Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसर्लाहीमा करिब सात प्रतिशत रोपाइँ

सर्लाहीमा करिब सात प्रतिशत रोपाइँ


सर्लाही । असार सकिनै लाग्दा सर्लाहीमा करिब सात प्रतिशत मात्रै रोपाइँ भएको छ । पर्याप्त वर्षा हुन नसक्दा जिल्लामा सिँचाइ सुविधा रहेको क्षेत्रमा मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ । केन्द्रका प्रमुख देवानन्द यादवका अनुसार बाग्मती र मनुष्मारा सिँचाइ नहरको पानी लाग्ने क्षेत्रमा मात्रै धान रोपाइँ सुरु भएको हो ।

‘सिँचाइ सुविधा रहेको क्षेत्रमा मात्र धान रोपाइँ भएको छ, एक झर पर्याप्त पानी परे जिल्लाका सबै क्षेत्रमा रोपाइँ सुरु हुने थियो’, ज्ञान केन्द्रका प्रमुख यादवले भने । ४३ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती हुने सर्लाहीमा अधिकांश क्षेत्रमा आकाशे पानी कुरेर रोपाइँ गरिन्छ । बाग्मती र मनुष्मारा सिँचाइको नहरबाट केही क्षेत्रफलमा सिँचाइ हुने भए पनि धेरै क्षेत्रमा आकाशे पानीको भर पर्नुपर्छ । यो वर्ष जेठको खडेरीले धानको ब्याड सुकेर नष्ट भएपछि अधिकांश किसानले दोहो-याएर ब्याड राख्नु परेको स्थानीयवासी भोला यादवले बताए । उनका अनुसार दोहो-याएर राखेको धानको ब्याड पनि रोप्नका लागि तयार भइसकेको छ तर पर्याप्त आकाशे पानी हुन नसक्दा कतिपय स्थानमा धान रोपाइँ सुरु नै हुन सकेको छैन ।

जिल्लाको लखन्देही, कालिञ्जोर, फूलजोर, बाँके, झिमलगायत खोलामा किसानले बाँध कसेर सिँचाइ गर्ने गरेको भए पनि यस वर्ष पर्याप्त पानी नपर्दा यी खोला पनि सुक्खा छन् । रोपाइँका लागि पर्याप्त आकाशे पानीको प्रतीक्षामा बस्दाबस्दै असार सकिन लागेका अर्का किसान राजीव महतोले बताए । केही किसानले पम्पसेट चलाएर पनि रोपाइँ गर्न सुरु गरेका भए पनि अधिकांश किसानले खेतमा जम्ने गरी पानी परेपछि मात्रै रोपाइँ सुरु गर्ने महतोले बताए । बिजुली पुगेको ठाउँमा बत्तीबाट पम्पसेट चलाउन सहजै हुन्छ तर बत्ती नपुगेको ठाउँमा डिजेलबाट चलाउँदा महँगो पर्न जाने गरेको हिरेन साहले बताए । यस क्षेत्रमा केही दिनदेखि हल्का वर्षा भइरहे पनि बग्ने गरी पानी पर्न सकेको छैन । सामान्य पानीले मकै, उखुलगायत बालीलाई भने फाइदा नै गरेको किसानहरूले बताएका छन् । धान रोपाइँका लागि प्रतीक्षा गरेअनुसार पर्याप्त पानी नपर्दा जिल्लाका किसान निराश देखिएका छन् ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया