Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविश्व बैंकसहित चार संस्थाद्वारा नेपाललाई थप आर्थिक सहयोगको प्रतिबद्धता

विश्व बैंकसहित चार संस्थाद्वारा नेपाललाई थप आर्थिक सहयोगको प्रतिबद्धता


काठमाण्डौं,वैशाख ५
कोरोना भाइरस कोभिड–१९ रोगको कारण थिलथिलो बनेको नेपालको अर्थतन्त्रलाई उकास्न विश्व बैंकसहित चारवटा वित्तीय संस्थाहरुले नेपालाई अहिले दिइएका शीर्षकमा थप र नयाँ शीर्षकहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँग बुधबार अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् । उनका अनुसार विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, एसियाली पूर्वाधार विकास बैंकले नेपाललाई अहिले दिइएका शीर्षकमा थप र नयाँ शीर्षकहरुमा पनि सहयोग रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।

चैत ११ गतेदेखि लकडाउन सुरु भएपछि अर्थमन्त्री खतिवडाले ती चार वित्तीय संस्थालगायत अन्य विदेशी संस्थासँग पनि नेपाललाई गर्ने सहयोगको विषयमा भिडियो संवाद गरेका छन् । भिडियो संवादमै ती चार संस्थाले थप सहयोग र नयाँ सहयोग पनि गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । यसलाई नेपालले अर्थतन्त्र उकास्ने औजारको रुपमा प्रयोग गर्नेछ ।

अर्थमन्त्री खतिवडाले परिसंघका पदाधिकारीहरुलाई दिएको जानकारीअनुसार ती संस्थाहरुले नेपाललाई कोभिडसँग सम्बन्धित क्षेत्रमा जति पनि खर्च गर्नुपर्ने हुन्छ, त्यसमा खुलेर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । त्यही भएर अहिले कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणका लागि सरकारले अन्य शीर्षकबाट जति रकम तानेर खर्च गरे पनि ती शीर्षकमा रकम उपलब्ध गराउन राज्यकोषमा रकम थप हुने देखिएको छ ।

विश्वभर कोरोना भाइरसको कारण नेपालको रेमिट्न्यासमा ठूलो ह्रास आउने देखिएको बेला नेपालले अन्य स्रोतहरुबाट वैदेशिक सहायता परिचालन गर्न सकेमा त्यसमा पनि पूर्ति गर्ने देखिन्छ ।

तर, वैदेशिक सहयोग परिचालन गर्न नेपालको कर्मचारी प्रशासन अत्यन्त सुस्त छ । कर्मचारीको ढिलासुस्तीको कारण दातृनिकायहरुले दिने भनेको रकम पनि खर्च गर्न सक्ने अवस्था छैन ।

कोरोनाको कारण देशको अर्थतन्त्र कमजोर बनेको बेला कर्मचारीहरु सक्रिय भएमा दातृनिकायको सहयोग पर्याप्त मात्रामा भित्रिनेछ । यदि कर्मचारीहरु सही रुपमा परिचालित हुन सकेनन् भने दातृनिकायले सहयोग गर्ने भने पनि नेपालले ती रकम नपाउन पनि सक्तछ । अहिलेसम्म नेपालले दातृनिकायले दिने भनेको रकम लिन सकिरहेको छैन ।

कोरोनाको संक्रमण र जोखिमको अवधि लामो भएको कारण अर्थमन्त्री खतिवडाले दातृनिकायसँग बारम्बार छलफल गरिरहेका छन् । अर्थमन्त्री खतिवडाप्रति दातृनिकायहरु धेरै नै सकारात्मक छन् ।

परिसंघका पदाधिकारीसँगको छलफलमा अर्थमन्त्री खतिवडाले आन्तरिक पर्यटन र कृषिमा चाँडै सुधार गर्न सकिने दाबी गरेको एक पदाधिकारीले जानकारी दिए ।

सरकारले धानको बीऊ तथा मल र विषादीहरुको जोहो तत्काल गर्नुपर्ने देखिएको छ । आउँदो १५ गते लकडाउन खुले पनि तत्काल धानको बीऊ, मल तथा विषादी ल्याउन समस्या पर्ने कृषिसँग सम्बन्धित विज्ञहरुले बताउँदै आएका छन् ।

अर्थमन्त्री खतिवडाले परिसंघका पदाधिकारीहरुलाई आफूले बैंकहरुलाई नाफा कमाउनेभन्दा पनि व्यवसाय टिकाउन सहयोग गर्नुहोस् भनेको कारण बैंकहरुले पनि व्यवसाय टिकाउन सहयोग गर्ने विश्व व्यक्त गरे ।

अर्थमन्त्री खतिवडाले व्यवसायीहरुलाई पनि व्यावसायिक योजनाहरु बनाउन आग्रह गरेका थिए । अर्थमन्त्री खतिवडाले लकडाउन खुल्नासाथ कृषि, उत्पादन र निर्माण क्षेत्रमा तत्काल काम सुरु हुने दाबी गरेका छन् ।

अर्थमन्त्रीले निर्माण क्षेत्रमा काम हुने बताए पनि मजदुरहरु घरघरमा फर्किसकेको र उनीहरु फर्केर काममा आउने बेलामा वर्षात् लागिसक्ने भएको कारण चालू आर्थिक वर्षमा निर्माण क्षेत्रमा काम हुने सम्भावना न्यून छ ।

व्यवसायीहरुले अर्थमन्त्री खतिवडासँग राहत मागेका थिए । राहत दिने विषयमा अर्थमन्त्री खतिवडाले व्यवसायीहरुलाई यसमा सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने प्रस्ताव राखेका थिए । अर्थमन्त्री खतिवडाले सरकारले, रोजगारदाताले र सरकारलाई सहयोग गर्ने अन्तर्राष्ट्रिय दातृनिकायले गर्ने सहयोग हेरेर राहत दिन सकिने बताएका थिए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x