Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसमग्र विकासका लागि युवाशक्ति परिचालनको आवश्यकता

समग्र विकासका लागि युवाशक्ति परिचालनको आवश्यकता


काठमाडौं । विकास एक निरन्तर प्रक्रिया हो, जसका लागि कुनै पनि देशको भूगोल र प्रकृतिले दिएको सम्पदाको परिधिभित्र रही उपयुक्त शिक्षाका माध्यमद्वारा विकासको खाका कोरेर कार्यान्वयन गर्न सक्नुपर्छ । यसका लागि सम्बन्धित देशमा विद्यमान प्राकृतिक सम्पदाको उत्खनन् एवं प्रशोधन गरेर उपभोग्य वस्तुहरू उत्पादन गर्ने प्रविधि एवं आवश्यकताअनुसार प्राविधिकहरू उत्पादन गर्न सक्ने शिक्षण संस्था र प्राविधिक प्रशिक्षण केन्द्रहरू स्थापना गर्न नित्तान्त आवश्यक छ ।

नेपाल हिमाल, पहाड र उर्वर फाँटहरू भएको एक सुन्दर सम्पदा सम्पन्न देश हो । जुन यथोचित परिपाटीबाट परिचालन गर्न सके मात्र यहाँको सर्वाङ्गीण विकास गर्न सकिन्छ । परन्तु, यसका लागि यहाँ विद्यमान स्थानीय युवा जनशक्तिको अधिकतम परिचालन गर्न जरुरी छ ।

नेपालमा हालसम्म पनि झण्डै ६६ प्रतिशत जनता कृषिमा आश्रित छन् । जसको ठोस विकासविना यहाँको चौतर्फी विकास सम्भव छैन । यहाँको ठोस कृषि विकासका लागि एकातिर सिँचाइ, मल र किटनाशक औषधीको आवश्यकता छ भने अर्कोतिर विभिन्नस्तरको दक्ष जनशक्ति जरुरी छ । जसका लागि सम्बन्धित पक्षको ध्यानाकृष्ट हुनुपरेको छ ।

जलसम्पदाका लागि नेपाल विश्वको दोस्रो धनी देश मानिन्छ । यहाँ विद्यमान जलस्रोतलाई आवश्यकताअनुसार जलविद्युत्, सिँचाइ, पिउने पानी आदि क्षेत्रहरूमा प्रयोग गर्न सकिन्छ । यसका लागि उक्त क्षेत्रका लागि चाहिने इन्जिनियर, ओभरसियर तथा अन्य दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्न आवश्यक छ ।

नेपालमा हिमाल, पहाड, तराई, जैविक विविधता आदि धेरै छन् । जसले यहाँको पर्यटन उद्योग प्रवद्र्धनमा सघाउ पु-याउन सक्छन् । परन्तु, यसका लागि दक्ष जनशक्तिको परिपूर्तिका लागि सम्बन्धित पक्षको ध्यान जानु नित्तान्त आवश्यक छ ।

वस्तुतः कुनै पनि देशका युवाहरू विदेश पलायन नहुने उपायहरू विकासका पूर्वसर्त हुन् । उनीहरूको सहभागिताविनाको विकास नारामा सीमित हुन्छ, उपलब्धि हुँदैन । परन्तु, यसबारे सरोकारवालाहरूको ध्यान जान सकेको छैन ।

नेपालमा प्रत्येक वर्ष बेरोजगारी तीव‌्ररूपले बढिरहेकाले यहाँका युवाहरू विदेशिन तत्पर छन् । किनभने विदेशमा बढी आयआर्जन गरी सुखी जीवन बिताउन उनीहरू इच्छुक छन् । कुनै पनि देशको सर्वाङ्गीण विकासका लागि विभिन्न किसिमको दक्ष जनशक्तिको आवश्यकता पर्छ, जुन स्वदेशमै उत्पादन गर्न उपयुक्त हुन्छ । तर यहाँ विदेशीहरूको गुलामी बन्नका लागि शैक्षिक जनशक्ति उत्पादनमा लगानी भइरहेकाले यहाँको शैक्षिक लगानीबाट अन्य देशहरूले फाइदा उठाइरहेका छन् । यहाँका शैक्षिक संस्थाहरूमा गरिने पठनपाठनको शैली एवं पद्धतिले देशलाई अन्याय गरेकाले यहाँको जनता दुःखी छन् ।

सामूहिकरूपमा आपसी समन्वयको विकास गरी नागरिकका समस्या समाधान गर्न सक्ने कुनै शक्ति यहाँ विद्यमान छ भने त्यो युवाशक्ति नै हो । जसको कुनै पनि पक्षबाट हुन सक्ने सम्भावित नकारात्मक क्रियाकलापहरूको दुरुपयोगलाई रोक्न राज्यको तर्फबाट युवामैत्री नीतिको व्यवस्थापन गर्नु आजको आवश्यकता हो । उक्त नीतिको व्यवस्थापन गर्न नसकिएमा यहाँका युवा विदेशिने क्रम रोकिने छैन र यहाँ आकलन गरिएको आर्थिक विकास एवं समृद्धिको मार्गमा अवरोध खडा हुनेछ ।

लामो संघर्षको प्रतिफल स्वरूप प्राप्त गरिएको वर्तमान राजनीतिक दिग्दर्शनलाई यदि समयमा नै सदुपयोग गरी राष्ट्र विकासको लागि तत्पर युवाहरूलाई सदुपयोग नगर्ने हो भने भविष्यमा यहाँ अकल्पनीय राजनीतिक दुर्घटना हुन सक्छ, जुन रोक्न धेरै कठिन हुनेछ ।

वस्तुतः नेपालको युवा जनशक्ति विदेशिने क्रम वि.सं. २०४६ सालपछि सुरु भयो । त्यसबेला माओवादीको आन्दोलन एवं अत्याचारले यहाँको युवाहरू विदेश जान बाध्य भए । यहाँ जुनसुकै सरकार आए पनि विकासको आकर्षक नारा सुनिन्छ । तर पुँजीगत खर्च बढाउन नसक्नाले यहाँ अपेक्षाअनुरूप विकास गर्न सकिएको छैन ।

यहाँ प्रत्येक आर्थिक वर्षको अन्तिम महिनामा विभिन्न क्षेत्रको विकासका लागि अधिकतम रकम खर्च गर्ने प्रचलन छ । जुन धेरै अवधिसम्म टिक्दैन । यस्तो विकासमा न त स्थानीय जनता सन्तुष्ट छन् न त युवा जनशक्ति निर्यात नै रोकिएको छ । एक आधिकारिक तथ्यांकअनुसार नेपालमा कुल युवा (१६–४० वर्ष)मध्ये ७१ प्रतिशत साक्षर छन् । जसमध्ये १६ देखि २५ उमेर समूहका ८३ प्रतिशत युवा साक्षर छन् । यी तथ्यांकहरूले शिक्षित युवाहरूको संख्या तीव्ररूपले बढेको देखाए पनि उनीहरूको रोजगारीका लागि सरकारले खासै व्यवस्था गर्न सकेको छैन ।

वस्तुतः युवा शब्दले अथाह शक्ति, साहस, ऊर्जा, अनुसन्धान र आविष्कारको प्रतिनिधित्व गर्छ । जुनसुकै देशको युवाशक्ति गतिशील एवं शक्तिशाली हुन्छ । जुन रचनात्मक काममा प्रयोग गर्ने जिम्मेवारी राष्ट्रिय राजनीतिकहरूको हो । कुनै पनि देशका जागृत एवं क्रियाशील युवाहरू विकासका लागि इन्जिन हुन् । उनीहरू सम्बन्धित देशको भाग्य र भविष्य हुन् भने अपार क्षमता र परिवर्तनका वाहक हुन् । यति मात्र नभई उनीहरू प्रतिभा र सिर्जनशीलताको खानी र अभियन्ता हुन् । उनीहरूमा समयको प्रवाहसँग नयाँ सोच तथा तार्किक चिन्तन शक्ति हुन्छ । जसलाई व्यवहारमा उतार्न सके सबै क्षेत्रको विकास गर्न सहज हुनेछ । यथार्थतः युवाहरूमा विद्यमान ज्ञानलाई सिर्जनशीलतामा रूपान्तरण गर्न गुणस्तरीय शिक्षाले महत्वपूर्ण भूमिका खेल्छ । यस्तो शिक्षाले उनीहरूलाई आ–आफ्नो देश र समाजप्रति जिम्मेवार बनाउने हुनाले समग्र देशको विकासमा ठूलो सघाउ पुग्नेछ ।

आज विश्वका धेरै देशमा भोकमरीको समस्या तीव्ररूपले बढिरहेको छ । नेपाललगायत कुनै पनि देशमा भोकको ज्वालाले नौलो द्वन्द्व सुरु गरेको कुरा ऐतिहासिक तथ्यहरूले प्रमाणित गरेका छन् । विगतमा यहाँ भएको माओवादी द्वन्द्वले पनि उक्त तथ्यलाई केही हदसम्म पुष्टि गर्दछ । युवा समूहमा आत्मविश्वाससहितको जोस र जाँगर हुन्छ । जुन दुरुपयोग गरिएमा त्यसले हिंसात्मक रूप लिन सक्छ । तसर्थ, विद्यमान युवाशक्तिलाई सकारात्मक कामका लागि परिचालन गर्न सक्नुपर्छ । त्यसो गर्न नसकिएमा उक्त शक्तिको आन्तरिक वा बाह्य दुराशय शक्तिबाट दुरुपयोग हुन सक्छ । राजनीतिको सामान्य सिद्धान्तलाई व्यवहारमा उतार्ने हो भने निश्चितरूपमा जनपक्षीय कार्य एवं नैतिक जिम्मेवारीलाई सफलतापूर्वक सोचको खाँचो लोकतान्त्रिक राज्य व्यवस्थामा सदैव रहन्छ । तर नेपालमा हालसम्म पनि यस्तो हुन नसकेकोले यहाँको युवाशक्तिको सही परिचालन गर्न सकिएको छैन । राजनीतिक वितृष्णाको कारण युवाहरूमा द्वन्द्वगत भावना जागृत हुन सक्छ । जसको न्यूनीकरणका लागि यहाँ उत्पादनशील रोजगारीका अवसरहरू प्रचुर मात्रामा सिर्जना गर्नुपर्ने हुन्छ ।

वस्तुतः धेरै युवाहरू स्वदेशमै रोजगारीका अवसरहरू प्राप्त गर्न चाहन्छन् । नेपाल सरकारको नेपाल व्यापार एकीकृत रणनीतिले निर्यातका लागि तुलनात्मक प्राथमिकता क्षेत्रहरू निर्यात सम्भावना भएका बालीहरूमा अलैंची, अदुवा, चिया, औषधीय र सुगन्धित वनस्पति, कपडा, छाला, जुत्ता आदि उल्लेख गरेको छ भने कृषि विकास रणनीतिले मुख्य शृंखला विकासका लागि मकै, दूध र दुग्धजन्य पदार्थहरू तरकारी, दाल र चियालाई प्राथमिकतामा राखेको छ । यहाँ फर्केका र भविष्यमा फर्किने आप्रवासीहरूले आफू सफल हुन सामान्य खेतीमा संलग्न हुन जरुरी छ । भविष्यमा यसो गर्न सके स्वदेशमै रोजगारी प्राप्त हुनेछ र यहाँको समग्र विकासमा केही योगदान प्राप्त हुनेछ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया