Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारइटहरी उपमहानगरको सेनेटरी प्याड खरिदसम्बन्धी ठेक्का विवादमा

इटहरी उपमहानगरको सेनेटरी प्याड खरिदसम्बन्धी ठेक्का विवादमा


काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाले सेनेटरी प्याड खरिद गर्न लगाएको ठेक्का विवादमा परेको छ । उपमहानगरले ८१ हजार तीन सय ४२ थान सेनेटरी प्याड खरिदको टेन्डर किर्ते कागजपत्र पेस गरी बढी रकम कबुल गर्ने कम्पनीलाई स्वीकृत गरेको पाइएको हो ।

स्रोतका अनुसार पूर्वी कोरिडोरका उद्योगी पुनित सारडाको जस्मिन आइजिन उद्योगले सेनेटरी प्याड बिक्री गर्नका लागि नक्कली कागजात तयार गरी विभिन्न सप्लायर्समार्फत सरकारी निकायमा सप्लाई गर्ने गरेको छ । सोही उद्योगको सेनेटरी प्याड सप्लायर्स सुनसरी धरान १ को निक्की डिस्ट्रिब्युटर्सलाई इटहरी उमहानगरले सेनेटरी प्याड खरिद गर्ने ठेक्का दिएको छ । स्रोतका अनुुसार कम मूल्याङ्कन गरी आवेदन हालेको फर्मलाई पाखा लगाएर किर्ते कागजपत्र पेस गरी ३४ लाखभन्दा धेरै मूल्य हाल्ने निक्की डिस्ट्रिब्युटर्सलाई सेनेटरी प्याड खरिद गर्ने ठेक्का दिइएको हो । इटहरी उपमहानगरपालिकाले सेनेटरी प्याड खरिदका लागि गत वैशाख २० गते सूचना प्रकाशित गरेको थियो ।

सूचना प्रकाशित भएपछि उपमहानगरपालिकामा पाँचवटा फर्मले आवेदन हालेका थिए । अप्सरा ट्रेडलिंकले ४५ लाख तीन हजार नौ सय छ रुपैयाँ ५४ पैसा, एन्जल टच हाइजिङ म्यानिफेक्चरिङ प्रालिले २० लाख सात हजार ४५५ रुपैयाँ ४९ पैसा, जनहित ट्रेडर्सले २४ लाख ३९ हजार चार सय ६२ रुपैया ८५ पैसा, विराट हेल्थकेयर इन्डस्ट्रिज प्रालि बुढीगंगा मोरङ टंकिसिनुवारीले १८ लाख ५७ हजार ६३१ रुपैयाँ ६६ पैसा र निक्की डिस्ट्रिब्युटर्स धरान १ सुनसरीले ५३ लाख ३१ हजार १५४ रुपैयाँ ६८ पैसामा टेन्डर हालेका थिए । टेन्डर हालेकामध्ये सबैभन्दा बढी रकम कबुल गर्ने निक्की डिस्ट्रिब्युटर्सले सेनेटरी प्याड खरिद गर्ने ठेक्का पाएपछि जस्मिन हाइजिन र उक्त उद्योगका सप्लायर्सबीच उपमहानगरपालिकाको सेटिङ रहेको रहस्य खुल्न पुगेको छ ।

उपमहानगरले सबैभन्दा कम मूल्याङ्कन गर्ने विराट हेल्थकेयर इन्डस्ट्रिजको आवेदन रद्द गरी सबैभन्दा बढी रकम कबुल गर्ने सप्लायर्सलाई टेन्डर स्वीकृत गरेको छ । उपमहानगरले भने आफूले प्रकाशित गरेको सूचनामा सेनेटरी प्याड माटोमा १८० दिनमा ९० प्रतिशत बायो डिग्रेबल (कुहिने प्याड) हुनुपर्ने उल्लेख गरेको र अन्य चारवटा फर्मको बायो डिग्रेबल सेनेटरी प्याडको रिपोर्ट नभएकोले आवेदन रद्द गरेको जनाएको छ । निक्की डिस्ट्रिब्युटर्सले पेस गरेको कागजपत्र सेनेटरी प्याड बायो डिग्रेबल भनेर पेस गरेको कारण उसैले ठेक्का पाएको उपमहानगरको दाबी छ । तर, निक्कीले विराटनगरस्थित उद्योगी पुनित सारडाले सञ्चालन गरेको उद्योग जस्मिन हाइजिन प्रोडक्स प्रालिले दिएको बायो डिग्रेबलको रिपोर्ट नक्कली पेस गरेको अन्य उद्योगीको दाबी छ ।

सेनेटरी प्याडको कुहिने पदार्थ परीक्षण गर्ने ल्याब भारतमा मात्र रहेको छ । भारतको सिपेट पेट्रोकेमिकल्स उन्नत अनुसन्धान स्कुल (एसएआरपी) – एआरएसटी पीएसले दिएको रिपोर्टअनुसार जस्मिन हाइजिन प्रोडक्स प्रालिले उत्पादन गरेको प्याडको मापदण्ड (बायो डिग्रेबल) कुहिने प्याडको लागि उपयुक्त छैन । तर, उद्योगले आफ्नो सप्लायर्सलाई ठेक्का पार्न भारतको ल्याबले दिएको रिपोर्टलाई फोटोसपमार्फत तोडमोड गरेर बायो डिग्रेबल भनेर कागजपत्र पेस गरेको स्रोतको दाबी छ । इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता र सप्लायर्सबीचमा नै सेटिङपश्चात टेन्डर स्वीकृत गरिएको स्रोतको दाबी छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया