Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबहुबली र सृष्टि सिमेन्ट भारतमा निर्यात सुरु

बहुबली र सृष्टि सिमेन्ट भारतमा निर्यात सुरु


काठमाडौं । बालाजी सिमेन्ट इन्डस्ट्रिजले उत्पादन गरेको बहुबली र सृष्टि ब्राण्डका पीपीसी सिमेन्ट भारतमा निर्यात गर्न सुरु गरिएको छ । भारत सरकारको ब्युरो अफ इन्डियन स्ट्यान्डर्स (बीआईएस) ले बालाजी सिमेन्टको उत्पादनलाई गुणस्तरसम्बन्धी इन्डियन स्ट्यान्डर्स इन्स्टिच्युट (आईएसआई) चिह्न दिएलगत्तै बालाजी सिमेन्टको उत्पादन बहुबली र सृष्टिको भारत निर्यात सुरु गरिएको हो ।

पहिलो चरणमा भारत उत्तरप्रदेश राज्यको सिद्धार्थनगर जिल्लास्थित क्लासिक इन्टरप्राइजेज डिलरलाई ४२ टन सिमेन्ट निर्यात गरेको बालाजी सिमेन्ट इन्डिस्ट्रिजका प्रबन्ध निर्देशक ऋषिकेश अग्रवालले जानकारी दिए । उनका अनुसार सोमबार दुई ट्रकमा प्रतिट्रक २१ टनका दरले सिमेन्ट भारततर्फ निर्यात सुरु गरिएको हो । कपिलवस्तुको कृष्णनगर नाका हुँदै पहिलोपटक सिमेन्ट निर्यात हुन लागेको उनले बताए । बिस्तारै निर्यात परिमाण बढाउँदै जाने उद्योग व्यवस्थापनको लक्ष्य रहेको छ । भारतमा आईएसआई चिह्न नलागेका सिमेन्ट आयात गर्न नपाइने व्यवस्था रहेको छ भने नेपालबाट पनि एनएस चिह्न नभएका सिमेन्ट निर्यात गर्न पाइँदैन । ‘हामीले यसै महिना आईएसआई चिह्न पाएपछि सिमेन्ट निर्यात सुरु गरेका हौं’, अग्रवालले भने ।

सरकारले सिमेन्ट छडलगायतका ३० भन्दा बढी वस्तुमा निर्यात अनुदान दिने घोषणा गरेको छ । ५० करोडभन्दा बढीको स्वदेशी उत्पादन विदेश निर्यात गर्ने उद्योगलाई आठ प्रतिशत अनुदान दिने सरकारको नीतिले पनि सिमेन्ट उद्योगीहरूलाई धेरै राहत भएको उद्योगका संस्थापक सन्दिपकुमार गाडियाले बताए । ‘वर्तमान असहज एंवम् आर्थिक मन्दीको अवस्थामा सिमेन्ट भारततर्फ निर्यात गर्ने कार्य यस क्षेत्रबाट शुभारम्भ गर्न पाउँदा आशाको दियो जागेको छ’, उनले भने, ‘हाम्रो सिमेन्ट उद्योग स्थापनाको लक्ष्य नै भारत निर्यात गर्ने सोचसहितको थियो । सोच आज पूरा भएको छ, हामी सफल भएका छौं ।’

सरकारले वस्तु नै तोकेर निर्यातमा अनुदानको घोषणाले नै निर्यात सहज भएको उनको भनाइ छ । ‘हामी चाहन्छौं राज्यले अझै उद्योगमैत्री, निर्यातमैत्री नीतिहरू ल्याउनु जरुरी रहेको छ’, उनले भने, ‘आजको दिनमा निर्यातको वातावरण बनाउने सरकारलाई हामी धन्यवाद दिन चाहन्छौं ।’ कम्पनीको सिमेन्ट निर्यातले भारतसँगको व्यापार घाटालाई केही कम गर्नेमा उनको विश्वास छ । ‘हामीले जति धेरै सामान भारतलगायत अन्यत्र निर्यात गर्न सक्छौं त्यति धेरै व्यापार घाटामा कमी आउँछ । त्यसैले निर्यातलाई दिगो बनाउने वातावरण सरकारले बनाइरहनु पर्छ भन्ने हाम्रो भनाइ हो’, उनले भने ।

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं.६ मा अवस्थित बालाजी सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता एक हजार छ सय टन रहेको छ । उद्योगले बहुबली र सृष्टि ब्राण्डका ओपीसी ४३ ग्रेड र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । दुवै ब्राण्डका सिमेन्टलाई नेपाल गुणस्तर विभागले एनएस र भारत सरकार गुणस्तर विभागले ब्युरो अफ इन्डियन स्ट्यान्डर्स (बिआईएस) प्रदान गरेको छ । उद्योगमा जर्मनको लोच्से कम्पनीको भीआरएम प्रविधि जडान छ । जर्मनको यो प्रविधि सिमेन्ट उद्योगहरूका लागि विश्वकै उच्चस्तरीय कम्पनी हो । बालाजी सिमेन्टको बजार नेपालको पश्चिम, सुदूरपश्चिम र कर्णाली प्रदेशमा अत्यधिक रहेको उद्योगको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया