Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइ–सेवाको रकम एटीएमबाट झिक्न मिल्ने

इ–सेवाको रकम एटीएमबाट झिक्न मिल्ने


काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इ–सेवाका प्रयोगकर्ताले अबदेखि आफ्नो इ–सेवा खातामा रहेको रकम एटीएम मेसिनमार्फत पनि सहजै झिक्न सक्ने भएका छन् । इ–सेवाले हाल एभरेस्ट बैंकसँगको सहकार्यमा इ–सेवा खातामा रहेको रकम एटीएमबाट समेत झिक्न सकिने सेवाको सुरुवात गरेको हो । इ–सेवामा रहेको रकम एटीएमबाट निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नुपर्ने छैन । इ–सेवाका प्रयोगकर्ताले आफ्नो मोबाइलमा आउने ओटीपीमार्फत सहजै एटीएमबाट नगद रकम झिक्न सक्ने छन् । यसअघि इ–सेवामा रहेको रकम झिक्न आफ्नो खाता रहेको बैंकमा ट्रान्सफर गर्नुपर्ने हुन्थ्यो । तर अबदेखि एटीएममार्फत पनि रकम झिक्न सकिने भएपछि इ–सेवा प्रयोगकर्तालाई झनै सहज हुनेछ । यो सेवा वालेट कम्पनीहरूमा नेपालमै पहिलोपटक सुरुवात गरिएको कम्पनीको भनाइ छ ।

इ–सेवामा रहेको रकम एटीएममार्फत पनि झिक्न सकिने सेवाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा इ–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने, ‘इ–सेवा प्रयोगकर्तालाई इ– सेवामा रहेको रकम झिक्न अझ सहज होस् भन्ने उद्देश्यले हामीले एभरेस्ट बैंकसँगको सहकार्यमा एटीएमबाटै रकम झिक्न सकिने सेवाको सुरुवात गरेका हौँ । हामी जहिले पनि क्यासलेस अर्थतन्त्रलाई प्राथमिकता दिँदै सोही किसिमका सेवा सञ्चालन गर्दै आएका छौँ । तर कहिलेकाहीँ इ–सेवामा रहेको रकम क्यासमा नै चाहिए पनि प्रयोगकर्तालाई सहज होस् भन्ने उद्देश्यले हामीले यो सेवाको सुरुवात गरेका हौँ । हामी नेपाल सरकार र नेपाल राष्ट्र बैंकको क्यासलेस अर्थतन्त्र बनाउने अभियानमा निरन्तर लागिरहेका छौं र लागि नै रहनेछौं । जसका लागि आगामी दिनमा पनि हामीले सोहीअनुसारका सेवा सुविधाहरू थप गर्दै जान प्रतिबद्ध छौँ ।

यस्तै, कार्यक्रममा एभरेस्ट बैंकका डेपुटी सिईओ विजयकुमार शर्माले भने, ‘एभरेस्ट बैंक जहिले पनि आफ्ना ग्राहकलाई नयाँ सेवा र सुविधा दिन तत्पर छ । यसै क्रममा इ–सेवाजस्तो नेपालको पहिलो र अग्रणी वालेट कम्पनीसँग सहकार्य गर्न पाउँदा हामी पनि उत्साहित छौँ । इ–सेवाका प्रयोगकर्ताले एभरेस्ट बैंकका देशभर रहेका कुनै पनि एटीएम मेसिनमार्फत सहजै रकम झिक्न सक्नुहुनेछ । हामी यो आशा गर्दछौं क यसले नेपालभर रहेका इ–सेवाका लाखौं प्रयोगकर्तालाई धेरै सहज बनाउनेछ ।’

हाल इ–सेवाको सेवा एन्ड्रोइड तथा आईओएस मोबाइलमार्फत ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैगरी देशभर रहेका दुई लाखभन्दा बढी एजेन्ट (इ–सेवा जोन तथा पोइन्ट)मार्फत अप्रत्यक्षरूपमा डेढ करोडभन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन् । इ–सेवाबाट इन्स्योेरेन्सको प्रिमियम भुक्तानी, स्कुल कलेजको शुल्क भुक्तानी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाईजहाजको टिकट, बस टिकट, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न किसिमका सरकारी सेवाहरूको शुल्क भुक्तानीलगायतका करिब तीन हजार मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया