Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसधैँको संक्रमणमाथि कोरोना संक्रमण र नेपाली अर्थतन्त्र

सधैँको संक्रमणमाथि कोरोना संक्रमण र नेपाली अर्थतन्त्र


गोपीनाथ मैनाली

काठमाण्डौं,बैशाख ७

आर्थिक इतिहास विश्लेषण गर्दा नेपाली अर्थतन्त्र पटक–पटक संक्रमणमा पर्दै आएको देखिन्छ । २०१३ साललाई प्रस्थान बिन्दु मान्ने हो भने आर्थिक विकासका लागि नीतिआधारशीला निर्माण हुने क्रममा नै पहिलो योजना अवधि पनि नसकिदै राजा महेन्द्रले प्रजातान्त्रिक व्यवस्थामाथि कू गरेपछि अर्थतन्त्रमाथि पनि ठूलो धक्का लाग्यो र मुलुक अलमलियो । यो नेपालको अर्थतन्त्रको पहिलो संकट थियो ।

नेपालसँगै निरंकुशताको यात्रा सुरु गरेका इजिप्ट, इण्डोनेशिया र केही हदमा कोरियालगायतका मुलुकहरूले प्रजातन्त्रको लागतमा आर्थिक विकास गरे । निरंकुशताको यात्रासँगै विकासको यात्रा पनि गरे । शासन व्ययवस्था निर्देशित भए पनि आर्थिक विकासको उपलब्धि लिन सके तर त्यस अवसरबाट नेपाल पछि प¥यो । पञ्चहरू राष्ट्रिय विकासको मुद्दामा भन्दा राजाको प्रिय बन्ने लालसामा प्रतिस्पर्धी देखिए, राजा विकासमा भन्दा व्यवस्था टिकाउन सक्रिय नेतृत्वमा रहे । परिणमतः मुलुकले कुनै उपलब्धि लिन सकेन ।

पहिलो अप्रिल क्रान्तिपछि प्रजातन्त्रको पुनर्बहाली भई मुलुकले प्रथम चरणका आर्थिक सुधारका कार्यक्रमहरू कार्यान्वयनमा ल्यायो । लामो समय बन्द आर्थिक व्यवस्थामा रहेको मुलुकले उदारवादी आर्थिक परिवेश पाएपछि सरकारभन्दा बाहिरका पात्रहरू आ–आफ्नो क्षमताअनुरूपको आर्थिक सहभागितामा रहे । स्वाभाविक उत्साहका साथ आर्थिक गतिविधिले एउटा दिशा पक्डँदै थियो, औद्योगिक उत्पादन पनि बढ्दै थियो । तर यो अवस्था धेरै अवधि रहेन । मुलुक राजनैतिक अस्थिरताा हुदै द्वन्द्वको भुमरीमा फस्न पुग्यो र अर्थतन्त्रले पुन संक्रमण व्यहोर्न प¥यो ।

दश वर्षको सशस्त्र द्वन्द्वले निर्मित आर्थिक संरचना मात्र ध्वस्त पारेन, त्रसित मनोविज्ञान पनि विकास गर्न पुग्यो र मुलुकभित्र लगानी हुने वातावरण ध्वस्त पा¥यो । द्वन्द्वबाट पुँजी निकै असुरक्षित बन्यो । भएको लागनी पलायन भयो । सबैभन्दा डरलाग्दो कुरा सम्भावना भएका युवा जनशक्तिले मुलुकभित्र आफ्नो भविष्यको सुनिश्चितता देखेनन् । उमेर, उत्साह र क्षमता भएका लाखौँ युवाहरू सुरक्षित भविष्यको खोजीमा बाहिरिए । उनीहरूको क्षमताले अरब, युरोप, अष्ट्रेलिया र अमेरिकी अर्थतन्त्रलाई योेगादन गर्न पुग्यो, मुलुक भने वञ्चित भयो ।

विस्तृत शान्ति सम्झौतापछि मुलुकले स्थानीय शान्ति र समृद्धिको मार्ग समाउने आधारशीला तयार हुँदै गर्दा महाभूकम्पले नेपालको अर्थतन्त्रलाई निकै ठूलो झड्का दियो । करिब आठ खर्ब रूपैयाँको क्षति भयो । ‘विल्ड व्याक वेटर’ को सिद्धान्तअनुरूप क्षतिको पुनर्निर्माणको रणनीति निर्माणकै क्रममा भारतीय सीमा नाकामा भएको लामो अवरोधले संक्रमणलाई झनै घनीभूत पा¥यो । बीच–बीचमा तराईका बाढी, पहाडको पहिरो र तराईकै टर्नेडोले संक्रमणलाई सानोतिनो बल पु¥याउँदै आयो ।

संविधान निर्माणपछि प्रतिनिधिमूलक संस्थाहरू क्रियाशील भई संघीयता कार्यान्वयन भई समृद्धिको यात्रा सुरु गर्ने योजना मुलुकले बनाइरहँदा संसरालाई नै अदृश्य तर ओजनदार धक्का दिनेगरी आएको कोरोना महामारीले नेपाली अर्थतन्त्रलाई पुनः धक्का दिएको छ । नेपाली अर्थतन्त्र त्यसै पनि विगतका धक्काहरूले थङ्थिलो थिदैथियो, कोरोना संक्रमणले झनै संक्रमित बनाएको छ । यसको तत्काल र भविष्यको आर्थिक प्रभावको लेखाजोखा भैसकेको छैन, तैपनि के सहज अनुमान गर्न सकिन्छ भने यसको सामाजिक, आर्थिक र मनोवैज्ञानिक असर ठूलो रहनेछ ।

पटक–पटक अवसर पाएर पनि ती गुमेको अवसरमा परिणत भए । संविधान निर्माणपछि आर्थिक समृद्धि र सामाजिक रूपान्तरणमा मुलुक सतत हुने अपेक्षा नेपाली सर्वसाधारणमा छ र नेपाली डायस्पोरा पनि प्रतीक्षासाथ यो अपेक्षामा सामेल छ । समृद्धिको यस अभियानमा कोरोना संक्रमणले नेपाली जनजीवनका सबै क्षेत्रमा धक्का दिएको छ, जसले अर्थतन्त्रको संक्रमणलाई लम्ब्याउने आधार दिन्छ ।

पहिलो प्रभाव, आपूर्ति शृङ्खलामा पारेको छ । गाउ उत्पादनको केन्दै हो, सहर उपभोग र अवसरको । गाउँका उत्पादन शहरका उपभोक्ता सामु पुग्नु पर्छ । गाउँका उत्पादन सामग्री प्रयोग गरी सहर तथा गाउँ सबैतिर वस्तुसेवा प्रवाह गर्दछ । विषम परिस्थतिका कराण लामो समयदेखिको आपूर्ति, ओसारपसार र आवतजावतको शृंखला अवरुद्ध भएकोले उत्पादन–उपभोग सम्बन्ध टुट्न गएको छ । चैत गहँु भित्र्याउने र वैशाख मकै रोप्ने समय हो । यसको तत्कालीन मूल्य मात्र छैन, भविष्यपरक लागत पनि छ ।

दोस्रो, नेपाली अर्थतन्त्रको सेवा क्षेत्रलाई कोरोना संक्रमणले संक्रमित बनाएको छ । विशेषतः हवाइ तथा स्थलगत यातायात, पर्यटन र परामर्श सेवा नराम्रोरी प्रभावित भएको छ । यी सेवा क्षेत्रहरू अर्थतन्त्रमा अग्रपृष्ठ प्रभाव पार्ने व्यवसाय हुन् । जस्तो कि पर्यटन प्रवाह नहँुदा होटल व्यवसायी, सेफ, गाइड, भान्छे, भरियादेखि दुध उत्पादक किसान हँुदै पठनपाठन, स्वास्थ्य उपचार क्षेत्र प्रभावित रहन्छ । हामीले अभियानका साथ सुरु गरेको भ्रमण वर्षलाई चुनौती दिएको छ । यसको आर्थिक लागत अनुमान गरेभन्दा कैयन गुण बढी हुने निश्चित छ ।

अप्रिल क्रान्तिपछि नेपालमा सहकारी व्यवसायले सामाजिक अभियानको रूप धारण गर्दैथियो । सहर बजारका केही ठूला सहकारीहरू सामाजिक व्यवसायभन्दा पर रहेर व्यवसाय गरे पनि धेरै सहकारीहरू सामाजिक आर्थिक अभियानमा क्रियाशील थिए । बचत, पुँजी निर्माण, लगानी, सदस्य सेवा, वस्तु तथा सेवा उत्पादन–वितरण र सामाजिक जिम्मेवारीका क्षेत्रमा यसले केही आशा देखाएको थियो । कोरोना संक्रमणले सहकारीलाई छिन्नभिन्न पार्ने सम्भावना देखिन्छ । किन कि यसका धेरैजसो सदस्यहरू असंगिठत छन्, क्रयशक्ति कम भएको वर्गले सहकारी अभियानलाई आफ्नो बनाएको छ । सरकार नपुगेको, बजारले नदेखेको क्षेत्रमा यो पुगेको छ । यसर्थ स–साना आर्थिक तथा वित्तीय झट्का पनि यसले समन गर्न सक्दैन । यस क्षेत्रको जोखिमले रोजगारी, उत्पादन, लगानी र वित्तीय क्षेत्रलाई नै असर पार्नसक्छ ।

चौथौ, नेपालको अर्थतन्त्र आयातमा आधारित छ । आन्तरिक बजार उपभोगमुखी छ । राजस्वको आधार पनि उपभोग हो । आपूर्ति शृंखलाको अवरोधका कारण भन्सार नाकाहरूबाट उठ्ने राजस्व कम हुने नै भयो । यसको असर सरकारी वित्त व्यवस्थापन हँुदै समग्र अर्थतन्त्रमा पर्दछ ।

पाचौं, कोरोना संक्रमणको धक्का बैंक तथा वित्तीय संस्था पर्न जाँदै छ । बैंक तथा वित्तीय संस्थाहरू सर्वसाधारणसँग वित्तीय मध्यस्थता सेवा व्यवस्थापन गर्ने वर्ग हुन् । जनताको सामथ्र्यसँगै बचत र लगानीका क्षेत्रमा काम गरी उत्पादन, रोजगारी विस्तार गर्दछन् । वित्तीय अन्तरसम्बन्ध कमजोर हुनु भनेको अर्थतन्त्र नै कमजोर हुनु हो । स–साना व्यवसाय, कर्जा, रोजगारी र उत्पादनलाई कमजोर वित्तीय अन्तरसम्बन्धले कमजोर पारी अर्थतन्त्रको स्वभाविक गतिलाई शिथिल बनाउनेछ ।

छैटौँ, सोसियल ओरहेड कम हुनसक्छ, सातौँ आन्तरिक श्रम बजार झनै सानो हुन गई युवा वर्गमा कुण्ठा र नैराश्यता बढ्ने सम्भावना छ । कामविहीन युवाहरू समाज र अर्थतन्त्रका लागि चुनौती हुन सक्छन् । आठौ, अर्थतन्त्रको लागत संरचना परिवर्तन हुन गई तुलनात्मक लाभका क्षेत्रले पनि कम फाइदा पाउने स्थिति रहन सक्छ । नर्वौं, न्यून आय भएका र अलिकति पनि कमाउन नसक्ने वर्गमा जीवन निर्वाहको दैनिकीले पिरोल्ने छ । खाडीका मुलुकहरूबाट भित्रिने विप्रयाणमा कमी आउने समस्या त छँदै छ, लामो समय संक्रमण रहेमा बाहिर काम गर्ने श्रमिको व्यवस्थापनको समस्या कहालीलाग्दो हुने सम्भावना रहन्छ (भगवान त्यस्तौ नहोस्) । सबैभन्दा ठूलो असर फेरि अर्थतन्त्रले मोमेन्टम पक्डिन केही समय लगाउछ, ठूलो तयारी र प्रोत्साहनका प्याकेजहरू माग गर्दछ ।

विश्वमा विज्ञान र प्रविधिले ल्याएको निरन्तरको क्रान्तिले कतिपय असम्भव कुरालाई सम्भव बनाएको वर्तमान विश्वमा कोरोना संक्रमणले एकसाथ सबै अर्थतन्त्रमाथि हमला गरे पनि नेपालजस्ता कमजोर अर्थतन्त्र, जसको ‘सक एब्जर्भिङ क्यापासिटी’ पनि न्यून छ, लाई दूरगामी संक्रमण ल्याउने देखिएको छ । तर, यसले भावि दिनमा आर्थिक सुधारका लागि थुप्रै अवसर पनि ल्याउने नै छ । किन कि प्रत्येक परिस्थिति अस्थायी हुन्छ, जसले स्थायी समाधानको प्रस्थान विन्दु दिने हैसियत राख्दछ । भुल्नै नहुने कुरा के हो भने पटकपटकको संक्रमणबाट नेपाली अर्थतन्त्र तङ्ग्रिने स्थायी समाधान खोज्नुको अब विकल्प छैन ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x