Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘लकडाउन’ले जिल्लाभरको अवस्था सुनसान

‘लकडाउन’ले जिल्लाभरको अवस्था सुनसान


दोलखां,चैत २८
छिमेकी देश चीनबाट फैलिएको कोरोना भाइरस रोकथाम गर्न नेपाल सरकारले देशलाई लकडाउन गरेको दुई साता बितेको छ । सोहीअनुसार दोलखा जिल्लाभरको अवस्था पनि अहिलेसम्म सुनसान बनेको छ । संघीय राजधानी काठमाडौँबाट छोटो दूरीमा रहेको दोलखामा ९ वटा स्थानीय तहरूमा १५ वटा मुख्य व्यापारिक केन्द्रहरू रहेका छन् ।

जिल्लाका सबै व्यापारिक केन्द्रहरू सुनसान छन् । लकडाउनको अवधिमा अत्यावश्यक काममा निस्केका मानिस र सवारी साधनबाहेक अन्य कुनै पनि मानिस र सवारीसाधन चल्न नदिएको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । आर्थिक दैनिकसँग कुरा गर्दै प्रजिअ शर्माले जिल्लामा फाट्टफुट्ट उलङ्घनका घटनाबाहेक अन्य घटना नभएको बताए ।

प्रमुख जिल्ला अधिकारीसहितको टोलीले लकडाउन अवधिमा जिल्लाका सदरमुकामलगायत अन्य व्यापारिक केन्द्रहरूमा अनुगमनसमेत गरेको छ । जिरी, मैनापोखरी, सिंगटी, कालिन्चोकको कुरी, दोलखा बजार, मागादेउरादी, गोगर, किर्नेलगायतका बजार सुनसान देखिएको प्रजिअ शर्माले बताए । दोलखामा सबै स्थानीय तहका आफ्नै बजार र व्यापारी केन्द्रहरू रहेका छन् ।

दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जिल्लामा पर्याप्त मात्रमा खाद्यान्न सामग्री स्टोर भएको हुँदा अझै दुई महिनालाई खाद्यान्न अभाव नहुने बताए । सबै ठाँउमा खाद्यान्नलगाायत अति आवश्यक सामग्री पाइने पसलहरू भने खुल्ला नै रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी जिल्लाको सुरक्षालाई थप पारदर्शी बनाउन दोलखा प्रहरीले दोस्रो चरणको लकडाउन सुरु भएपछि गाउँघरमा दैनिक गस्तीसहित माइकिङ गर्ने र जवरजस्ती गर्नेलाई कारबाहीसमेत गर्न सुरु गरेको जनाएको छ । पछिल्लो समय विदेशवाट समेत ठूलो सँख्यामा मानिसहरू गाउँघर भित्रिएपछि प्रहरीले झनै सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।

उनका अनुसार जिल्लाका प्रत्येक गाउँमा दुईदेखि तीन जना प्रहरीको समूहले माइकिङसहित गस्ती गरिरहेको छ । कोरोना भाइरसको विषयमा जानकारी दिँदै घरमै बस्न र भीडभाडमा ननिस्कन अनुरोध गर्दै प्रहरीले गाउँगाउँमा माइकिङ गरिरहेको हो । विदेशबाट फर्किएका व्यक्तिहरू क्वारेन्टाइनमा बस्न नमान्दा केही स्थानीयमा त्रास देखिएको भए पनि सोही गाउँको स्थानीय प्रशासनलाई न्यूनीकरण गर्न लगाएको प्रहरी प्रमुख पोखरेलले बताए ।

स्थानीयतहमा वितरण हुने राहत र स्वास्थ्य सामग्रीको अभावले जिल्लाका मानिसमा सामान्य खालको विवाद र समस्याबाहेक अन्य त्यस्तो खालको समस्या नदेखिएको उनको भनाइ छ । त्यसैगरी अत्यावश्यक कामको लागि जिल्ला प्रशासन कार्यालय चरीकोटले दिएको पासको दुरूपयोग गर्ने र पासविना बजार डुल्नेलाई कोरोना रोगसम्बन्धी चेतना दिएर छाडेको उनले बताए । लकडाउन समयमा नियमितरूपमा सुरक्षाकर्मी खटिरहेकाले पनि लकडाउन सफल भइरहेको प्रहरी प्रमुख पोखरेलले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय दोलखा स्वास्थ्य प्रमुख विभुकुमार झाले जिल्लाका सबै ठाउँमा प्रयाप्त मात्रामा स्वास्थ्य सामग्री मास्क, सेनिटाइजर, थर्मल गन, पीपीईलगायतका सामग्री नपुगेको हुँदा बिरामीको स्वास्थ्य अवस्था परीक्षण गर्न समस्या हुने गरेको बताए । मापदण्डअनुसारका स्वास्थ्य पूर्वाधार क्वारेन्टाइन, आइसोलेसन, भेन्टिलेटरलगायतका सुविधा नहुँदा बिरामीलाई चेकजाँच गर्न तथा राख्न समस्या हुने गरेको उनको भनाइ छ ।

जिल्लाको कालिन्चोक गाउँपालिकाका २३ जनालाई सिंगटीमा रहेको क्वारेन्टाइनमा राखेर उनीहरूको स्वास्थ्य अवस्थाको परीक्षण गरिरहेको उनले बताए । उनीहरूको अवस्था सामान्य रहेको झाले जानकारी दिए । उनीहरू लकडाउनको समयमा जिल्ला भित्रिएका थिए । जिल्लाका अन्य ठाउँका क्वारेन्टाइन भने खाली रहेका छन् । त्यस्तै भीमेश्वर नगरपालिकामा ३५ वटा, तामाकोशी गाउँपालिकाको किर्नेमा ५ वटा र जिरीमा ५ वटा गरी ४५ वटा आइसोलेसन तयारी अवस्थामा रहेको स्वास्थ्य प्रमुख झाले बताए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x