Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीनर्भिकमा ‘लेजर इन प्रोक्टोलोजी’ सुरु

नर्भिकमा ‘लेजर इन प्रोक्टोलोजी’ सुरु


काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले लेजरबाटै पायल्स, फिसर र फिस्टुलाको सहज उपचार(सर्जरी) गर्ने प्रविधि ‘लेजर इन प्रोक्टोलोजी’को सुरुवात गरेको छ । यो प्रविधिसँगै अब चिरेर शल्यक्रिया गर्नुपर्ने बाध्यताको अन्त्य भएको अस्पतालले जनाएको छ ।

अस्पतालका जनरल जीआई सर्जन(ग्यास्ट्रो इन्टेस्टाइन सर्जन) डा प्रकाश चौधरी र डा सञ्जय पौडेललगायतको जीआई सर्जरी टिमले नर्भिकमा पनि ‘लेजर इन प्रोक्टोलोजी’ प्रविधिबाट उपचार सेवाको थालनी गरेको हो । दुई दिनअघि धनगढीबाट अस्पतालमा भर्ना भएका एक ३८ वर्षीय बिरामीको निकै पुरानो पायल्सको लेजर प्रविधिबाट सफलतापूर्वक उपचार भएको डा चौधरीले जानकारी दिए । उनका अनुसार यो प्रविधिबाट उपचार गर्दा बिरामीलाई पूरै बेहास बनाइरहनुपर्दैन । ‘पहिलापहिला हामी पायल्स, फिसर र फिस्टुलाका जटिल समस्याहरूको ओपन सर्जरी गरेर उपचार गर्ने गथ्र्यौँ, अब भने त्यो बाध्यता हटेको छ’, डा. चौधरीले भने, ‘नयाँ प्रविधि र डिभाइसको मद्दतले लेजरबाट एनर्जी फ्लो गरेर एनलमा हुने डल्लोको रगत सुकाउने काम गरिन्छ । लेजर डिभाइसले एनर्जी फाल्छ र त्यसले डल्लोलाई सुकाउने तथा स्रिंक गराएपछि नर्मल अवस्था बन्छ ।’

यो अत्याधुनिक प्रविधिबाट उपचार गराउँदा बिरामीलाई धेरै हस्पिटलमा बस्नुपर्ने बाध्यता पनि हुँदैन । ‘लेजरबाट गर्दा सर्जरी सुचर लगाउनुपरेन, काट्नु पनि परेन ।’ डा चौधरीले थपे, ‘काटेपछि दाग हुन्थ्यो, लेजरबाट गर्दा दाग नदेखिने भयो । लेजरबाट गर्दा रगत पनि कम बग्छ ।’ उनका अनुसार हस्पिटल आएर लेजर प्रविधिबाट उपचार गराएको तीन÷चार घण्टाभित्रै बिरामीलाई घर पठाउन सकिन्छ । ‘ओपन सर्जरीबाट गर्दा दुई दिनसम्म हस्पिटल बस्नुपथ्र्यो’, उनले भने, ‘यो प्रविधि कस्ट इफेक्टिभ पनि हुन्छ । ओपन सर्जरी गर्दा हस्पिटल बसाइ लामो हुन सक्थ्यो तर लेजरबाट हुने सर्जरीमा भने हस्पिटल बस्दा हुने खर्च जोगिने भयो । यसरी सोच्दा बिरामीलाई सजिलो भयो । लेजरबाट सर्जरी गरिसकेपछि डाक्टर कहाँ फलोअपमा पनि धेरै आइरहनु पर्दैन ।’

डा चौधरीका अनुसार नेपालका लागि ‘लेजर इन प्रोक्टोलोजी’ नयाँ उपचार पद्धति र प्रविधि हो । डा चौधरीले लेजर प्रोक्टोलोजीसम्बन्धी विशेष क्लिनिकल तालिम भारतबाट लिएका छन् । मेडिकलको भाषामा गुद्वार र मलासयसँग सम्बन्धित चिकित्सा विज्ञानलाई प्रोक्टोलोजी भनिन्छ । यी क्षेत्रमा विशेष गरी मानिसलाई पायल्स, फिसर, फिस्टुलालगायतका समस्या भइरहेको हुन्छ । यस्ता स्वास्थ्य समस्याको समयमै निराकरण भएन भने ठूलै सर्जरीसम्म गर्नुपर्ने हुन्छ । गुद्वार र मलासयमा रगत आउने, मासुको डल्लो हुने, डल्लो बाहिर आउने र समस्या बढ्दै गएपछि मासुको डल्लो निकै क्रोनिक बन्नेलगायतका समस्या हुँदा सचेत बन्नुपर्ने चिकित्सकहरूको सुझाव छ ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3

तपाईको प्रतिक्रिया