Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभारतले कार्गो रेललाई सञ्चालन अनुुमति नदिँदा रेलवे सेवा प्रभावित

भारतले कार्गो रेललाई सञ्चालन अनुुमति नदिँदा रेलवे सेवा प्रभावित


विराटनगर । भारतीय रेल विभागले कोलकाताको हल्दियादेखि जोगवनी विराटनगर भन्सार आइसीपीसम्मको रेलवे सञ्चालन अनुुमति नदिएपछि कार्गो रेल सेवा प्रभावित भएको छ । गत जेठ १८ गते भारत भ्रमणमा रहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले भारतको बथनाहादेखि विराटनगर भन्सारको आइसीपी यार्डसम्मको रेलवे सेवा बडो तामझामका साथ संयुक्तरूपमा उद्घाटन गरेका थिए ।

उद्घाटनको दिन विराटनगर आएर फर्केको कार्गो रेल त्यसपछि भने आएको छैन । पहिलोपटक औद्योगिक कच्चा पदार्थ बोकेर आएको कार्गाे रेल भन्सारको आइसीपी यार्डमा दुई दिन लगाएर सामान झारेर जेग १९ गते भारततर्फ फर्किएको थियो । दोश्रो पटक कच्चा पदार्थ बोकेर मालवाहक रेल भन्सारको आइसीपीसम्म नआएको विराटनगर भन्सार कार्यालयका कर्मचारीले जानकारी दिए । भारत सरकारले रेलसेवा उद्घाटनपछि नेपाल सरकारलाई व्यवस्थापनको जिम्मा लगाएको भनिए पनि भारतीय रेलवेबाट हल्दियादेखि जोगवनी आइसीपीसम्मको रेलवे सञ्चालन अनुुमति नदिएको उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताए ।

यस्तै, भारतले रेलवे रुट अनुमति दिए पनि नेपालमा रेलसम्बन्धी व्यवस्थापन हेर्ने छुट्टाछुट्टै निकाय भएको र कसले व्यवस्थापन गर्ने भन्ने टुंगो नलागेका कारण भारतबाट कच्चा पदार्थ बोकेर फेरि रेल आउने हो वा होइन भन्ने अन्यौल नै रहेको उनको भनाइ छ । नेपालमा कुन निकायले रेलवे सेवालाई हेर्ने भन्नेमा विवाद छ । सरकारको स्वामित्वमा रहेको नेपाल रेलवे कम्पनी र उद्योग वाणिज्य मन्त्रालय अन्तर्गत रहेको इन्टरमोडल कम्पनीका बीचमा कसले व्यवस्थापनको जिम्मा लिने भन्ने होडबाजीले कार्गो रेल सञ्चालनमा कठिनाइ रहेको बताइन्छ । सोही कारण उद्योगी व्यवसायीले भारत तथा तेस्रो मुुलुुकबाट आयात गरिने औद्योगिक कच्चापदार्थको एलसीसमेत खोल्न नसकेको बताएका छन् ।

नेपाली उद्योगीले उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ आयात गर्दा खोलिने एलसीमै कोलकाताको हल्दियादेखि जोगवनी विराटनगर भन्सारको आइसीपीसम्म कार्गो ढुवानी भनी उल्लेख गर्नुुपर्ने कानुनी प्रावधान छ । एकातिर भारतीय रेलसेवाबाट उक्त रुट प्राप्त नभएको र अर्कोतर्फ नेपालमा रेलवे सेवा सञ्चालन तथा व्यवस्थापन कसले गर्ने भन्ने होडबाजीका कारण एलसी खोल्न नसकिएको उद्योगी व्यवसायी बताउँछन् । रेलवे सेवा सञ्चालनमा आउन अझै केही महिना लाग्ने उनीहरुको भनाइ छ ।

कोरिडोरका उद्योगीले धेरै लामो समयदेखि सरकारसँग रेलवे सेवा सञ्चालनका लागि आग्रह गर्दै आएका थिए । पहिलोपटक विराटनगरमा कार्गो रेल आएपछि उत्साहित भएका उनीहरू रुट प्राप्त नभएको र व्यवस्थापन गर्ने निकायबीचको द्वन्द्वले रेल दोस्रोपटक नआएपछि निरुत्साहित हुन बाध्य भएका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया