Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीगरिबीले कोही स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् : मन्त्री बस्नेत

गरिबीले कोही स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् : मन्त्री बस्नेत


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आर्थिक अभावका कारण कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् भन्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । ललितपुरको जावलाखेलस्थित लाइफलाइन हेल्थ होम केयरले बुधबार आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा उनले पाँच वर्षभित्र गरिबीका कारणले कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् भन्ने गरी कार्ययोजना बनाएर सुरु गरेको अभियान निरन्तर जारी रहेको बताए ।

त्यसका लागि निश्चित कार्ययोजना र मापदण्ड बनाएर सुर्तीजन्य पदार्थबाट संकलन हुने अर्बौं रकमलाई प्रयोग गर्ने उनले जानकारी दिए । सुर्तीजन्य पदार्थमा थोरै मात्रामा कर लाग्दै आएको उल्लेख गर्दै उनले यसको कर बढाएर उठेको राजस्व स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्नेमा जोड दिए । यस्तै, उनले हरेक अस्पतालले नियमअनुसार १० प्रतिशत शय्या विपन्न वर्गका लागि छुट्याएर निःशुल्क उपचार उपलब्ध गराएमा अधिकांश विपन्न र असहायले सहज ढंगले उपचार पाउने अवस्था रहेको बताए । उनले भने, ‘स्थानीय निकायमा वडाध्यक्षले विपन्नका लागि गरेको सिफारिसअनुसार सबै अस्पतालहरूले निःशुल्क उपचारको व्यवस्था गरेर आफ्नो दायित्व निर्वाह गर्नुपर्छ । यसले धेरैजसो समस्याको हल हुन्छ ।’ अस्पतालहरूले स्वीकृति लिने बेलैमा प्रदान गर्ने सम्पूर्ण उपचार सेवाको १० प्रतिशत न्यून आयस्तर भएका, गरिब र बेवारिसे बिरामीलाई उपचार गर्नुपर्छ भनेर सम्झौता गरेको भए पनि त्यो कार्यान्वयन आउन नसकेकाले समस्या भएको उनले बताए । अहिले उक्त व्यवस्थालाई कार्यान्वयनमा ल्याउन देशभर सर्कुलर जारी गरेको उनले जानकारी दिए ।

यस्तै, उनले महँगो उपचारबाट जनता पीडित भएको अवस्थामा उपचार नै गर्न नपर्ने गरी नागरिकलाई सचेत बनाउन जरुरी रहेको औँल्याए । दिनको एक घण्टा शारीरिक व्यायामका लागि छुट्याउन उनले सुझाए । कार्यक्रममा लाइफलाइन हेल्थ होम केयरका सञ्चालक समिति सदस्य समीर जोशीले होम केयरका रूपमा दुई वर्षदेखि सञ्चालनमा रहेको यस स्वास्थ्य संस्थाले पोलिक्लिनिकका रूपमा आठ महिनादेखि सेवा प्रदान गरिरहेको बताए । ‘बेटर हेल्थ बेटर सोसाइटी’को नाराका साथ काठमाडौँ मेडिकल कलेजसँग सहकार्य गरेर देशैभर स्वास्थ शिविर सञ्चालन गरिरहेको उनले जानकारी दिए । हेल्थ केयरले विभिन्न शिविरबाट सिफारिस भएर आएका बिरामीलाई काठमाडौं मेडिकल कलेजमा हुने शल्यक्रियामा ५० प्रतिशत छुट दिने गरेको छ ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया