Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचोरी भएको २८ वर्षपछि बज्रधर मूर्ति भित्र्याइयो

चोरी भएको २८ वर्षपछि बज्रधर मूर्ति भित्र्याइयो


काठमाडौं । जिल्लाको भीमेश्वर नगरपालिका–२ को प्राचीन नगरी दोलखाबाट २८ वर्षअघि चोरी भएको बज्रधर मूर्ति फेला पारी भित्र्याइएको छ । दोलखा कोर्छे टोलबाट हराएको उक्त मूर्तिलाई २८ वर्षपछि पूजा तथा वैदिक विधिविधान गरी श्रेष्ठ परिवारको कुलायनमा शुक्रबार भित्र्याइएको हो ।

चोरी भएको मूर्ति हङकङमा भेटिएको थियो । हङकङबाट उक्त मूर्ति नेपालमा ल्याई छाउनी म्युजियममा राखिएको थियो । छाउनी म्युजियमबाट बुझी दोलखा ल्याइएको मूर्तिलाई स्थानीयले बाजागाजासहित बजार परिक्रमा गराएर कोर्छेमी टोलको कुलायनमा भित्र्याएका हुन् । भित्र्याउनुअघि मूर्तिलाई गाईको दूधले नुहाएर श्रीपेच पहिराइएको थियो । यो कोर्छेमी (राज) श्रेष्ठ खलकको मूर्ति हो ।

२०५२ साल भदौ १४ गते यो मूर्ति हराएको थियो । स्थानीय डाक्टर सुनिल मास्केका अनुसार गत वर्ष यो मूर्ति हङकङस्थित अन्तर्राष्ट्रिय आर्ट डिलर रोप्सी एन्ड रोप्सीसँग रहेको भनी सम्पदा खोजको अभियान लस्ट आर्ट अफ नेपालले सूचना बाहिर ल्याएको हो । मूर्ति फर्काउन पहल गर्दै आएकी प्राडा एमिलिन स्मिथले यसको उत्पत्ति पहिचानमा प्रामाणिकता देखाएपछि संकलक आर्ट डिलर रोप्सी एन्ड रोप्सीले हस्तान्तरण समारोह आयोजना गरी हङकङस्थित नेपाली महावाणिज्य दूतलाई मूर्ति हस्तान्तरण गरेको थियो ।

नेपाली महावाणिज्य दूतबाट छाउनीको म्युजियममा ल्याइएको थियो । म्युजियमले श्रेष्ठ परिवारलाई बुझाएपछि मूर्ति दोलखा ल्याइएको हो । बज्रधरको ३७ इन्च अग्लो यो मूर्ति दोलखाका राजा उजोत देवको पालामा बनाइएको हो । हरेक वर्षको इन्द्रजात्रामा पाँच दिनसम्म पूजाआजा गरी यो मूर्ति देखाउने गरिन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया