Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्वदेश फर्किन चाहन्छन् विदेशका नेपाली उच्चस्तरीय समिति मौन

स्वदेश फर्किन चाहन्छन् विदेशका नेपाली उच्चस्तरीय समिति मौन


काठमाण्डौं,वैशाख ३

विदेशमा रहेका अधिकांश नेपालीले स्वदेश फर्किने इच्छा देखाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार नोवल कोरोना भाइरस (कोभिड १९) का कारण विभिन्न समस्यमा परेका विदेशमा रहेका नेपालीहरु स्वदेश फर्किन चाहेका छन् । एनआरएनए केन्द्रीय महासचिव हेमराज शर्माले गत आइतबारदेखि सुरु गरेको चौबीस घण्टे हेल्पलाइनमा फोन गर्नेमध्ये ७७ प्रतिशतले नेपाल फर्किन चाहेको र त्यसको लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेका हुन् ।

‘हटलाइनमा प्राप्त सूचनाअनुसार ७७ प्रतिशत गैरआवासीय नेपालीले स्वदेश फर्किन चाहेका छन्’, उनले भने, ‘११ प्रतिशतले विदेश जानको लागि आवश्यक प्रक्रिया पूरा गरिदिन आग्रह गरेका छन् । अन्य समस्या हुनेमा १२ प्रतिशत गैरआवासीय नेपाली छन् ।’संघमा प्राप्त फोनकलमा सबैभन्दा धेरै समस्या मध्यपूर्वका गैरआवासीय नेपालीमा रहेको पाइएको छ । त्यहाँ रहेका अधिकांश नेपालीले नेपाल फर्किन चाहना राखेको संघले जनाएको छ ।

मध्यपूर्वमा धेरै नेपालीको जागिर छुटेको वा कम्पनीबाट राजीनामा दिएर नेपाल जानको लागि तयारी अवस्थामा रहेको देखिएको छ । गैरआवासीय नेपालीका बारेमा नेपालमा रहेका अभिभावकहरु धेरै चिन्तित देखिएका छन् । तीमध्ये धेरैले विदेशमा रहेको आफ्नो छोराछोरीलाई तत्काल नेपाल फर्काउन चाहेको र त्यसको लागि सहजीकरण गरिदिन संघसमक्ष आग्रह गरेका छन् ।

सोमबार साँझसम्म संघलाई प्राप्त टेलिफोनमध्ये भारतको मुम्बई, हैदरावाद, नैनिताल, हरियाना, नयाँ दिल्लीमा नेपालीको ठूलो समूह खान बस्नसमेत नपाएर अलपत्र परेका छन् ।युएई, भारत, मलेसिया, साउदी अरब, दक्षिण कोरिया, मोजाम्बिक, फिनल्यान्ड, अमेरिका, युकेलगायतका देशमा बसोबास गर्ने गैरआवासीय नेपालीले संघसमक्ष आ–आफ्ना समस्याको बारेमा जानकारी गराएको संघले जनाएको छ । संघले कोरोना भाइरसको कारण विदेशमा अलपत्र परेका, समस्यामा परेका, स्वास्थ्यमा समस्या देखापरेकालगायतका समस्या भएमा टेलिफोनमार्फत जानकारी गराउने उद्देश्यका लागि हेल्पलाइनको व्यवस्था गरेको हो ।

उनले विदेशबाट छुट्टीमा स्वदेश फर्किएका धेरैको भिसा सकिएपछि तत्काल विदेश जाने व्यवस्था गरिदिनसमेत उनीहरुले संघसमक्ष आग्रह गरेको बताए ।यसैबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने जिम्मेवारी भने कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको रहेको बताएको छ । समिति उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले, गृहमन्त्री राम बहादुर थापालगायत ११ सदस्यीय टोली रहेका छन् ।

मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले विदेशमा रहेका नेपालीहरु फर्किन चाहेको बारेमा मन्त्रालय समेत जानकार रहेको बताए । ‘विदेशमा रहेका नेपालीहरु आफूहरु फर्किन चाहेको भन्दै मन्त्रालयमा सम्पर्क गरेका छन्’, उनले भने, ‘हामीले प्राप्त गरेको जानकारीहरु समितिलाई जानकारी गराएका छौं । मन्त्रालयले भन्दा पनि सरकारले नै यसको स्वदेश फर्किने विषयमा सरकारले नै बन्दोबस्ती गर्नेछ अर्थात् निर्णय गर्नेछ ।’उनले स्वदेश फर्किन चाहने नेपालीलाई स्वदेश फर्काउने बताए ।

चीनबाट जसरी नेपाली नागरिक अर्थात् विद्यार्थीहरु ल्याए सोहीअनुरुप नै सरकारले विदेश गएका आफ्ना नागरिक ल्याउन सक्छ’, उनले भने, ‘त्यसैले मन्त्रालयको भूमिका सो विषयमा कमी देखिन्छ भने समिति र सरकारमै भर पर्नुपर्छ ।’

यस्तै समितिका सदस्य तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले विदेशमा रहेका नेपाली स्वदेश फर्किन चाहन्छन् भने फर्किन दिने बताए । नेपाली कसरी स्वदेश फर्काउने, कहिले फर्काउने, कतिलाई ल्याउने भन्ने लगायतका विषयमा भने सदस्य बिडारीले केही बोलेनन् ।

कोरोना भाइरसको कारण विभिन्न मुलुकमा रहेका नेपालीहरु बेरोजगारी, बेतलबी तथा स्वास्थ्यमा समस्या भएको पाइएको छ । उनीहरु स्वदेश फर्किन चाहे पनि हालसम्म सरकारले विदेशमा रहेका नेपाली ल्याउने विषयमा कुनै निर्णय गरेको छैन ।

यता परराष्ट् मन्त्रालयले भने संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (बेलायत), अष्ट्रेलिया, पोर्चुगल, स्विट्जरल्याण्ड, बेल्जियम, जापान, युएई, कुवेत, साउदी अरब, मलेसिया, बहराइन र कतारमा रहेका दुई सय नौ जना नेपालीहरुलाई कोरोना भाइरसको प्रत्यक्ष असर परेको बताएको छ । दुई सय नौ जनामध्ये बेलायतमा दुई जना र अमेरिकामा एक जना नेपाली मुलुका अमेरिकी नागरिकसहित चार जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या भने एक सय ३४ जना रहेको बताइएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x