काठमाडौं महानगरपालिकाका प्रमुख : युवाको जोस त देखियो, होस पनि पु-याऊ
काठमाडौं । काठमाडौं महानगरपालिकाका पदाधिकारीले आफ्नो कार्यभार सम्हालेको एक वर्ष पुगेको छ। महानगरका सम्पूर्ण जनप्रतिनिधिहरूमा बधाई तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छु ।
फर्केर हेर्दा काठमाडौंको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ठूला राजनीतिक दल, नेपाली कांग्रेस र एमालेका उम्मेदवारभन्दा अप्रत्यासित बहुमतले जित हासिल गरेका हुन् । महानगरका ३२ वडामध्ये १९ मा नेपाली कांग्रेस, १२ मा एमाले र एउटामा भने एकीकृत समाजवादी पार्टीले जित हासिल गरेको छ ।
काठमाडौंवासीले बालेनलाई महानगर प्रमुखजस्तो महत्वपूर्ण गरिमामय पदमा चाहेर वा नचाहेर, ठूला राजनीतिक दलहरूलाई लत्याएर एक स्वतन्त्र, अपरिचित व्यक्तिलाई आसिन गराएको छ । अप्रत्यासित नतिजा आउनुको मुख्य कारण ठूला दलहरूले सेवा प्रवाह गर्न नसक्नु, भ्रष्टाचारमा लिप्त भएबाट जनताहरू ठूला दलप्रति अविश्वासको स्थिति पैदा भएको र जनता आक्रोसित भएर हो भन्ने बुझिन्छ । मतदाताहरूले ‘हाम्रोभन्दा राम्रो’, नयाँ अनुहार, अनुभवी, विशेषज्ञ उम्मेदवारको चाहना राखेका थिए । दलहरूले जनचाहनालाई लत्याउँदा यस्तो परिणाम आएको हो । चाहनाअनुसार उम्मेदवारी नदिएकोले नै दलको सेखी झार्न र रिस पोख्न जानीजानी स्वतन्त्रमा जनमत गएको बुझिन्छ ।
हालसम्म बालेनको नेतृत्वमा भएका, गरेका, बोलेका र व्यवहारका कुराहरू सुन्दा, गतिविधिहरू नियाल्दा र खासगरी सामाजिक सञ्जालमा उनका गतिविधि हेर्दा साँच्चै के भइरहेको छ बुझ्न सक्ने अवस्था छैन । यो कुरा सामाजिक सञ्जालका खेलाडीहरूले समेत बुझ्न सक्ने अवस्था छैन । सञ्जालमा लेखेका प्रतिक्रियाहरूको लेखाजोखा गर्ने हो भने बालेनले राम्रो गरे पनि, नराम्रो गरे पनि राम्रै समर्थन पाएको देखिन्छ । ‘चमत्कारै चमत्कार’ गरेको, ‘कसैले गर्न नसकेको काम गरेको’ र योजति सक्षम व्यक्ति हालसम्म नजन्मेको भन्नेजस्ता लेखोटहरू पढ्न र सुन्न पाइन्छ । बालेनले जुँगा मात्र हल्लाउँदा पनि हजारौंको संख्यामा वाहवाही गर्ने, क्या जुङ्गा चलाएको भनी तारिफ गर्ने र सामाजिक सञ्जालमा भाइरल गर्ने गरिन्छ ।
बालेनले आफ्नो चुनावमा मतदाता समक्ष विभिन्न प्रतिबद्धता जनाएका थिए । जस्तै, सामुदायिक विद्यालयको पूर्वाधार, गुणस्तर र वातावरण सुधार गर्ने र प्राविधिक शिक्षालाई प्राथमिकता दिने उनको पहिलो प्राथमिकता थियो । त्यस्तै, काठमाडौं महानगरपालिकाअन्तर्गतका सबैखाले सुविधा, सेवाहरू भएको एम्बुलेन्स सुरु गर्ने र कल सेन्टरमार्फत सेवा सञ्चालन गर्ने अर्काे प्रतिबद्धता थियो । ७० वर्षभन्दा माथिका व्यक्तिको घरघरमा निःशुल्क स्वास्थ्य परीक्षण गराउने, कल सेन्टरमार्फत भौतिक पूर्वाधार एम्बुलेन्सद्वारा सडक, ढललगायतको मर्मत गर्ने, सबै सार्वजनिक यातायातमा जीपीएस जडान गरी सवारीसाधनहरूको स्थान ट्र्याक गर्ने, पुरानो जलस्रोतलाई पुनर्जीवित गर्न ढुङ्गाको टुक्रा, नेपालीमा ढुंगेधारा र नेपाल भाषामा हिटीलाई प्रयोगमा ल्याउने जस्ता प्रतिबद्धताहरू रहेका थिए । त्यस्तै, सुरक्षाका लागि सबै सार्वजनिक सवारीसाधनमा सीसीटीभी जडान गर्ने, सबै वडामा सार्वजनिक शौचालय स्थापना गर्ने, रोजगारी र उद्यमशीलता प्रवर्द्धनका लागि आईडिया बैंक स्थापना गर्ने आदि प्रतिबद्धता थिए ।
केही राम्रा कार्यको थालनी पक्कै भएको छ । जनताको नजरमा केही प्रशंसनीय कामहरू भएकोमा पुराना व्यापारिक केन्द्र असन, इन्द्रचोक, बानेश्वरजस्ता ठाउँमा भुइँ पसल हटाउने प्रयास भएको, फुटपाथमा सहज रूपमा आवतजावत गर्ने सुविधा भएको र अहिले सहर सफा देखिएको छ । तर हालसम्म पनि मौका मिल्नासाथ भुइँपसले क्रियाशील भएको पाउँछौँ । वर्षौदेखि व्यवसाय गर्दै आएकाहरूका लागि दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने माग आएको । सम्पदा क्षेत्रलगायत जग्गा मिची बनाइएका अवैध संरचनाहरू भत्काउने, सहरी मुख्य क्षेत्रमा केही सफाइको अनुभूति आदि पनि बालेन आएपछि सुधार भएका कामहरु हुन् । महानगरले ठाउँठाउँमा बनेका अनधिकृत संरचना, घर, टहराहरू भत्काएको धेरैले प्रशंसा गरेको पाइए पनि जनसहभागिताबिना जबरजस्ती डोजर प्रयोग गरेर आतंक फैलाएकोमा भने धेरैले आपत्ति जनाएका छन् । ठाउँ न कुठाउँ सवारीसाधन पार्किङ गर्ने व्यवस्थाले केही हदसम्म सुधार भएको देखिन्छ । आईडिया बैंक बल्ल कुरा चल्न थालेको छ । स्कुलमा किताबबिना एकदिन कक्षा सुरुवात गरेको नतिजा हेर्न बाँकी नै छ । काम थालेकामध्ये कतिले स्थायित्व पायो हेर्न बाँकी नै छ ।
आफैँले बोलेका कतिपय योजनाहरू लागु गर्न असमर्थ वा अहिले नै असफल भइसकेको देखिन्छ । जस्तै, निजी क्षेत्रसँग मिलेर शौचालयको कुरा, सडक खाल्डाखुल्डी टाल्ने इमरजेन्सी एम्बुलेन्स, ट्राफिक जाम र यातायात व्यवस्थापन, घरघरमा फोहर छुट्याउने, नगरसभाको प्रत्यक्ष प्रसारण आदि कामहरू सफल हुन सकेनन् ।
जनतासामु आफू राम्रो देखाउन, प्रचारबाजी मात्र नभई स्टन्टबाजीसमेत गरेको देखिन्छ । टुकुचा खोला र थापाथलीको सुकुमबासी प्रकरण, नर्भिक अस्पतालको जग्गा, स्टन्टबाजीको अर्काे उदाहरणको रूपमा जनताले बुझ्ने गरेका छन् । थापाथलीबाट सुकुमबासीलाई हटाउनुपर्ने नै हो, यसमा दुई मत हुनै सक्दैन । जे काम गर्दा पनि नेपाल सरकारको नियम, कानुन आदिको ख्याल राख्नैपर्ने हुन्छ । महानगरपालिका जो स्थानीय सरकार हो, संघीय सरकारको महत्वपूर्ण निकाय भएबाट देशका नियम, कानुन पालना गर्नुपर्ने बाध्यता हुन्छ अथवा सो प्रक्रिया औपचारिक संशोधन गर्नुपर्ने हुन्छ । परिवर्तन नगरी बल प्रयोग गर्नुको कुनै अर्थ हुँदैन । टुकुचा प्रकरण, नर्भिक अस्पतालको जग्गामा पनि त्यही प्रक्रिया लागु हुने नै भयो । नियमविपरीत जाँदा पीडित पक्ष कानुनी उपचारमा जाने अधिकार सुरक्षित राखेको हुन्छ । सर्वोच्च अदालतले आफ्नो प्रतिक्रिया दिइसकेको छ । हाल सो कार्य स्थगित गरेको अवस्था छ । बालेन र महानगरले यस्ता प्रक्रिया, कानुन, नियमका कुरा त बुझ्नुपर्ने होइन ? दुवै प्रकरणमा गृहकार्य र योजनाको कमी नै रहेको देखिन्छ । हुन त यो दुवै प्रकरणमा सामाजिक सञ्जालमा बालेनको पक्षमा नै लेखिएको देखिन्छ । यो कतिको जायज हो आउने दिनमा थाहा हुने नै छ ।
सामाजिक सञ्जालमा हिजोआज महानगरपालिकाको बजेटसम्बन्धी समाचार हेर्न पाइन्छ । खास गरेर वडावडामा ‘सुनवाई कार्यक्रम’का फोटो र भिडियो पोस्ट गरेको देखिन्छ । साथै, महानगरपालिकाले पोर्टल ‘स्पेसल एप’मार्फत जनताका सुझाव संकलन गर्ने प्रयास गरेको देखिन्छ । यसरी बनाएको बजेटको कत्तिको वैज्ञानिक आधार हुने हो ? बजेट निर्माणमा विभिन्न प्रकारका विधिहरू प्रयोग गर्न सकिन्छ भन्ने वैज्ञानिक आधार हुनुपर्ने हुन्छ । राम्रो बजेट बनाउनु आफैँमा गहन कार्य हो र एक महिनामै गर्न कठिन हुन सक्छ । यसमा प्रत्येक वडाको प्रोफाइल र स्थिति विश्लेषण, प्राथमिकताको छनोट गरेकै हुनुपर्छ । वडाको स्थिति विश्लेषणको आधार बजेट विनियोजित गर्नुपर्ने हो न कि ठूला वा साना वडाका नाममा । वडा र केन्द्रको जिम्मेवारी र कसरी समन्वय गर्ने प्रष्ट हुनुपर्ने देखिन्छ । भएको स्रोत कसरी सदुपयोग गर्ने (कनिका छर्नेजस्तो पक्कै होइन) रणनीति हुनुपर्छ । के यो एकीकृतरूपमा गरिन्छ ? के यस्तो गरिएको छ ? विशेषज्ञको निगरानीमा भएको छ ? नत्र यो केवल एक कर्मकाण्डी हुने र व्यक्ति विशेषको किनमेलको सूची मात्र हुनेछ । यी क्रियाकलापबाट बजेट बनाउँदा महानगर र यहाँका बासिन्दाका आधारभूत आवश्यकता, समस्याको समाधान र सम्पूर्ण महानगर विकास गर्न सहयोग पुग्ने हो ? भएको स्रोतको परिचालन र सदुपयोग कसरी गर्ने हो भन्ने हेर्न बाँकी नै छ ।
हालै सम्पन्न महानगरको बोर्ड बैठकमा आर्थिक वर्ष २०८०/८१ को अनुमानित २५ अर्बको बजेट विनियोजन गर्ने देखिन्छ । गत आर्थिक वर्ष २०७९/८० बजेट विनियोजन १८ अर्बभन्दा धेरै गरेकोमा खर्च गर्न नसकेर पुनः कार्यक्रम गरी १६ अर्बमा झारेर योजना बनाउँदासमेत पाँच अर्ब रुपैयाँभन्दा बढी खर्च गर्न नसकेको देखिन्छ । के महानगरपालिकाले थप १० अर्ब खर्च गर्ने क्षमता राख्छ ? त्यसको लेखाजोखा गरेको छ ? ‘घाँटी हेरी हाड निल्नु’ भनेझैं यदि आफ्नो क्षमताभन्दा बढी भए दुरुपयोग हुने सम्भावना धेरै हुन सक्छ ।
सोचनीय कुरा त विनियोजन बजेटमध्ये ४९ प्रतिशत खर्च पूर्वाधार निर्माणमा छुट्याएको छ । जुन असन्तुलन देखिन्छ र कुनै किसिमले वैज्ञानिक हुन सक्दैन ? निर्माण मात्रले विकास हुन सक्दैन । बाल, महिला, युवा, वृद्ध समूहको विकासका लागि कति विनियोजन गरेको छ ? त्यस्तै, शिक्षा, स्वास्थ्य, पोषण, खानेपानी, रोजगार आदिमा के–कति विनियोजन गरेको छ ? यसमा सन्तुलित हुनुपर्ने देखिन्छ । महानगरले स्थानीय बासिन्दाहरूको फाइदा, रोजगारी सिर्जनाको लागि ठूला परियोजना विकास गर्न सक्दैन ? महानगरको त्यतातिर ध्यान जानुपर्ने देखिन्छ । यदि बजेट विनियोजनअनुसार खर्च गर्न नसके महानगरवासीको लागि ठूलो अन्याय हुनेमा ध्यान जाओस् ।
महानगरवासी र उपभोक्ता तथा मतदाताहरू भने बालेनको क्रियाकलापबाट निराश देखिन थालेका छन् । प्रश्न उठ्न थालेको छ कि ‘बालेन सेलिब्रिटी हुन् कि नेता ?’ सेलिब्रिटीजस्तै सामाजिक सञ्जालमा बढी, जनसमुदायसँग अन्तरक्रिया गर्न चासो नराख्ने जनगुनासो सुनिन्छ । नेता र सेलिब्रिटीमा आकाशजमिनको फरक छ । बालेन, उहाँका सम्पूर्ण हाईहाई गर्ने अनुयायीलगायत सम्बन्धितले यो बुझ्नु पर्ने हो । संगीत क्षेत्र (-याप गायन)मा युवाहरूमा राम्रो प्रभाव पारेको हुँदा सामाजिक सञ्जालमा राम्रै नेटवर्क हुनु स्वाभाविक हो । त्यसैले उनको लेखाइमा प्रतिक्रिया र समर्थन जुट्नुमा कुनै अचम्म मान्नुपर्ने हुँदैन । यो समूह देशी, विदेशीे जो कोही पनि हुन सक्छ । उनीहरू मतदाता अथवा उपभोक्ता हुनै पर्छ भन्ने पनि हुदैन र कामको जानकारी हुनै पर्छ भन्ने पनि छैन । सामाजिक सञ्जालमा आएका प्रतिक्रिया र सूचनाबाट जनमानसमा गलत सन्देश जाने पक्का छ । हालै दुईजना क्रिकेट र फिल्मका सेलिब्रिटी बलात्कार काण्डमा थुनामा परेर निस्किए । तर यी सेलिबे्रटीका अन्धभक्त अनुयायीहरू अदालतलाई नै प्रभाव पार्न सेलिब्रिटीहरूको पक्षमा बोलेको, प्रदर्शन गरेको उदाहरण समेत सबैले देखेको सुनेकै हो, जुन गलत हो ।
काठमाडौं भन्ने सुन्दा पुरानो (रिङ रोडभित्रका) बस्ती भन्ने बुझिन्छ । यसले काठमाडौंको पहिचान र परिचय दिँदै आएको छ । पुराना व्यापारिक केन्द्रहरू, पुराना सांस्कृतिक र धार्मिक सहर एवं बस्तीहरू असन, इन्द्रचोक, बसन्तपुर, हनुमानढोका, स्वयम्भु, पशुपति, गुह्येश्वरी, नरदेवी, क्षेत्रपाटी, पुराना राजदरबारहरू टुँडिखेल, वाग्मती, विष्णुमती आदि पर्न आउँछ ।
स्थानीय बासिन्दा र समूहले नै यहाँ भएका नेवाः संस्कृति, सभ्यतालाई सञ्चालन गर्ने, रेखदेख जगेर्ना गर्दै आएका छन् । यसमा द्येय (जीवित देवता) देग÷चिबा (मन्दिर), फल्चा (पाटी), हिती (ढुङ्गेधारा), जात्रा, गुठी, भोये (खान), खुसी (नदी), ख्य (चौर), भजन, तीर्थस्थल, बाजँ (बाजा), गल्ली, बहाः (ठूलो चोक, प्याख (नाच) आदि पर्न आउँछ । यसैले नै देश बाहिर नेपालको पहिचान बनाएको छ । नेपालको पर्यटन क्षेत्रमा यो पुरानो बस्तीले ठूलो योगदान गरेको नकार्न सकिँदैन । यहाँका नगरवासीहरूले विभिन्न किसिमको कर तिर्नेमा अग्रपङ्तिमा पर्न आउँछ ।
संसारमा कतै नभएको सांस्कृतिक सम्पदाको खुल्ला म्युजियम हो यो ‘कोर एरिया’ । यसलाई यथास्थितिमा राखी विकास गर्नुपर्ने हुन्छ । यसको दायित्व देशका तिनै तहको सरकारको भए पनि महानगरपालिकाले जिम्मेवारी लिनुपर्ने हुन्छ । देशको राजधानी भएर पनि ‘बत्तीमुनि अँध्यारो’ भनेझँै यहाँका स्थानीयवासीहरूले धेरै समस्या भोग्नु परेको अवस्था छ । साँघुरो सडक, साँघुरो गल्ली, ढल र खानेपानीको असहज अवस्था, ट्राफिक जाम र एकतर्फी सडकले गर्दा आवतजावतमा कठिनाइ, ढल मिसिएको खोलाहरू (विष्णुमती), हरियालीबिना कंक्रिटको जंगल यही ‘कोर एरिया’मा पर्दछ । यहाँका धेरै परिवार यी समस्यालगायत विभिन्न कारणले अन्य पालिका वा जिल्लामा बसाइँसराई गरेको हालैको जनगणनाले देखाइसकेको छ । यसको प्रत्यक्ष र नकारात्मक असर सम्पदा संरक्षण, संस्कृति, गुठी आदि सञ्चालनमा परिसकेको छ । यदि समयमै हस्तक्षेप नहुने हो भने लोप हुने खतरा छ ।
महानगरले हेर्ने दृष्टिकोण खासै बुझ्न सकेको छैन । हुन त केही मठ मन्दिर, गुठीका घरहरू पुनः निर्माण भएको देखिन्छ । ‘काठमाडौं सिङ्गापुर होइन भक्तपुरजस्तो हुनुपर्छ’ भन्ने बालेनको आयामिक अवधारणालाई समर्थन गर्दै महानगरले ‘एकीकृत कोर एरिया विकासको कार्यक्रम’अघि सार्न ढिला गर्न नहुने देखिन्छ ।
महानगरको हालैको बैठकमा वडाध्यक्षहरूले कतिपय निर्णयहरू पारदर्शी नभएको, समन्वय नगरेको गुनासाहरू बाहिर ल्याएको सुनिन्छ र बजेट सदुपयोग गर्न नसकेको कुरा अघि सारेको सुनियो । कुनै पनि संगठन राम्रोसँग चल्न दरिलो टोली र टोलीको भावना अनुरूपको कार्ययोजना आवश्यक पर्दछ । यस्तो कार्ययोजना तर्जुमा गरी सोको कार्यान्वयन गर्नुपर्ने हुन्छ । बालेनमा सोको अभाव खट्केको देखिन्छ । महानगरका वडाध्यक्षहरूसँग समेत टिममा काम गर्न अनिच्छुक र विश्वासको खडेरी परेको हो कि भन्ने प्रश्न उठेको छ । वडाहरूले धेरै राम्रा काम गरेको देखिन्छ तर सामाजिक सञ्जालमा त्यो उल्लेखसमेत हुन सकेको देखिँदैन र आफूले मात्र क्रेडिट लिन खोजेको देखिन्छ । धोबीखोला सफा गर्न वडाले प्रत्येक वर्ष डोजर चलाउने गर्छ । तर बालेन समर्थित साइबर समूहले बालेनको हाईहाई गर्न पुग्छ । एम्बुलेन्स सेवाको सुरुवात विद्यासुन्दरकै पालामा भएको हो । तर बालेनले गरेको हुइयाँ मच्चाइयो ।
युवाहरूमा जोस त हुन्छ नै तर होस पु¥याउनु पनि पर्ने हुन्छ । महानगर एक सशक्त स्थानीय सरकारी निकाय हो । तर प्रमुखको काम गराइ र सोचाइ कुनै निजी कम्पनीको प्रमुख कार्यकारी अधिकृतजस्तै आत्मकेन्द्रित आप्mनो लहडमा दौडेको देखिन्छ । पारदर्शिता, प्रक्रिया, नियम, नतिजा र परामर्शबिना निर्णय लिने गरेकोजस्तो देखिन्छ । जसले गर्दा सुरुवातमै विवादित हुन पुगेको उदाहरण सबैको सामु छर्लङ्ग छ । बालेनले रत्नपार्कमा भूमिगत पार्किङ बनाउने उद्घोष गरेलगत्तै उपप्रमुखलगायत वडाध्यक्षहरूसमेत विरोध गर्न पुगे ।
देशको प्रधानमन्त्रीको अध्यक्षतामा काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी उच्चस्तरीय छलफलमा सम्बन्धित मन्त्रीलगायत, नगर प्रमुख सहभागी हुनुपर्नेमा बालेनले बहिस्कार गरेको समाचार बाहिरिएको छ । विरोधस्वरूप सिंहदरबारबाट हप्तौँ फोहर नउठाई सरकारको विरोध जनाएका बालेन त्यसको व्यवस्थापनसम्बन्धी बैठकमा गएनन् । विरोध त गर्ने अधिकार हुन्छ तर टकरावको लागि होइन । पीएल सिंह काठमाडौं नगर प्रमुख हुँदा पनि सिंहदरबारमा फोहर थुपारेर विरोध गरेका थिए तर त्यो सांकेतिक मात्र थियो ।
सम्पदासम्बन्धी एक समारोहमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सैनिक ब्यारेकमा सैनिक घेरालाई तोड्न आदेश गर्न पुगे । समयसमयमा यस्ता असामान्य निर्णय गर्ने, बोल्ने र लेख्ने गरेको पाइन्छ, जुन आत्मघाती हुन सक्छ । बालेन व्यक्तिमात्र नभई काठमाडौं महानगरपालिकावासीको प्रतिनिधि पनि हुन् भन्ने हेक्का हुनु पर्छ । यस प्रकरणमा वडाध्यक्षहरूको आफ्नो धारणा आजसम्म सुन्नमा आएको छैन । के उहाँहरू बालेनको यो असामान्य निर्णय, बोल्ने र लेखनको समर्थक हो ? एक महानगरवासीको हैसियतले मैले भन्नैपर्छ, काठमाडौं महानगरपालिकाका युवा प्रमुख ः जोस त देखियो, होस पनि पु-याऊ ।
एक फरक सन्दर्भमा काठमाडौं महानगरपालिका मा महामारी विज्ञान सम्बन्धी अनुसन्धानबारे छलफल गर्न मलाई र लन्डनको ब्रुनेल विश्वविद्यालयका प्रतिनिधिलाई भेट्न केही समय दिनुभयो । उहाँ संयुक्त रूपमा अनुसन्धान गर्न इच्छा देखाइ सकारात्मक भएको पाएँ । समय दिनुभएकोमा बालेनलाई धन्यवाद दिन यो अवसर लिन्छु ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया