Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकाले पाँच दिनसम्म वित्तीय बजार बन्द गर्ने

श्रीलंकाले पाँच दिनसम्म वित्तीय बजार बन्द गर्ने


श्रीलंका । श्रीलंकाको सरकारले बिहीबारदेखि पाँच दिनका लागि वित्तीय बजार बन्द गर्ने घोषणा गरेको छ । ५१ अर्ब अमेरिकी डलर ऋण र आन्तरिक ऋणको पुनर्संरचना गर्ने कदम चाल्ने तयारीका लागि बैंक तथा वित्तीय संस्थाको कारोबार बन्द गर्ने घोषणा गरेको हो ।

ऋण पुनर्संरचना योजनालाई अनुमोदन गर्न विधायिकाको विशेष अधिवेशन बोलाउने विषयमा छलफल गर्न मंगलबार बैठक बस्ने बताइएकोे छ । यद्यपि यसबारे सोमबार साँझसम्म टुंगो भइसकेको थिएन । श्रीलंकाले गतवर्ष विदेशी ऋणको किस्ता भुक्तानी गर्न नसकेपछि आर्थिक संकट घोषणा गरेको थियो । तर, मार्च महिनामा आईएमएफसँग ‘बेलआउट प्याकेज’ अनुरूप ऋणको पुनर्संरचना गर्ने सहमति भएको थियो । जसबाट सरकारी ऋणपत्रलाई असर गरेको छ ।

श्रीलंकाका केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीरासिंघेले ऋण पुनर्संरचनाको बारेमा संसद्मा छलफल भइरहेको बेला वित्तीय बजार खुला रहनु अस्वस्थ हुने बताएका छन् । सरकारी अधिकारीहरूले बिहीबार पर्व बिदा परेका कारण शुक्रबारदेखि बिदा दिन आग्रह गरेका छन् ।

गभर्नर वीरासिंघेले स्थानीय टेलिभिजनसँगको कुराकानीमा संसद्मा संवेदनशील ऋण पुनर्संरचनाको बारेमा छलफल हुँदा वित्तीय बजारले काम गर्न नहुने बताएका हुन् । उनले पाँच दिनभित्र ऋण पुनर्संरचनाको प्रक्रिया पूरा हुने विश्वास व्यक्त गरेका छन् ।
श्रीलंकाले चार वर्षका लागि आईएमएफबाट उद्धार प्याकेजस्वरूप लिएको दुई दशमलव नौ अर्ब अमेरिकी डलरको निरन्तरता दिन पुनर्संरचनाका लागि ऋणदाताहरूसँग वार्ता गरिरहेको छ ।

सरकारले गत अगस्टमा नै वैदेशिक ऋणको पुनर्संरचनाको अपेक्षा गरेको थियो । तर, चीन अनिच्छुक भएपछि रोकिएको थियो । चीनले ऋणको पुनर्संरचना गर्नुको सट्टा पुरानो ऋण तिर्न नयाँ कर्जा प्रस्ताव गरेको थियो । श्रीलंकाको कुल वैदेशिक ऋणमा १४ अर्ब डलरभन्दा बढी विभिन्न मुलुकहरूसँग द्विपक्षीय ऋण छ । जसमा चीनसँग मात्रै ५२ प्रतिशत छ ।

आईएमएफले श्रीलंकालाई आफ्नो खाता सन्तुलित राख्न र आर्थिक संकटबाट बाहिर निस्कन सार्वजनिक ऋणलाई आधाभन्दा बढी घटाउन सुझाव दिँदै आएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया