Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुवावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ हुने

हुवावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ हुने


काठमाडौं । ‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ यही असार ८ र ९ गते आयोजना हुने भएको छ । आईसीटी फाउन्डेसन नेपालको आयोजनामा हुने कन्क्लेभमा ह्वावेले मोबाइल नेपाल कंग्रेस(एमएनसी) को पनि आयोजना गर्नेछ ।

आयोजकले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी द सोल्टी काठमाडौंमा हुने कन्क्लेभमा विभिन्न ६ थिममा १५ बढी सेसनहरू सञ्चालन हुने जानकारी दिएको छ । कन्क्लेभमा विभिन्न देशका आईसीटी विज्ञसहित ७० बढी स्रोत व्यक्तिहरू रहेका छन् । दुई दिने कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशबाट विषय विज्ञहरूको उपस्थिति रहनेछ । ‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’ को नारासहित आयोजना हुने कन्क्लेभले डिजिटल रूपान्तरणका लागि नेपालको सक्षमता र यसको लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिनेछ । कन्क्लेभको पहिलो दिनको उद्घाटन कार्यक्रममा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूको चार वटा कि–नोट र मन्त्री रेखा शर्मासँगको पावर संवाद सेसन हुनेछ । त्यस्तै, पहिलो दिनको सेसनमा डिजिटल पूर्वाधार, डिजिटल परिचय(आइडेन्टिटी) र डिजिटल गभर्नेन्ससम्बन्धी सेसनहरू रहेका छन् ।

कन्क्लेभको दोस्रो दिन डिजिटल इन्नोभेसन र उद्यमशीलता, टेक स्टाक र डिजिटल सक्षमता, डिजिटल इकोनोमी र फिनटेक सक्षमताको सेसनहरू रहेका छन् । यसै गरी कन्क्लेभमा डेटा गभर्नेन्स र डिजिटल सेक्युरिटी, डिजिटल लिडरसिप र डिजिटल सक्षमताको लागि अबको बाटो जस्ता सेसनहरू सञ्चालन हुनेछन् ।

कन्क्लेभसँगै शीर्ष प्रायोजक ह्वावेले छुट्टै हलमा मिनी मोबइल वल्र्ड कंग्रेसको रूपमा मोबाइल नेपाल कंग्रेसको आयोजना गर्नेछ । सहभागीले ५जी, एआईसँगै नयाँ प्रविधिहरूको जानकारी मोबाइल कंग्रेसमा पाउनेछन् । ह्वावे मोबाइल नेपाल सम्मेलन जुन विषयवस्तुमा केन्द्रित छ, त्यसैमा आधारित रहेर सम्मेलनले गिगाभर्स इनिसिएिटिभ, अल्ट्रा–अटोमेसन स्पिड अप, सेवाको रूपमा इन्टिलिजेन्ट कम्प्युटिङ एन्ड नेटवर्क, भिन्नभिन्न अपेक्षाकृत मागहरू र वातावरण, सामाजिक तथा सुशासनका लागि आफ्नो मार्ग निर्देशिका तय गरेको छ ।

आइसीटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभको यो दोस्रो संस्करण हो । कन्क्लेभको प्रि–इभेन्टको रूपमा फाउन्डेसनले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम सञ्चालन गरेको थियो । सातै प्रदेशको डिजिटल अवस्था र सक्षमताको जानकारीसहितको डिजिटल प्रदेश परिदृष्यको दोस्रो संस्करण कन्क्लेभमा सार्वजनिक गरिनेछ । कन्क्लेभमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघलगायतको सहयोग रहेको छ । यसैगरी कार्यक्रमको कनेक्टेड बाइमा नेपाल टेलिकम, सेक्युरिटी पार्टनरमा चेकपोन्ट, पेमेन्ट पार्टनरमा आइएमईपे, आइटी ट्रेनिंङ पार्टनरमा ब्रोडवे इन्फोसिस, इन्टरनेट पार्टनरमा डिसहोम रहेका छन् । सहयोगी संस्थाहरूमा एसिया फाउन्डेसन, फ्रोस्ट एन्ड सुलेभन नेपाल, कोड हिमालय, स्काई ब्रोडब्याण्ड, बारकोड, टेक्नोरियोलगायतको सहकार्य रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया