Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिदोलखामा ४३ प्रतिशत रोपाइँ

दोलखामा ४३ प्रतिशत रोपाइँ


दोलखा। सिँचाइको अभावका कारण असारको तेस्रो सातासम्म पनि दोलखामा ४३ प्रतिशत मात्रै रोपाई भएको छ । सिँचाइको अभावकै कारण गत वर्षको तुलनामा यस वर्ष कम रोपाइँ भएको हो । गत वर्ष यही समयसम्म करिब ५५ प्रतिशत रोपाइँ सकिएको थियो ।

नेपालमा ढिलो मनसुन सुरु भएका कारण किसानले यस वर्ष ढिलो रोपाइँ सुरु गरेको कृषि ज्ञान केन्द्र रामेछापको सम्पर्क कार्यालय दोलखाले जनाएको छ । कार्यालयका अनुसार जिल्लाभर सिँचाइका सुविद्या भएको ४३ प्रतिशत भूभागमा रोपाइँ सकिएको हो । सिँचाइ पहुँच र सिमक्षेत्रमा रोपाइँ सकिए पनि मुख्य धान हुने फाँटका खेतहरूमा अझै रोपाइँ सुरु हुन नसकेको केन्द्रले जनाएको छ । कार्यालयका कृषि विकास अधिकृत नन्दराज ओलीका अनुसार दोलखाका धेरैजसो ठाउँमा सिँचाइ अभावका कारण धान रोपाइँ गर्न आकाशे पानीको भर पर्नुपर्छ । समयमा नै पानी नपरेकाले खेतमा कम रोपाइँ भएको उनको भनाइ छ ।

जिल्लामा यस वर्ष दुई हजार ९०१ हेक्टर भूभागमा धान खेती हुने अनुमान गरिएको छ । गत वर्ष तीन हजार दुई हेक्टर भूभागमा धानखेती भएको थियो । आकाशे पानीको भरमा यहाँ साउनको अन्तिमसम्म पनि रोपाइँ गर्ने गरिन्छ । सिँचाइको पहुँच भएका स्थानमा अहिले रोपाइँ जारी छ । जिल्लाको निम्कोट, गोपी, बैती, जिलु, चनौटे, गैरीलगायतका खेतमा रोपाइँ सकिएको छ । अन्य क्षेत्रमा भने वर्षा भर्खरै सुरु भएकाले धमाधम रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया