बजेट अभावले खानेपानी आयोजना अलपत्र
पर्वत । जिल्लामा यसैवर्ष निर्माण सम्पन्न हुनुपर्ने एक दर्जनबढी खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन् । सङ्घ र प्रदेशबाट चालु आर्थिक वर्षका लागि विनियोजन भएको बजेट खानेपानी कार्यालयमा प्राप्त नहुँदा निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेका आयोजनाको काम रोकिएका हुन् ।
खानेपानीको चरम समस्या बेहोरिरहेका विहादी गाउँपालिकाको रानीपानी, बर्राचौर र शालिग्राममा निर्माणाधीन खानेपानी आयोजनाका लागि बजेट अभाव हुँदा आयोजनाको काम रोकिएको हो । निर्माण बीचमै अलपत्र परेपछि यहाँका स्थानीयले यसवर्ष पनि खानेपानी उपभोग गर्न नपाउने भएका छन् ।
विहादी गाउँपालिकाका पूर्व अध्यक्ष कमल भुषालले आयोजना सम्पन्नको अन्तिम चरणमा बजेटको अभाव हुँदा खानेपानीको समस्या समाधान हुन नसकेको राससलाई बताए । उनले खानेपानी जस्तो संवेदनशील क्षेत्रमा सरकारले बजेट उपलब्ध गराउन बेवास्ता गरेको भन्दै तत्काल रकम उपलब्ध भए विहादीमा लिप्टिङ खानेपानी आयोजना सम्पन्न हुने बताए ।
रकमको अभावका कारण निर्माणाधीन आयोजना पलपत्र परेका छन् भने विहादीको शालिग्राममा नयाँ निर्माण गरिएको ट्याङ्कीसमेत चर्किएर भत्कने जोखिम बढेको स्थानीयको भनाइ छ ।
खानेपानी आयोजनाका लागि सङ्घीय सरकारबाट बजेट उपलब्ध नहुँदा रकम उपलब्ध गराउन नसकिएको सङ्घीय खानेपानी तथा सरसफाइ आयोजना पोखराका प्रमुख कुलप्रसाल पौडेलले जानकारी दिए । “पर्वतमा साना र ठूला गरी झण्डै दुई दर्जन खानेपानीका आयोजना संघ र प्रदेश सरकारमार्फत निर्माणाधीन अवस्थामा छन्”, उनले भने, “आयोजनामध्ये लिफ्ट खानेपानी रानीपानी, बर्राचौर, शालिग्राम, तिलाहार र दुर्लुङका आयोजना सङ्घ सरकारअन्तर्गत सञ्चालित छन् ।
बजेट अभावले यी सबै आयोजनाको काम तीन महिनादेखि रोकिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पर्वत इकाइले जनाएको छ । अन्तिम चौमासिकका लागि बजेट उपलब्ध नहुँदा आयोजनाका काम प्रभावित भएको कार्यालयका इन्जिनियर शिवशङ्कर शाहले बताए । उनका अनुसार हाल जिल्लाभर रू. तीन करोडदेखि २० करोड लागत अनुमान गरिएका ७६ खानेपानी आयोजना छन् ।
“सबै आयोजना सम्पन्न गर्न चालु वर्षको दररेटअनुसार करिब रू. तीन अर्ब बजेट आवश्यक पर्दछ । मन्त्रालयबाट आउने बजेट बर्सेनि पाँच प्रतिशत भन्दा बढ्न सकेको छैन”, इन्जिनियर शाहले भने । उनका अनुसार सबै आयोजना आर्थिक वर्ष २०७५र७६ मा सम्पन्न हुनुपर्ने हो । आयोजनाको लागत अनुमानका आधारमा काम गर्न बर्सेनि कम्तीमा रू. ५० करोड बजेट आवश्यक पर्ने भन्दै चालु वर्ष झण्डै रू. १३ करोड मात्रै अख्तियारी आएको शाहले बताए ।
“यस आवमा आवश्यक बजेटको पाँच प्रतिशत बजेट पनि छैन,” उनले भने, “हामीले सबै काम द्रुतगतिमा गर्छौँ भनेर मात्रै भएन । रकम अभावले काम रोकिएका छन् । सबै आयोजना पाइपलाइनमै छन् ।” बजेट अभावका कारण काम अघि बढाउन नसक्दा थुप्रै आयोजना सम्पन्न नुहँदै भग्नावशेषमा परिणत भएका शाहको भनाइ थियो । फिल्डमा खटिने कर्मचारीलाई दैनिक भत्ता र तलब दिन नसकिएको उनले बताए ।
असार मसान्तसम्म निर्माण सम्पन्न हुने आयोजना बजेट अभावले अलपत्र परेकाले बजेट उपलब्ध गराउन प्रयास भइरहेको सङ्घीय सांसद पदम गिरीले बताए । “खानेपानी नागरिकको आधारभूत आवश्यकता हो । खानेपानी आयोजनामा बजेट अभाव देखाएर काम रोकिनु दुःखद् छ”, उनले भने । समयमा नै बजेट उपलब्ध नगराउँदा आयोजनाको निर्माण प्रभावित भएको उनको भनाइ थियो ।
क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश
ताजा अपडेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया