Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्ट्यान्डर्ड चार्टर्डको कर्मचारीका बालबालिकालाई ‘डे केयर’ सुविधा

स्ट्यान्डर्ड चार्टर्डको कर्मचारीका बालबालिकालाई ‘डे केयर’ सुविधा


काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले बैंकका कर्मचारीका बालबालिकालाई ‘डे केयर’ सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको नयाँबानेश्वरस्थित कर्पोरेट कार्यालयमा कर्मचारीका बालबालिकाका लागि पुनः क्रेच (डे केयर) सुविधा सञ्चालनमा ल्याएको हो ।

डे केयर सुविधाको उदघा्टन सोमबार नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर निलम ढुंगाना तिम्सिना र बैंकका सीईओ अनिर्वाण घोष दास्तिदारले गरेका छन् । यो सुविधा बैंकले सन् २०१३ बाट सुरु गरेको थियो । कोभिड महामारीका बेला अस्थायीरूपमा बन्द गरिएको यो सुविधा पुनः सुचारु गरिएको हो । विशेषगरी व्यावसायिकरूपमा काम गर्ने आमाहरूका लागि बैंकमा सहयोगी र समावेशी वातावरण सिर्जना गर्न डे केयर सुविधा ल्याइएको बैंकले जनाएको छ ।

विशेषगरी कर्मचारीहरुको समयको बचत तथा छ महिनादेखि तीन वर्षसम्मका बालबालिकाका लागि सहि हेरचाह खोज्ने तनाव कम गर्न सहयोग पुग्ने उद्देश्यले बैंकले यो सुविधा ल्याएको हो । क्रेच स्थापनादेखि लिएर मर्मत खर्च तथा मासिक खर्च बैंकले नै व्यहोर्नेछ । यो सुविधा नयाँ तरिकाले काम गर्ने वातावरण सिर्जना गर्न र उत्पादनशील काम गर्ने अभिभावकका लागि एउटा महत्वपूर्ण कदम रहेको बैंकको विश्वास छ । विशेषगरी महिला कर्मचारीलाई आफ्नो व्यावसायिक यात्रालाई निरन्तरता दिन यस किसिमको सुविधा सञ्चालन गर्ने स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमै पहिलो बैंक रहेको छ ।

कार्यवाहक गभर्नर तिम्सिनाले कर्मचारीलाई उत्प्रेरित गर्न वर्कफोर्समा महिलालाई सशक्त बनाउन यस किसिमको सुविधा निकै महत्वपूर्ण रहेको बताइन् । उनले बैंकका कर्मचारीसँग साक्षात्कार गर्दै महिला कर्मचारीले भोग्नुपरेको थुप्रै चुनौतीका विषयमा चर्चा गरेकी थिइन् । बैंकका सीईओ दास्तिदारले आप्mना बालबालिकासँग नजिक हुन सक्ने हिसाबले काम गर्ने अभिभावकका लागि ल्याइएको यो सुविधाले कार्यालयमा काम गर्ने सकारात्मक वातावरण सिर्जना हुने बताए । ‘हामीले चाहेको परिवर्तन तब सम्भव हुन्छ, जब हामी कर्मचारीहरू कायम राख्न र उनीहरूको कल्याणमा ध्यान केन्द्रित गर्छौं’, उनले भने ।

बैंकमा सञ्चालनमा ल्याइएको डे केयर सुविधा सबै कार्यदिनहरूमा खुला रहनेछ । जहाँ बालबालिकाहरू सुरक्षित, प्रगतिशील र रमाइलो वातावरणमा विभिन्न गतिविधिमा संलग्न हुन पाउनेछन् । त्यहाँ प्रत्येक बालबालिकालाई व्यक्तिगतरूपमा ध्यान दिइनेछ । उनीहरूलाई ग्याजेटबाट टाढा रहन र खेल तथा अन्य गतिविधिमार्फत एक–अर्कासँग थप अन्तर्क्रिया गरी स्वतन्त्र र अनुशासित बनाउन जोड दिइनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया