Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपाल तथा भारतको साझा समृद्धिको बाटो जलस्रोत

नेपाल तथा भारतको साझा समृद्धिको बाटो जलस्रोत


काठमाडौं । भारतीय खासगरी गंगा मैदानमा बसोबास गर्ने करिब ५५ करोड जनसंख्या गरिबी, भोकमरी, बेरोजगारी, अविकास र धार्मिक तथा जातिगत दंगाले ग्रसित भई मानवीय त्रासदीमा बाँच्न बाध्य छन् । यहाँका युवा आफ्नो यूपी, विहार, बंगाल, उत्तराखण्डजस्ता राज्य छोडी भारतकै अन्य जन्तहरूमा अपमान, अवहेलना र अपेक्षा सही काम गर्न जान बाध्य छन् । यी उत्तर भारतीय राज्यहरूमा बिजुली, खानेपानी, सिँचाइ सुविधा भौतिक पूर्वाधारजस्ता उद्योगलाई चाहिने कुनै पूर्वाधारहरू छैनन् । हो, ठूलाठूला उर्वर फाँटहरू छन् तर सिँचाइ छैन । यहाँका नदीहरू सतहभन्दा धेरै तल छ । भूमिगत पानी पनि ४०० मिटरभन्दा गहिरो सतहमा छ ।

त्यस्तै, अर्को विडम्बना के छ भने कोशी, कर्णाली, गण्डकी, वाग्मतीजस्ता हजारौं नेपालबाट बहने नदीहरूले बर्सेनि ठूलो विपत्ति निम्त्याई मानवीय त्रासदी ल्याउँछ । अरू कुरा त के गर्ने ती बाढीले बालुवा ढुङ्गा होइन, केवल पूर्वाधारलाई निर्माणमा काम नलाग्ने पाँगो र गेगर मात्र बगाएर ल्याउँछ । खनिज पदार्थ र ठूलो मात्रामा खेतीयोग्य जमिन तथा श्रमशक्ति भए पनि यहाँ कुनै औद्योगिक उत्पादन छैन । यस अवस्थालाई अझ भयावह त यहाँ कुनै जलयातायातको व्यवस्था नभएकाले तुल्याउँछ । यही विभिन्नखाले पूर्वाधारको अभाव र बाढीजस्ता दैवी विपत्तिहरूले यी उत्तर भारतीय राज्यहरू आक्रान्त छन् । यहाँका जनता गरिबीको दावानल खप्न बाध्य छन् । यसरी नै सूक्ष्म अध्ययन गर्ने हो भने ठूलो मात्रमा जलस्रोत, पर्यटनको सम्भावना र उच्चमूल्य कृषिको सम्भावना भए पनि नेपाल समेत भारतजस्तै गरिब छ । मानव विकास सूचकाङ्कमा धेरै तल छ । भारतमा जस्तो नभए पनि गरिबीको दलदलमा परेको छ । यी स्थायी नेपाल र भारत दुवैको लागि अभिशापपूर्ण स्थिति हो, लज्जाको विषय हो । मानिन्छ भारत र नेपाल सदियौं पुराना मित्र देशहरू हुन् । झण्डैझण्डै समान संस्कृति, भाषा र धर्म भएका सिमानाले नछुट्टिएका देशहरू हुन् तर राजनीतिकरूपले सदियौंदेखि नै एक अर्काका विरोधी देशहरू हुन् । भारत नेपाललाई हेप्न खोज्छ । नेपाली सिमाना निल्न खोज्छ । नेपालका प्राकृतिक स्रोतहरू सित्तैमा लिन खोज्छ, नेपालका ऐतिहासिक धरोहर आफ्नो भनी कुप्रचार र दावी गर्छ । नेपालले आफ्नो विकास तथा सम्मृद्धिको लागि सञ्चालन गर्न खोजेको परियोजनाहरूको विरोध मात्र होइन अवरोध नै खडा गर्छ । तर नेपाल भारतको दादागिरी र हैकमवाद सहँदैन राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा सशक्त पुँजीवाद गर्छ । भारतसँग कहिल्यै झुक्दैन बरु विकास नभए नहोस्, आफ्नो अस्मिता जोगाउन प्रतिकार गर्दछ । यस्तै भारत र नेपालको संघर्षले दुवै देशलाई गरिब र मानवीय त्रासदीले आक्रान्त राष्ट्र बनायो । कमजोर र अविकसित देशहरू बनायो । यो ठूलो विडम्बनापूर्ण स्थिति हो ।

सम्भावना मात्र होइन, वास्तविकता के हो भने यदि नेपाल र भारत दुवैले सम्मृद्धि विकास र वैश्विक पहिचान चाहने हो भने मानिनेजस्तो अभूतपूर्व मित्रता दुई देशबीच सहसम्मान र सहअस्तित्वको आधारमा पहिले भएका असमान सन्धि तथा सम्झौताहरू खारेज गरी नयाँ दीर्घकालीन विकास तथा मैत्री सन्धि गरी त्यसलाई तत्काल कार्यान्वयनमा ल्याउनुपर्छ । नेपालको वास्तविकता के हो भनी नेपाल कुनै ठूला उद्योगहरूले चाहँदैन । आफ्नो पर्यावरण र सुन्दरता बचाई आफ्नो सम्मृद्धि विकास चाहन्छ । यो नेपालको वास्तविकता भारतले संवेदनशील भएर बुझनुपर्छ । त्यस्तै, नेपालले पनि भारतीय सुरक्षा, संवेदनशीलता र विकासका लागि चाहिने प्राकृतिक स्रोतको आवश्यकताको बारेमा संवेदनशील भएर बुझ्नु पर्छ ।

भारतका उत्तरी राज्यहरूले खानेपानीको अभावमा सिँचाइ सुविधाको अनिश्चितता, निम्न विद्युत् आपूर्ति, यातायात पूर्वाधारहरूको कमी जलयातायातको समस्या तथा बाढीको समस्याले पूर्णरूपले ग्रसित छन् । यस्तो दूरावस्थाबाट भारतले उन्मुक्ति पाई त्यस्ता राज्यहरूको विकास र सम्मृद्धि तथा त्यहाँ बस्ने करिब ५५ करोड जनतालाई गरिबीको दलदलवाट उन्मुक्त गरी सुखी बनाउन नेपालमा रहेको अन्य जलस्रोत र ढुङ्गा गिटी बालुवाजस्ता प्राकृतिक स्रोतहरूको पूर्ण सदुपयोगबाट मात्र सम्भव छ । अन्यथा ती राज्यहरू सदाको लागि गरिब रही भारतका लागि कहिल्यै निको नहुने क्यान्सरको रूपमा रहने छन् । त्यसरी नै नेपाल पनि आफ्नो प्राकृतिक स्रोतहरूको दोहन गर्न नसकी गरिब र अविकसित नै रहने छ । नेपालबाट हजारौं नदिनालाहरू भारततिर बहन्छन् । वर्षात्मा यी नदीहरूले बोकी भारतमा बाढीको विशाल ताण्डव मच्याउँछन् । भारतमा ठूलो जनधनको क्षति हुन्छ । मानवीय त्रासदी प्रतिवर्ष निम्तिन्छ । यस्तो भयावह अवस्थाबाट बच्न र नेपालसहित भारतका उत्तरी राज्यहरूको सम्मृद्धि ल्याउन भारत नेपालबीच खुला हृदयले माथि उल्लेखित सम्झौता गरी कोशी, गण्डकी, कर्णाली, महाकाली तथा वाग्मतीजस्ता नदीहरूको तल्लो तटीय क्षेत्र अर्थात् तराई निस्किनुभन्दा अगाडि नदीको मुखमा भारतीय लगानी वा भारतद्वारा व्यवस्थित वैदेशिक लगानी ल्याई बहुउद्देश्यीय जलस्रोत परियोजनाहरू बनाउनुपर्छ । यी ठूला बाँधहरू बनाउँदा निस्केका गिट्टी, ढुङ्गा, बालुवा, काठ र नेपालका अन्य स्रोतबाट पनि त्यस्ता पूर्वाधार निमार्णमा चाहिने सामग्रीहरू भारतले उचित मूल्य तिरेर खरिद गरी आफ्ना पूर्वाधारहरूको विकास गर्नुपर्छ । त्यस्ता उच्च बाँधहरूबाट उत्पादित जलविद्युत् तथा पानी भारतले उत्तरभारतीय राज्यहरूको खानेपानीको आवश्यकता, सिँचाइ, सुविधा पु-याउनुका साथै गंगा सुविधा पु-याउनुका साथै गंगा नदीमा १२ महिना चल्न सक्ने जल यातायातको विकास हुन जान्छ । ठूलो परिमाणको बिजुली, पूर्वाधार सिँचाइको व्यवस्था, खानेपानीको पर्याप्तता र जल यातायातको विकासले गर्दा ती भारतीय राज्यहरूमा उद्योगधन्दा र कृषिको अभूतपूर्व विकास भई ती राज्यहरू सम्मृद्ध हुन जान्छन् । जनता खुसी हुन गई भारत नै आर्थिकरूपमा सम्मृद्ध हुन जान्छ । नेपाल पनि यी उच्च बाँधहरूले निर्मित ठूलाठूला सरोवरबाट स्पोर्ट, पर्यटनजस्ता क्रियाकलाप गरी पानी र बिजुली बेचेकोभन्दा ठूलो परिमाणको मुद्दा कमाउन सक्छ । पूर्ण सिँचाइ सुविधाको कारणले अभूतपूर्वरूपमा कृषि पशुपालनजस्ता व्यवसायको विकास हुन जान्छ । छोटो समयमा नै नेपाल विकसित राष्ट्रहरूको श्रेणीमा माथि उठ्न सक्छ । यस्तो सुखद् सम्भाव्य मात्र होइन, यथार्थमा गर्न सकिने अवस्था हुँदाहुँदै पनि भारत र नेपाल दुवै देश गरिब भएर बस्नुपरेको छ । अझै ढिलो भएको छैन्, दुवै देशमा सर्वदलीय सहमतिको आधारमा नेपाल र भारतबीच सहअस्तीत्व र सहसम्मानको आधारमा विकास तथा मैत्री सन्धि अविलम्ब हुनुपर्छ । नेपालको जलस्रोत विकास नै नेपाल तथा भारतको साझा सम्मृद्धिको एकमात्र बाटो हो ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया