Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभन्सार एजेन्ट चौरमा,भन्सार प्रतिनिधि कार्यालयमा !

भन्सार एजेन्ट चौरमा,भन्सार प्रतिनिधि कार्यालयमा !


विराटनगर । विराटनगर भन्सारले उपलब्ध गराएको भन्सार एजेन्टको कार्यालय भन्सार एजेन्टका प्रतिनिधिहरूले नछोड्दा एजेन्टहरू चौरमा नै बसेर भन्सार जाँचपासको काम गर्न बाध्य भएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत भन्सार एजेन्टले भन्सार प्रतिनिधि राख्न पाउने व्यवस्थाको खारेज गरेका छन् ।

तर विराटनगर भन्सारमा भने भन्सार एजेन्टको भन्दा बढी चल्तीफिर्ती भन्सार एजेन्टले राखेका प्रतिनिधिहरूको छ । उनीहरूले भर्खरै भन्सार एजेन्ट पास गरेर आएकाहरूलाई काम गर्नसमेत दिने गरेका छैनन् । भन्सार विभागबाट भन्सार जाँचपासको अनुुमति पाउँदा पनि विराटनगर भन्सार कार्यालयले आफूहरूलाई कार्यालय सञ्चालनका लागि कुुनै सहजीकरण नगरेको नयाँ भन्सार एजेन्टहरूको गुनासो छ । नयाँ भन्सार एजेन्टले कार्यालय नपाउँदा भन्सारमा रहेको कार्यालयमा भने ३० जना भन्सार प्रतिनिधिको हालीमुहाली छ । सरकारले बजेटमार्फत भन्सारको जाँचपासमा प्रत्यक्ष संलग्न रहेका भन्सार प्रतिनिधि राख्ने व्यवस्था नै खारेज गरेसँगै भन्सार एजेन्टहरूले विराटनगर भन्सारमा रहेका भन्सार प्रतिनिधिलाई तत्काल हटाउन प्रशासन समक्ष मांग गर्न थालेका छन् ।

सरकाले भन्सार प्रतिनिधिको व्यवस्था खारेज गरे पनि विराटनगर भन्सारको कमजोर प्रशासनिक कार्यशैलीका कारण तिनै खारेजीमा परेका भन्सार प्रतिनिधिहरू नै हाबी हुुँदै गएको भन्सार जाँचपासमा संलग्न एजेन्टहरूको गुनासो छ । विगतमा सरकारले ऐनमा भन्सार प्रतिनिधिको व्यवस्था गरेको थियो । जसअनुसार एक जना भन्सार एजेन्टले बढीमा दुई जनासम्म भन्सार प्रतिनिधि राख्न सक्थे । तिनै भन्सार प्रतिनिधिले मुलुकभरिका जुनसुकै भन्सार नाकामा पनि भन्सार प्रतिनिधिको रूपमा दोस्रो तथा तेस्रो मुलुकबाट आयात निर्यात भई आउने वस्तुको भन्सार जाँचपास गरी सामान छुटाउने अख्तियारी प्राप्त गरेका थिए । तर सरकारले बजेटमार्फत भन्सार एजेन्ट प्रतिनिधिको व्यवस्था ऐनमा नै उल्लेख गरी खारेज गरिदिएको छ ।

अर्थ मन्त्रालयको निर्देशनअनुसार नै विराटनगर भन्सारले पनि भन्सार प्रतिनिधिहरूले विगतमा प्रयोग गर्दै आएको भन्सार जाँचपासका लागि प्रयोग गरिने लग इन नम्बर रोक्का गरिदिएको छ । तर अझै पनि भन्सार प्रतिनिधिहरू सक्रिय भई भन्सार जाँचपासमा संलग्न छन् । अब भन्सार विभागले नियुक्ति गरेको भन्सार एजेन्टले मात्र मुलुकभरिको भन्सार कार्यालयमा दोस्रो तथा तेस्रो मुलुकबाट हुने आयात तथा निर्यातको व्यापारिक सामान छुटाउने र भन्सार जाँचपासमा सहजीकरण गर्ने जिम्मेवारी पाउने व्यवस्थाको समेत विराटनगर भन्सारबाट खिल्ली उडाउन थालेको छ ।

भन्सार विभागले केही समय अगाडि लोकसेवा आयोगमार्फत लिखित तथा मौखिक परीक्षा लिएर छ सयभन्दा बढी भन्सार एजेन्ट नियुक्त गरेको थियो । सोही परीक्षा पास गरेर विराटनगर भन्सारमा मात्रै करिब ४० जना भन्सार एजेन्टले भन्सार जाँचपासका लागि अनुमति पाएका छन् । अहिले ती भन्सार एजेन्टलाई मुलुकभरिका भन्सार कार्यालयमा भन्सार जाँचपासको काम गर्न पाउने गरी ऐनमा नै उल्लेख गरेर सो ब्यवस्था गरिएको एक भन्सार एजेन्टले बताए ।

केही समय अगाडि राजनीतिक आस्थाका आधारमा विराटनगर भन्सारका तत्कालीन प्रमुख भन्सार अधिकृत तारा सापकोटाको रोहवरमा विराटनगर भन्सार कार्यालयमा भन्सार प्रतिनिधिका रूपमा कार्यरत नवलप्रसाद उपाध्यायको अध्यक्षतामा स्वतन्त्र भन्सार प्रतिनिधि संगठन नै स्थापना गरिएको थियो । अहिले उक्त संगठनमार्फत नै भन्सार प्रतिनिधिहरूले विराटनगर भन्सार प्रशासनलाई दबाब दिन थालेका छन् । सोही दबाबका कारण भन्सार प्रशासनसमेत निरीह बनेर लोकसेवा आयोग पास गरी आएका नयाँ भन्सार एजेन्टलाई कार्यालय सञ्चालनका लागि कुनै ब्यवस्था गर्न नसकेको बताइन्छ । विराटनगर भन्सारका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालसँग यसबारे बुझ्न खोज्दा उनले बताउन चाहेनन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया