Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय सहकारी बैंकद्वारा पुँन्जी फिर्ता कोषको रकम बाँडफाँट

राष्ट्रिय सहकारी बैंकद्वारा पुँन्जी फिर्ता कोषको रकम बाँडफाँट


काठमाडौं । राष्ट्रिय सहकारी बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरूले पाउने रकमको बाँडफाँट गरेको छ । बिहीबार बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरूले पाउने रकमको बाँडफाँट कार्य गरेको हो । एउटै सदस्यले ४२ लाख रुपैयाँभन्दा बढी रकम प्राप्त गरेको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधानअनुरूप बैंकले सदस्य संघ/संस्थाहरूले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारको आधारमा कुल १८ करोड ५५ लाख १२ हजार छ रुपैयाँ १५ पैसा संरक्षित पुँजी फिर्ता कोषको रकम बाँडफाँट गरेको बैंकले जनाएको छ । संरक्षित पुँजी फिर्ता कोषबाट प्राप्त हुने रकम सम्बन्धित सदस्य सहकारी संघ/संस्थाको खातामा जम्मा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाइँले बताए । उनका अनुसार बचत र कर्जा कारोबार गर्ने १५ हजार चार सय ७४ सहकारी संघ/संस्थाहरूको संरक्षित पुँजी फिर्ता कोषबाट लाभान्वित भएका छन् । बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचततर्फ ४२ लाख ७ हजार ७ सय २७ रुपैयाँ तथा कर्जातर्फ ११ लाख ४८ हजार चार सय ९८ रुपैयाँसम्म प्राप्त गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत गुरागाइँले बताए ।

‘उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक’ भन्ने परिकल्पनाका साथ अघि बढेको बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट ५० हजारभन्दा बढी रकम प्राप्त गर्ने सहकारी संघ/संस्थाहरू ७३३ रहेका छन् । हाल बैंकमा १६ हजारभन्दा बढी सदस्य सहकारी संघसंस्थाहरू रहेका छन् । यसअघि बैंकले आफ्ना सदस्य सहकारी संघ/संस्थाहरूलाई आर्थिक वर्ष २०७८/०७९ को लागि बैंकको १९ औं वार्षिक साधारणसभाबाट पारित गरी १५ प्रतिशत लाभांशबापतको रकम साधारणसभा सम्पन्न गरेको दिन गत पुस १८ गते वितरण गरेको थियो । बैंकले नियमित बचत तथा कर्जाको कारोबार गर्ने र संरक्षित पुँजी फिर्ता कोषबाट रकम पाउने सम्पूर्ण सहकारी संघ/संस्थाहरूलाई हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनहरूमा समेत राष्ट्रिय सहकारी बैंकमा उच्च कारोबार गरी संरक्षित पुँजी फिर्ता कोषबाट लाभ लिन अनुरोधसमेत विज्ञप्तिमार्फत गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया