकाका १९ वडाहरूमध्ये ६, १५ र १९ वडाका वडाध्यक्षसहित सर्वदलीय बैठक गरी घरधुरी संख्याभन्दा बढी राहत बाँडेको देखाएपछि राहतमा समेत घोटाला भएको रहस्य खुल्न पुगेको छ । विराटनगर महानगरपालिकाले वडा नं. ६ मा घरधुरी संख्या दुई हजार आठ सय ५३ देखाएको छ । तर, वडाअध्यक्षसहित सर्वदलीय संमयन्त्रका नाममा उक्त वडा ६ मा तीन हजार दुई सय ९६ को संख्यामा घरधुरी देखाएर राहत वितरण गरेको रेकर्ड महानगरमा पुगेपछि राहतका नाममा घोटाला भएको पाइएको हो । त्यसैगरी वडा नं. १५ मा पनि महानगरले दुई हजार दुई सय ५७ घरधुरी संख्या कायम गरेको देखिन आएको छ ।

तर वडाअध्यक्षसहित राजनीति संमयन्त्रका नामबाट उक्त वडामा दुई हजार तीन सय ८९ घरधुरीलाई राहत वितरण गरेको भन्दै महानगरमा प्रतिवेदन आएपछि राहत घोटाला प्रकरणको रहस्य खुल्न पुगेको छ । अर्कोतिर वडा नं. १९ मा पनि महानगरले घरधुरी संख्या एक हजार पाँच सय २९ कायम गरेको छ । तर, उक्त वडामा पनि वडाअध्यक्षसहित सर्वदलीय समितिको निर्णय भन्दै एक हजार छ सय ३१ घरलाई राहत उपलब्ध गराइएको तथ्यांक सार्वजनिक भएपछि महानगरको राहत वितरणमा ठूलै घोटाला भएको आशंका गरिएको छ ।

महानगरका मेयर भीम पराजुलीले गत शनिबार एक स्थानीय रेडियोलाई अन्तरवार्ता दिँदा धेरै राहत सामग्री पाउनको लागि विराटनगरका वडाध्यक्षहरूले फर्जी नाम सिफरिस गर्ने गरेको स्वीकार गरेका थिए । वडामा ठूलो संख्यामा विपन्न नागरिक भएको फर्जी डाटा देखाएर आवश्यकताभन्दा धेरै राहत सामग्री मगाउने र वडाअध्यक्षसहित सर्वदलीयका नेताको संलग्नतामा राहतमा समेत भ्रष्टाचारको गन्ध आउनु दुर्भाग्य भएको नगरवासीले टिप्पणी गरेका छन् ।

महानगरस्रोतले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा दिएको जानकारीअनुसार सर्वदलीय हिसाबमा नाम संकलन गरी वडाध्यक्षको नेतृत्वमा ल्याएको नामावलीलाई महानगरले स्वीकार गर्नै पर्दछ । उनका अनुसार त्यसमा स्थानीय जनप्रतिनिधि र पार्टीका प्रमुखहरूको सहभागिता भएपछि नैतिकता र इमानदारीताको कुरा हो । ‘कुनै वडाको वडाध्यक्षले सर्वपक्षीयरूपमा नाम संकलन गरेर ल्याउनुभयो भने नगरपालिकाले रोक्न सक्दैन, हामीसँग रोक्ने आधार पनि हँुदैन ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x