Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजनगणनाको जाति, भाषा र धर्मसम्बन्धी तथ्याङ्क सच्याउन माग

जनगणनाको जाति, भाषा र धर्मसम्बन्धी तथ्याङ्क सच्याउन माग


काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को जाति, भाषा र धर्मसम्बन्धी तथ्याङ्क सच्याउन नेपालका आदिवासी जनजाति संघ, संस्थाहरूले माग गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघको संयोजनमा विभिन्न जातीय संगठनहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक गरिएको जनगणना २०७८ को जाति, भाषा र धर्मसम्बन्धी तथ्याङ्क गलत भएको आरोप लगाउँदै सच्याउन माग गरेका हुन् । तथ्याङ्क कार्यालयले जारी गरेको जाति, भाषा, धर्मको महलमा जातिहरूलाई फुटाएको उनीहरूको आरोप छ । कानुनी व्यवस्थाअनुसार तथ्याङ्क सच्याउन र जातिभित्रको थरहरूलाई जातिको रूपमा नछुट्टाउन उनीहरूले प्रधानमन्त्रीसँग आग्रह गरे ।

प्रधानमन्त्री प्रचण्डले कानुनी व्यवस्थाअनुसार अगाडि बढ्ने बताए । ‘कानुनी व्यवस्था के छ त्यसबारेमा पनि म बुझ्छु । यसको विषयमा मलाई पनि जानकारी छैन । तथ्याङ्क कार्यालयका सम्बन्धित अधिकारीहरूलाई बोलाएर म कुरा गर्छु’, प्रधानमन्त्री प्रचण्डलाई उद्धृत गर्दै जनजाति महासंघका महासचिव दिवस राईले भने, ‘कतिपय जातिभित्रका थरहरूलाई जाति बनाउनु हुँदैन, त्यसले विभाजन ल्याउँछ भन्ने कुरामा म पनि कन्भिन्स छु । यसबारेमा सत्य, तथ्य बुझेर करेक्सन गर्न लगाउँछु ।’

जनगणनामा गुरुङ जातिबाट घले, मगर जातिबाट पुन छुट्टाएको छ भने राई जातिलाई धेरै टुक्रामा विभाजन गरेको छ । यो कुरा कानुनसम्मत हुनुपर्ने माग आदिवासी जनजातिहरूले गर्दै आएका छन् । यसअघि आदिवासी जनजाति आयोगले समेत तथ्यांङ्क विभागलाई तथ्याङ्क सच्याउन आग्रह गरेको भए पनि कार्यालयले बेवास्ता गरेको महासंघका महासचिव राईले बताए । यस्तै, उनीहरूले नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज गर्ने सरकारको तयारीका सम्बन्धमा पनि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।

प्रतिष्ठान खारेज भएमा आदिवासी जनजातिहरूलाई पहिचान गर्ने प्रतिष्ठान ऐन पनि खारेज हुने र त्यसले आदिवासी जनजातिको पहिचान नै खारेज हुने खतरा बढेको महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया