Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशसगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल घट्यो

सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल घट्यो


सोलुखुम्बु । केही समय अघिसम्म पर्यटकले खचाखच भरिएको सगरमाथा क्षेत्र सिजन सकिएसँगै अहिले सुनसान बन्दै गएको छ । सिजनमा भरिभराउ हुने यहाँका विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो तथा दृश्यावलोकन गर्ने स्थलहरू हाल सुनसान जस्तै छन् ।

सिजनमा एकैपटक धेरै पर्यटकको आगमन हुँदा सेवा दिनसमेत धौधौ परेका यहाँका होटल व्यवसायीहरूलाई यतिखेर फुर्सद मिलेको स्थानीय याङजी शेर्पाले बताइन् । विदेशी पर्यटक, पर्यटकको भारी बोक्ने चौपाया तथा भरियाको ताँतीले सिजनमा खुम्बु क्षेत्र भरिभराउ हुने गरेको छ । अहिले सीमित पर्यटक मात्रै भेटिने गरेको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए । सिजनमा घुम्न जाने पर्यटकलाई सेवा दिने यहाँका अधिकांश व्यवसायी तथा होटल सञ्चालकहरू यतिबेला भने आफँै घुम्न बाहिर निस्केका छन् । यस क्षेत्रका नागरिकहरूको मुख्य आम्दानीको स्रोत नै पर्यटन भएकाले सिजन सकिएसँगै उनीहरू फुर्सदिला बनेका हुन् । सिजनमा कडा मेहनत गर्ने र ‘अफसिजन’मा रमाइलो, घुमफिर गर्ने यहाँका नागरिकहरूको विशेषता नै बनेको छ । खुम्बुमा वर्षको दुई सिजन फागुन अन्तिमदेखि जेठ मध्यसम्म र असोजदेखि मंसिरसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।

सिजनमा खुम्बुमा दैनिक सात सय जनासम्म पर्यटक भित्रिएको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए । पर्यटकको अवागमन न्यून भएसँगै निकुञ्ज चेकपोस्टका कर्मचारीहरू पनि केही फुर्सदिला बनेको निकुञ्जको कार्यालयले जनाएको छ ।

लुक्ला विमानस्थललाई पनि फुर्सद
नेपालको घरेलु विमानस्थलमध्ये सबैभन्दा बढी व्यस्त रहने विमानस्थलको सूचीमा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला पर्छ । लुक्ला विमानस्थलमा दैनिक १०० को हाराहारीमा उडान तथा अवतरण हुने गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथासहितको हिमाल आरोहण गर्ने यात्रुले प्रयोग गर्ने यो विमानस्थलमा यात्रुको चाप पनि उस्तै हुन्छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया