‘लकडाउन’मा बालबालिकालाई यसरी व्यस्त राखौं
बाबुकाजी कार्की
काठमाण्डौं,बैशाख ७
कोरोना भाइरस (कोभिड—१९)को विश्वव्यापी महामारीको कारण अहिले सर्वत्र आशंका, अस्तव्यस्तता र अन्योलता छाएको छ । कोरोना संक्रमणलाई निस्तेज पार्न अनेकौं उपाय अवलम्बनका अभ्यास भैराखेका छन् । भाइरस रोकथामका लागि स्वास्थ्यसम्बन्धी सूचना र टीप्सहरू सञ्चारमाध्यममा बग्रेल्ती छाएका छन् । उपचारका औषधिहरू पत्ता नलागेको यस अदृश्य शत्रुलाई परास्त गर्न रोकथाम बाहेक अन्य प्रभावकारी विकल्प भेटिएको छैन । कोरोना संक्रमणलाई निस्प्रभावी पार्न मानव सम्पर्कलाई यथाशक्य न्यून गर्नु र संक्रमितलाई आइसोलेसनमा राख्नु नै रोकथामको उत्तम उपाय मानिएको छ । चीनको अनुभवबाट अहिलेसम्मनको भरपर्दो प्रभावकारी उपायको रूपमा देखिएको लकडाउन नै हो । ।
मानिसहरूबीचको सम्पर्कबाट एक–अर्कामा तीव्ररूपमा सजिलै सर्ने भाइरसको श्रृंखला तोड्न विश्वका अधिकांश मुलुकले लकडाउन घोषणा गरेका छन् । प्राणघातक भाइरसबाट बच्न अपनाइएको लकडाउनका कारणबाट सबै उमेर पेसाका जनसमुदायलाई सकस पर्नु अन्यथा होइन । यस लकडाउनका कारण विश्वका करोडौं बालबालिकाको पठनपाठन ठप्प भएको छ । शिक्षण संस्था लामो बिदाका कारण विद्यार्थीहरू एक किसिमले बेरोजगार नै भएका छन् । समूहमा खेल्न चल्न रुचाउने बालबालिकालाई घरको चौघेराभित्र २४सैं घन्टा सीमित गर्दा छटपटी र बेचैनी बढ्नु स्वभाविकै हो । यसबाट उनीहरूमा शारीरिक मानसिक तनाव र अन्यौलता आउनु अस्वाभाविक होइन । शारीरिक, मानसिक, सामाजिक तथा संवेगात्मक विकास राम्रो सँग विकास भइनसकेका चञ्चले स्वभावका बालबालिकालाई घरभित्र नै थेगिराख्नुपर्ने कठिन बाध्यता अभिभावकमा आइलागेको छ । अहिलेको जोखिमयुक्त विषम परिस्थतिमा बालबालिकालाई त्रस्तभन्दा पनि व्यस्त राख्ने प्रयाश गर्नु बुद्धिमानी ठहर्छ । विद्यालयहरू अनिश्तिकालिन बन्द भएका कारण आफ्ना छोराछोरीको दिनचर्या व्यवस्थित गर्न अभिभावकहरूको लागि चुनौती बनेको छ ।
भनिन्छ बालबालिकाको पहिलो स्कुल घर र पहिलो शिक्षक बाबु आमा नै हुन् । यो भनाइलाई व्यवहारमा उतार्न अभिभावकले स्कुल नखुन्जेलका अवका केही दिन बालबालिकालाई उचित मार्गदर्शन गर्नलाई बुद्धि, विवेक देखाउनुपर्ने भएको छ । पढाइ हँुदा पनि बालबालिकाले दिनमा ६ घन्टा मात्र स्कुल र बाँकी १८ घन्टा घरपरिवारमा नै बिताउथे । अहिले अनिश्चितकालीन लकडाउनका कारण २४ घन्टा अभिभावकको जिम्मामा छन् । अघिपछि आमाबुबा रोजगारीमा जाँदा लामो समयसँगै बस्न नपाएका साना उमेरका बालबालिका चौबिसै घन्टा सँगै बस्न पाउँदा मख्ख त परेकै हुन्छन् । अलि ठूला उमेरका खासगरी माध्यमिक तहमा पढ्ने बालबालिकाको उमेरगत परिवर्तनका कारण लामो समयसम्म घरभित्रै बसिरहँदा अभिभावकसँग झगडा गर्ने, एकोहोरो बन्ने, चिडचिडाउने जस्ता मनोवैज्ञानिक समस्याहरू देखिन्छन् । घरमा एक्लै बस्दा मानसिक तनाव बढ्ने, झर्किने, नटेर्ने, टोलाएर बस्नेजस्ता समस्या देखिन सक्छन् । तिनीहरूलाई विद्यालय नखुलुन्जेल कस्तो शिक्षा र सीप दिने भन्नेबारे अभिभावकको चिन्ता र चासो बढेको छ ।
बालबालिकाको उमेरगत शारीरिक मानसिक विकासमा विभिन्नता भएअनुसार उनीहरूको रुचि, क्षमता र आवश्यकता पनि फरक–फरक हुन्छ नै । यस्ता विभिन्नतालाई संबोधन गर्न अभिभावकलाई सहज छैन । तथापि यनकेन तत्काल सरकार र सरोकार पक्षले सूचना प्रविधिका विभिन्न माध्यमबाट अभिभावकलाई सहयोग गर्नुपर्ने खाँचो देखिन्छ ।
शिक्षण संस्था अनिश्चितकालीन बन्द गरेर सरकारी निकाय बेखबर रहनु दुःखद हो । बिदामा घर बसेका विद्यार्थीलाई सक्रिय राख्दै समयको सदुपयोगका लागि आवश्यक पाठ्यक्रममा आधारित स्वध्यायन सामग्री उत्पादन र प्रचारप्रसारका लागि सरकारी निकाय, शिक्षकका पेसागत संघसंगठन, संस्थागत विद्यालयका सञ्चालकका छाता संस्था प्याब्सन, एनप्याब्सन तथा शिक्षा क्षेत्रमा क्रियाशील राष्ट्रिय, अन्तर्राष्ट्रिय सरकारी गैरसरकारी संघसंस्थाले कुनै चिन्ता र चासो नदेखाउनु उदेकलाग्दो छ । विद्यालय तहमा अध्ययनरत मात्रै झण्डै ८० लाख बालबालिकाको लागि अभिभावक र सिधै विद्यार्थीलाई समेत सहयोग पु¥याउने उपायहरूको सरकार र सरोकार पक्षले तत्काल खोजी गरेर आफ्नो दायित्व निर्वाह गर्न चुक्नु हुन्न ।
घरमा बसेका बालबालिकाको लागि अहिले जीवनोपयोगी शिक्षा सिकाउने अवसरको रूपमा अभिभावकले लकडाउनको सदुपयोग गर्न सक्छन् । असल संस्कार र संस्कृति सिकाउने, हाम्रा पूर्वजहरूले स्कुलमा नगइकन समाजमा असल नागरिकको पहिचान बनाएको जगजाहेर नै छ । विद्यालयमा पढाइ हुने पाठ्यक्रमले तोकेका विषयवस्तुका अतिरिक्त अन्य धेरै कुरा बालबालिकाले अरुको चालचलन, बानी व्यवहार हेरेर सिक्दै आएका हुन्छन् । यसरी अनौपचारिकरूपमा दैनिक अभ्यास र अनुभवबाट सिक्ने अलिखित सीप र ज्ञानलाई अदृश्य पाठ्यक्रम (हिडेन करिकुलम)ले समेटेको हुन्छ । जसअन्तर्गत बालबालिकाले अरुले गरेका क्रियाकलाप, बानीबेहोराको अनुकरण गर्दै आएका हुन्छन् । मनोवैज्ञानिकका अनुसार बालबालिका स्वभावैले चञ्चले हुने, अरुको नक्कल गर्ने, लिङ्गअनुसार काममा सरिक हुन उत्सुक रहने, खासगरी छोरीले आमाका काममा र छोराले बाबुको काममा सघाउने, खेल्न रुचाउने आदी उनीहरूका स्वभाव हुन् । घरभित्रको सरसफाई, चियानास्ता पकाउने, सरसामान मिलाउने, उमेर अनुसार आफूले प्रयोग गर्ने सानातिना लुगा धुने, लुगा प्रस्ट्याउने र उपुयुक्त ठाउँमा जतनसँग राख्ने फूलबारी, करेसाबारीका कामहरूमा व्यस्त बनाउने आदीबाट व्यवहारिक जीवनमा आइपर्ने काम गरी स्वावलम्बी बानीको विकास गर्न सकिन्छ ।
अहिले बालबालिकाको बारेमा अभिभावकको धेरैजसो गुनासो भनेकै धेरै बेर टीभी र मोबाइलमा झुण्डिने, अह्राएको नटेर्ने आदि पर्दछन् । यस्तो अवस्थामा मोबाइल, टीभीकै प्रयोगबाट उनीहरूमा विषयगत र व्यावहारिक ज्ञान सिकाउने उपायहरू खेजिनु पर्दछ । वेबसाइट तथा युट्युबहरूमा बालबालिकाले अध्ययन गरिराखेका विषयवस्तुसँग सम्बन्धित विषयहरू प्रशस्त पाइन्छन् । तिनीहरूलाई पहिला आपूmले खोजेर वा सक्षम भए उनीहरूलाई खोज्न लगाएर अध्ययन र जानकारी लिन लगाउन सकिन्छ । वेबसाइटमा भएका कतिपय प्रख्यात भौगोलिक एवं पर्यटकीय स्थान परिचय, वैज्ञानिक आविष्कार, ऐतिहासिक घटनाहरू हेर्न लगाएर तिनीहरूबारे प्रश्न दिएर उत्तर लेख्न लगाउन सकिन्छ । त्यस्तै गीत, नृत्य, बक्तृत्वकला, सामान्य ज्ञान सिक्ने माध्यमको रूपमा पनि मोबाइलको उपयोग गर्न सकिन्छ । उनीहरूको रुचिअनुसार रचनात्मक, सिर्जनात्मक कामहरूमा व्यस्त हुन पाउँदा बालबालिका रमाउने हुन्छन् ।
चित्र बनाउने, रंग भर्ने, म्याजिक कोठाहरू भर्ने, हिज्जे मिलाउने, विभिन्न आकाार र प्रकारका वस्तुहरू चिन्ने, बनाउने, शुद्ध र राम्रो अक्षर लेख्ने, अभ्यास आदि गराएर पुरस्कार र प्रशंसा स्वरूप चक्लेट, लेखेको कपीमा मूल्यांकन स्वरूप अंक प्रदान गरेर, परिवारमा एकभन्दा बढी केटाकेटी भए आपसमा प्रतिस्पर्धा गराउँदा पनि उत्साहपूर्वक हौसिएर सहभागिता जनाउँछन् । बालबालिकाहरू विद्यालयमा रुटिनअनुसार पठनपाठन र अतिरिक्त क्रियाकलापमा अभ्यस्त भैराखेकाले घरमा गरिने उल्लिखित क्रियाकलापहरू पनि समयतालिका बनाएर नै गर्दा प्रभावकारी हुन्छ । व्यक्तिगत सरसफाइ, स्वस्थकर खाना, स्वच्छ दैनिकी र उपुयुक्त आराम र निद्राले बालबालिकामा स्फूर्ति बढाउँछ । त्यस्तै बाल साहित्य पढ्ने, उनिहरूले तयार गरेका चित्र, लेख रचना आदी बाल पत्रपत्रिकामा छाप्न पठाउनाले आत्मबल र प्रतिस्पर्धाको ल्याकत विकास गराउन टेवा पुग्दछ । छोराछोरीको कुरा धैर्यतापूर्वक सुन्ने, उनिहररुको जिज्ञासालाई सावधानिपूर्वक सम्बोधन गर्ने, विभिन्न कथा र अनुभवहरू सुनाउने, अन्तरक्रिया गर्ने, विकल्पहरूमा छलफल गरेर निर्णय गर्ने निष्कर्समा पुग्ने, प्रशंसा गर्ने, आदर, सत्कार, संयमलगायतका मानवीय तथा सामाजिक मूल्यमान्यतालाई आत्मसात गर्ने संस्कारको विकासतर्फ पनि अभिभावकले हेक्का राख्न बिर्सनु हुन्न ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- स्वास्थ्य मन्त्रालयद्वारा अनुमतिप्राप्त मेडिकल कलेजहरूको अस्पताल शय्या क्षमता सार्वजनिक
- ‘हलिया र कमैयाको पहिचान र प्रमाणीकरणमा सरकार गम्भीर’
- ‘कर र महसुलका दर घटाउनु स्वागतयोग्य’
- गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाद्वारा निःशुल्क खाद्यान्न वितरण
- ज्योति विकास बैंकका ग्राहकलाई इ–रिभल्भिङ इन्डियन कुजाइन रेस्टुरेन्टमा छुट
- जीवन विकास लघुवित्तको नाफा नौ करोड ९३ लाख
- एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष सार्वजनिक
- एसिया र विश्वकप यो हातले उचाल्नु छ: कप्तान महतो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया