Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकाबैतेश्वर गाउँपालिकाको आगामी बजेट ४९ करोड

बैतेश्वर गाउँपालिकाको आगामी बजेट ४९ करोड


दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ४९ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीले आइतबार १३औँ गाउँसभामा आगामी आवको नीति तथा र ४९ करोड २८ लाख ८८ हजार तीन सय ४५ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले आगामी वर्षदेखि युवालाई रोजगारी दिन बैतेश्वर रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । यस्तै, चालू आवमा सुरु गरेको अनिवार्य सामुदायिक विद्यालय भर्ना अभियानलाई आगामी आर्थिक वर्ष २०८०/०८१ मा पूर्णरूपमा कार्यान्वयनमा ल्याउने भएको छ । हालसम्म ९० प्रतिशत कार्यान्वयन भएको राज्य स्रोतबाट तलबभत्ता बुझ्नेका छोराछोरी अनिवार्य सामुदायिक विद्यालय भर्ना पढाउनुपर्ने निर्णयलाई आगामी वर्ष शतप्रतिशत कार्यान्वयनमा ल्याउने उपाध्यक्ष उप्रेती बताइन् ।

यस्तै, पालिकाले पहिलेदेखि नै आन्तरिक स्रोतबाट स्तरोन्नति गर्न सुरु गरेका मुख्य स्थानीय ग्रामीण सडक निर्माणलाई आगामी वर्ष पनि निरन्तरता दिने भएको छ । संघ तथा प्रदेश सरकारको समपूरक अनुदानले नसमेटिएका सडकलाई पालिकाकै बजेटबाट आगामी वर्ष कालोपत्रे तथा ढलान गर्ने र पाँच वर्षभित्र हिलोमुक्त सडक बनाउने पालिकाको लक्ष्य छ । यस्तै, एमबीबीएस डाक्टर उत्पादन अनुदानलाई निरन्तरता दिने, सामुदायिक विद्यालयका एसईई उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने, भैंंसीपालक किसानलाई प्रोत्साहन, बेमौसमी तरकारी खेती कार्यक्रम अनुदान, वितरणमुखी अनुदान रोकेर उत्पादनमुखी अनुदानमा जोड दिने आगामी नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यसैगरी यसअघिका टुक्रे साना योजना रोकेर रणनीतिक योजना तथा पूर्वाधार विकास लगानी वृद्धि गर्ने, आगामी वर्षभित्र ‘एक घर एक धारो’ कार्यक्रम सक्ने तथा आन्तरिक आम्दानी वृद्धि गर्ने गाउँपालिकाले योजना बनाएको छ । त्यसैगरी बैतेश्वर गाउँपालिकाले कृषि उत्पादकत्व वृद्धि गर्न तथा किसानलाई आत्मनिर्भर बनाउन आधुनिक खेती प्रणालीको विकास गर्ने, वडामा उत्पादन हुने मुख्य खेतीको अनुगमन गरी उत्पादनको हिसाबले लगानी तथा अनुदान वृद्धि गर्ने, गाउँपालिका तथा वडा डिजिटल अनलाइन सिस्टमको विकास गर्ने, बैतेश्वरका सबै नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउने, १५ बेडको बैतेश्वर अस्पताल निर्माण सम्पन्न गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकाको १३औँ गाउँसभा गाउँपालिका अध्यक्ष छवि लामाको अध्यक्षतामा सम्पन्न भएको हो ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया