Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारग्रिडसम्बन्धी भिजनको प्रभावकारी कार्यान्वयनका लागि गोलमेच बैठक

ग्रिडसम्बन्धी भिजनको प्रभावकारी कार्यान्वयनका लागि गोलमेच बैठक


काठमाडौ । नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड)सम्बन्धी भिजनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पर्ने लगानी प्राथमिकता र अनुकूल नीतिहरूबारे छलफल गर्न गोलमेच बैठक सम्पन्न गरिएको छ ।

विश्व बैंक र अर्थ मन्त्रालयले शुक्रबार काठमाडौंमा एक उच्चस्तरीय गोलमेच (राउन्डटेबल) बैठक आयोजना गरेको हो । कार्यक्रममा सरकार र विकास साझेदारहरूका साथै नागरिक समाज, निजी क्षेत्र, युवा समूह र प्रबुद्ध वर्गका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सो अवसरमा सहभागी प्रतिनिधिहरूले नेपाल सरकार र विकास साझेदारहरूबाट असोज २०७८ मा ग्रिडसम्बन्धी ‘काठमाडौं घोषणापत्र’ संयुक्तरूपमा अनुमोदन गरिएयता भएका कार्यान्वयन प्रयासहरूको लेखाजोखा गरेका थिए । नेपालले राष्ट्रिय विकासको दूरदृष्टिका रूपमा हरित, उत्थानशील र समावेशी विकास (ग्रिड)सम्बन्धी अवधारणालाई औपचारिकरूपमै अंगीकार गरेको मुख्यसचिव शंकरदास बैरागीले बताए । विभिन्न जोखिमहरूका बीच यो अवधारणा समृद्धि, दिगो आर्थिक वृद्धि, राम्रा रोजगारी र जीविकोपार्जनका अवसर एवं उत्थानशीलताको एउटा साधन बन्न सक्ने उनको भनाइ थियो ।

उक्त गोलमेच बैठकले सरकारको मस्यौदा ग्रिड रणनीतिक कार्ययोजनामा उल्लेखित प्राथमिकता प्राप्त कार्यहरूको समेत समीक्षा गरेको थियो । ती प्राथमिकता प्राप्त कार्यहरूमा जमिन, जल र वनलाई थप उत्पादनशील, दिगो र एकीकृतरूपमा व्यवस्थापन गर्ने, मानिसहरूलाई नयाँ सिप र उत्थानशील जीविकोपार्जनबाट सुसज्जित बनाउने, सहरी विकासलाई हरित बनाउने, खानेपानी तथा सरसफाइको पहुँच र प्रदूषण तथा फोहोरमैला व्यवस्थापन अभिवृद्धि गर्ने, नवीकरणीय ऊर्जा विस्तार गर्ने, यातायात प्रणालीको दिगोपना र उत्थानशीलता बढाउने, विपद् जोखिम व्यवस्थापन र वित्तीय लगानी सुदृढ गर्ने र विपद्बाट आइपर्ने आघातहरूप्रति अनुकूलन हुन सामाजिक सुरक्षालाई सबल बनाउने रहेका छन् ।

‘हरित, उत्थानशील र समावेशी विकासले आयस्रोत बढाउने, सबैका लागि अवसरहरू सुधार गर्ने र प्रकृतिसँगको सामन्जस्यतामा वृद्धि हासिल गर्ने कार्य गर्छ’, दक्षिण एसिया क्षेत्रका लागि विश्व बैंकका उपाध्यक्ष मार्टिन रेजरले भने, ‘ग्रिडसम्बन्धी प्राथमिकताहरूलाई साकार पार्न विश्व बैंकलगायत अन्य विकास साझेदारहरू पूर्णरूपमा प्रतिबद्ध छौं र हामी नेपालमा यसको प्रभावकारी नतिजाहरू हेर्न उत्सुक छौं ।’ नेपालको मस्यौदा ग्रिड रणनीतिक कार्ययोजनाले ग्रिड विकासको मार्गतर्फ जान अर्थतन्त्रव्यापी परिवर्तनको व्यवस्था गर्नुका साथै तयारी अवस्थामा रहेका वित्तीय प्रावधानसहितको उच्च प्राथमिकताका लगानी र प्राथमिकता प्राप्त नीतिगत प्रतिबद्धताहरू निर्दिष्ट गरेको छ । रणनीतिक कार्ययोजनाका प्राथमिकताहरू नेपालका प्रमुख विकास, जलवायु, वातावरणीय र क्षेत्रगत रणनीतिहरूबाट साभार गरिएका छन् । यसका वित्तीय स्रोतहरूमा नेपाल सरकारको सार्वजनिक खर्च, वैदेशिक विकास सहायता, कार्बन वित्तजस्ता नवीनतम स्रोत र निजी क्षेत्र लगानी रहेका छन् ।

उक्त बैठकले नेपाल सरकारको नेतृत्वमा रहेको ग्रिड साझेदारीलाई थप मजबुत बनाएको बताइएको छ । यसका २० वटा विकास साझेदार छन् । साथै, उक्त बैठक आसन्न रणनीतिक कार्ययोजनाका सम्बन्धमा प्रदेश तथा स्थानीय सरकार र अन्य सरोकारवालाहरूसँग परामर्श सुरू गर्न सरकारका लागि एउटा कोशेढुंगा बनेको बताइएको छ । सो रणनीतिक कार्ययोजनालाई थप परिष्कृत गरी यसै वर्ष अन्तिमरूप दिने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया