Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसोलुमा चौरीपालन व्यवसाय ९० प्रतिशतले घट्यो

सोलुमा चौरीपालन व्यवसाय ९० प्रतिशतले घट्यो


सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा चौरीपालन व्यवसायमा आकर्षण घटेको छ । आकर्षण घटेर चौरीपालक किसानहरू पेसाबाटै पलायन हुन थालेका हुन् । आम्दानी कम र दुःख बढी हुने भएपछि नयाँ पुस्ता सो पेसामा आकर्षित नभएको चौरीपालन महासघंका अध्यक्ष नुरु शेर्पाले बताए । उनका अनुसार विगत १० वर्षमा चौरीपालनको अवस्था ९० प्रतिशतले घटेको छ ।

उनका अनुसार हाल सोलुखुम्बु जिल्लामा लगभग एक सय ५० कृषकले पाँच हजार चौरी तथा याकपालन गर्दै आएका छन । आफ्नो पुर्ख्यौली पेसा चौरीपालन भएपछि विभिन्न कठिनाइका कारण चौरीपालन छाडेर छुर्पी दुर्खा, सेरग्याम, घिउलगायतका अन्य दुग्धजन्य वस्तुको व्यापार गरिरहेको सोलुदूधकुण्ड नगरपालिका ४ फाप्लुका सार्की शेर्पाले बताए । चौरीपालनका लागि खर्क पुग्नुपर्ने, चरण क्षेत्रमा निषेध हुनु, बजारीकरणको समस्या हुनु र गोठमा बस्ने कामदार नपाउनेजस्ता समस्याले यो क्षेत्रमा आकर्षण घटेको शेर्पाको भनाइ छ । आम्दानी उस्तै भए पनि चौरीपालनभन्दा अन्य दुग्ध व्यवसायबाट बढी फाइदा हुने भएपछि युवाहरूले पेसा फेर्न थालेका हुन् । सोलुदूधकुण्ड नगरपालिकाका अर्का चौरीपालक व्यवसायी रिञ्जी शेर्पाको पनि पुख्र्याैली पेसा नै चौरीपालन हो । उनका अनुसार विगतको तुलनामा चौरीपालन व्यवसायमा युुवाहरूको त्यति धेरै आर्कषण देखिँदैन । चरिचरणका लागि जङ्गलमा छाडिएका चौरीलाई जङ्गली जनावरले आक्रमण गर्दा निकै समस्या हुने गरेको उनको भनाइ छ ।

त्यस्तै, १८ वर्षदेखि चौरीपालन गर्दै आएका सोलुखुम्बु टाक्टोरका व्यवसायी देण्डी शेर्पा भन्छन्, ‘जङ्गली जनावरको आक्रमण त हुने नै भयो प्रत्येक १२/१५ दिनमा गोठ स्थानान्तरण गर्न झनै समस्या हुन थाल्यो ।’ गोठमा बस्ने जनशक्तिको अभाव हुँदा गोठ सार्ने बेलामा मान्छे खोज्नुपर्ने र भनेको बेला मान्छे नपाउँदा गोठ स्थानान्तरणमा कठिनाइ आउने गरेको उनी बताउँछन् । जिल्लाको आठ स्थानीय तहमध्ये थुलुङ दूधकोशी र नेचासल्यान गाउँपालिकाबाहेकका अन्य पालिकामा धेरथोर चौरीपालन गर्ने कृषकहरू रहेको चौरीपालन व्यवसायी महासंघले जनाएको छ ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया