Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतोरी र सनफ्लावर तेलको मूल्य वृद्धि

तोरी र सनफ्लावर तेलको मूल्य वृद्धि


विराटनगर,बैशाख ७
सरकारले अहिले देशव्यापी लकडाउन गरेको चौथो हप्ता चलिरहँदा दैनिक उपभोग्य वस्तुहरूको खासै अभाव सिर्जना भएको छैन तर एक्कासी केही उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको छ । सरकारले धमाधम लकडाउनको अवधि थप्दै गएपछि केही दिनयता विभिन्न ब्राण्डका खाने तेलको मूल्य लिटरमा १० देखि २० रूपैयाँसम्म बढेको छ । पछिल्लो केही दिनयता कम्पनीका डिलरहरूवाटै मूल्य बढेर आएको कुरा खुद्रा बिक्रेताहरूले बताएका छन् । फ्याक्ट्रीबाटै मूल्य बढेर आएको दाबी खुद्रा विक्रेताहरूको छ ।

उद्योगीहरूले चाहिँ आफूहरूले कुनै मूल्य नबढाएको दाबी गरिरहँदा उद्योगले तोकेको आधिकारिक डिलरहरूले आफ्नो ढुवानी खर्चमा भएको वृद्धिलाई कारण देखाएर उद्योगीहरूकै सहमतीमा केही मूल्य बढाएको पाइएको छ ।
सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरूले उत्पादन गर्दै आएको सनफ्लावर तेलको एक कार्टुनको मूल्य गत चैत १० गतेसम्म एक हजार पाँच सय ३० रूपैयाँ थियो ।

तर, अहिले उक्त तेलको मूल्य एक कार्टुनमा एक हजार पाँच सय ७० रूपैयाँ कायम गरेका छन् । खुद्रा व्यापारीहरूका अनुसार तोरी र सोयाबिनको तेलमा पनि मूल्य वृद्धि भएको छ । लकडाउन सुरु हुनुअघि एक हजार आठ सय १० रूपैयाँ कार्टुनमा पाइने तोरीको तेलको होलसेल मूल्य अहिले लकडाउनपछि बढाएर एक हजार आठ सय ५० रूपैयाँ पु¥याइएको छ ।

प्रदेश १ को राजधानी विराटनगरलगायत मोरङका ग्रामीण सहरमा तेललगायत खाद्य वस्तुमा विनाकारण मूल्य बढेको भन्दै खुद्रा व्यापारीहरूले चामल, तेल र दालमा भएको मूल्य वृिद्घप्रति आपत्ति जनाएका छन् । एक खुद्रा व्यवसायीले भने, ‘किलोमा वा लिटरमा एक दुई रूपैयाँको अन्तर हुन सक्छ तर १० वा ५० रूपैयाँको मूल्यवृद्धि अस्वभाविक छ ।’ सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित केही तेल उद्योगहरूले सेण्डिगेट बनाएरै आफ्ना डिलरमार्फत तेलका सबै उत्पादनहरूमा १० रूपैयाँदेखि ५० रूपैयाँसम्मको मूल्य वृद्धि हुँदासमेत प्रशासन मौन बसेको प्रति खुद्रा व्यवसायीले प्रशासनकै मिलेमत्तोमा मूल्य वृद्धि भएको दावी गरेका छन ।

यसरी अस्वभाविक मूल्यवृद्धि गर्नेलाई छानबिन गर्ने र सरकारले पनि अनुगमन बढाउनु पर्नेमा महामारीको समयमा सरकार मुकदर्शक भएर बसको सरोकारबालाहरूको भनाइ छ । खुद्रा बिक्रेतालाई खाद्यवस्तु उपलब्ध गराउने होलसेल व्यवसायीले तेललगायतका वस्तुमा मूल्य बढ्नुको कारण आफ्नो ढुवानी भाडालाई देखाएका छन् ।

लकडाउनका बेला उद्योगदेखि आफ्नो होलसेल स्टलसम्म ट्रकलगायतका ढुवानीकर्ताहरूले बढी भाडा लिने गरेको हुँदा त्यो रकम वस्तुमा जोडिने गरेका कारण केही मूल्य वृद्धि भएको बताएका छन् । उनीहरूले सामान ढुवानीका लागि ट्रक नै पाइदैन भन्दै पाइहाले पनि उद्योगसम्म रित्तै जानुपर्ने बाध्यता देखाएर थोरै ढुवानी वृद्धिका नाममा मूल्य बढाइएको बताएका छन् । खुद्रा व्यवसायीका अनुसार माथिबाटै मूल्यवृद्धि भएर आउँदा उपभोक्ताले भने आफूहरूलाई मूल्यवृद्धिको आरोप लगाउँने गरेको गुनासो गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x