Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकतारमा नेपालीसहितका आप्रवासी श्रमिकहरूलाई गैरकानुनी ढङ्गमा निष्काशन

कतारमा नेपालीसहितका आप्रवासी श्रमिकहरूलाई गैरकानुनी ढङ्गमा निष्काशन


काठमाण्डौं,वैशाख ४
कतारमा काम गर्न गएका नेपालसहितका अन्य मुलुकका आप्रवासी श्रमिकहरूलाई कोरोना भाइरसको महामारीको समयमा गैरकानुनी ढङ्गमा निष्काशन गरिएको पाइएको छ । एम्नेस्टी इन्टरनेसनलका अनुसार कोभिड–१९ परीक्षण गर्न लागिएको भन्दै कतारी अधिकारीहरूले नेपालीसहित सयौं आप्रवासी श्रमिकहरूलाई आफ्नो नियन्त्रणमा लिएर स्वेच्छाचारी ढङ्गमा निष्काशन गरेको पाइएको हो । एम्नेस्टीले गत फाल्गुन २९ र ३० मा कतार प्रहरीले गिरफ्तार गरेको मध्येका २० जना नेपाली श्रमिकहरूसँग अन्तर्वार्ता लिएको थियो ।

प्रहरीले प्राय सबैलाई कोभिड–१९ को परीक्षणका लागि लगिन लागेको तथा परीक्षण सकिएपछि उनीहरूलाई आ–आफ्नो आवासमा फर्काइदिने भनेको थियो । तर, उनीहरूलाई हिरासत केन्द्रहरूमा लगेर राखी धेरै दिनपछि नेपाल पठाइदिएको थियो । एम्नेस्टी इन्टरनेशनलका ग्लोबल इस्युज्का निर्देशक स्टिभ ककबर्नका अनुसार उनीहरूले आफूलाई किन यस्तो व्यवहार गरिएको थियो भन्ने कुराको स्पष्टीकरण पाएका छैनन् । न त उनीहरूले आफ्नो हिरासत र निष्काशनका विरुद्ध कुनै उजुरी नै गर्न सकेका थिए । अमानवीय हिरासतको अवस्थामा निकै दिन बिताएपछि धेरैजसोलाई नेपाल जाने विमानमा राख्नु अघि उनीहरूलाई आफ्नो सर सामान ल्याउने समेत अवसर दिइएको थिएन ।

कतारी प्रहरीले नेपालीसहित सयौँ आप्रवासी कामदारहरूलाई गत फाल्गनु २९ र ३० गते घेरा हालेर नियन्त्रणमा लिएको थियो । प्रकाउ गरेका उनीहरूलाई प्रहरीले दोहाको औद्योगिक क्षेत्र, बारवा सहर र लेबर सहरसमेत विभिन्न भागहरूमा उनीहरूलाई हिरासतमा राख्यो । आफ्नो आवासबाट बाहिर सब्जी खाद्यान्नलगायतका सरसामान किनमेल गर्न गएको बेला उनीहरूलाई गिरफ्तार गरिएको थियो । कतारी प्रहरीले आप्रवासी श्रमिकहरूलाई हिरातमा लिएपछि उनीहरूको कागजात र मोबाइल फोन जफत गर्नुका साथै फोटो खिचेर औँठाको छाप पनि लिइयो । श्रमिकहरूलाई विभिन्न देशका सयौँ अन्य मानिसहरूसँगै अमानवीय अवस्थामा हिरासतमा राखिएको इम्नेष्टी इन्टरनेश्नलले जनाएको छ । उनीहरूलाई खाट र ओड्ने ओछ्याउने नभएको एकदमै भीडभाडयुक्त कोठाहरूमा पर्याप्त पानी र खानासमेत नदिएर राखिएको थियो ।
एम्नेस्टी इन्टरनेसनलका अनुसार अन्तर्वार्ता लिइएका २० जनामा तीन जनाले मात्रै हिरासतमा रहेको बेला उनीहरूको शरीरको तापक्रम मापन गरिएको बताए ।

हिरासतमा राखेको केही दिनपछि मात्रै केही कामदारहरूलाई कतारी अधिकारीहरूले देशबाट निष्काशन गरिन लागेको बताएका थिए । तर केहीले भने एयरपोर्ट लगिँदै गर्दा मात्रै आफूलाई निष्काशन गर्न लागेको थाह पाए । उनीहरूका अनुसार कतिलाई चैत्र २ मा निष्काशन गरिएको थियो भने अन्यलाई चैत्र ६ मा निष्काशन गरिएको थियो । सबैजसो श्रमिकहरूले हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा विमान चढ्नुअघि र विमानबाट उत्रिएपछि काठमाडौँमा उनीहरूको शरीरको तापक्रम लिइएको बताए । प्रहरीले उनीहरूलाई यदि कुनै गुनासो गरे वा त्यो अवस्थालाई चुनौती दिने कुनै कार्य गरेमा उनीहरूलाई फौजदारी अभियोग लगाइदिने तथा लामो समयसम्म हिरासतमा राख्ने धम्की दिएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।

एम्नेस्टी इन्टरनेसनलसंगको कुराकानीमा २० जनामध्ये दुई जनालाई मात्र आफूले काम गरेको कम्पनीले सम्पर्क गरी बाँकी रहेको पारिश्रमिक चुक्ता गर्ने जनाएको बताए । एकजना श्रमिकले भने आफूलाई कम्पनीले पैसा दिएको तर हिरासतमा रहेको बेला प्रहरीले ‘सुरक्षाका लागि’ भन्दै लगेको र पछि फिर्ता नगरेको बताए । अर्का श्रमिकले भने आफूले काम गरेको कम्पनीले पैसा पठाउनका लागि बैंक खाता आवश्यक पर्ने भन्दै उनलाई एउटा बैंकमा खाता खोल्नू भनी भनेको बताए । सबै श्रमिकहरूले आफूले पाउने पारिश्रमिक र काम छाड्दा पाउने अन्य सुविधाहरू नलिइकन कतार छाडेका थिए ।

एम्नेस्टी इन्टरनेसनलका अनुसार कतार सरकारले कोभिड–१९ प्रतिकार्यको हिस्साअन्तर्गत औद्योगिक क्षेत्रमा निरीक्षण गर्ने क्रममा अधिकारीहरूले गैरकानुनी र अनैतिक गतिविधिमा संलग्न व्यक्तिहरू फेला पारेकोले उनीहरूलाई निष्काशन गरेको प्रतिक्रिया दिएको छ । तर, एम्नेस्टी इन्टरनेसनलले अन्तर्वार्ता गरेमध्यका १८ जनाले उनीहरूलाई लगाइएको कुनै पनि आरोप वा अभियोगका बारेमा आफू जानकार नभएको बताएका छन् । दुई जनाले भने अरेबिक भाषा बोल्ने उनीहरूसँगै हिरासतमा रहेका अन्य श्रमिकहरूले उनीहरूलाई रक्सी आपूर्ति गरेको आरोप लगाएको एम्नेस्टीलाई बताए ।

एम्नेस्टी इन्टरनेसलले श्रमिकहरूलाई दिइएको कतारी भाषामा लेखिएको कागजातहरूलाई समीक्षासमेत गरेको जनाएको छ । उनीहरूलाई फौजदारी अपराधको आरोप लगाएको कुनै सङ्केत नगर्ने एम्नेस्टी इन्टरनेसलको भनाइ छ । साथै अन्तर्वार्ता लिइएका यी कुनै पनि व्यक्तिहरूलाई अन्तर्रा्ष्ट्रिय मानवअधिकार कानुनले प्रत्याभूत गरेअनुसार उनीहरूलाई हिरासतमा राखिएको र निष्काशन गरिएको विषयको वैधानिकतालाई चुनौती गर्ने अवसरसमेत उपलब्ध गराइएको थिएन ।

हिरासतमा लिइएको र निष्काशन गर्ने धम्की दिइएको कुनै पनि आप्रवासी श्रमिकलाई यसो गर्नाको कारण खुलाउन र उनीहरूलाई त्यसको प्रतिवाद गर्ने अवसर दिन एम्नेस्टी इन्टरनेसनलले कतारी अधिकारीहरूलाई आग्रह समेत गरेको छ । कतारले अधिकार उल्लङ्न भोगेका श्रमिकहरूलाई प्रभावकारी उपचार र परिपूरण पनि सुनिश्चत गर्नुपर्ने एम्नेस्टी इन्टरनेसनले जनाएको छ । साथै कतारी अधिकारीहरूले कोभिड–१९ को सङ्कटका क्रममा आप्रवासी श्रमिकहरूको स्वास्थ्यको अधिकारलाई पूर्णरूपमा संरक्षण गरेको सुनिश्चत गर्नु पर्ने एम्नेस्टी इन्टरनेसनलको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x