Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषि१५ वर्षदेखि सिंगो गाउँ नै व्यावसायिक तरकारी खेतीमा

१५ वर्षदेखि सिंगो गाउँ नै व्यावसायिक तरकारी खेतीमा


सुबास बस्नेत
दोलखा, वैशाख १५
दोलखाको एउटा सिङ्गो गाउ नै विगत १५ वर्षदेखि व्यवसायी तरकारी खेती गर्दै आएको छ । जिल्लाको भीमेश्वर नगरपालिका ७ को मकैबारीका करिब दुई सयभन्दा बढी किसानले १५ वर्षदेखि व्यवसायी तरकारी खेती गर्दै आएका छन् । तरकारी पकड क्षेत्र मकैबारीबाट वार्षिक छ करोडबराबरको तरकारी उत्पादन हुँदै आएको छ । सदरमुकाम चरीकोटदेखि करिब तीन किलोमिटरको दूरीमा रहेको उक्त गाउँ उत्पादनको हिसाबले उर्वर भूमि रहेको छ । मकैबारीका करिब दुई सय किसानले आफ्नो जमिनमा तरकारी खेती गरेका छन् । विशेषगरी त्यस गाउँका किसानले आफ्नो खेतबारीमा छोटो समयमा राम्रो आम्दानी हुने साग लगाएर लाखौं आम्दानी गर्दै आएका छन् ।

लकडाउनको समयमा पनि मकैबारीबाट दैनिक चारगाडी तरकारी काठमाडौं खपत हुँदै आएको छ । विगत १५ वर्षदेखि तरकारी खेती गर्दै आएका पपु तामाङले १० रोपनी जमिन साग र काउली लगाएका छन् । उनले तरकारीबाट वार्षिक पाँचदेखि छ लाखसम्म आम्दानी गर्ने बताए । उनले बारीमा मौसमअनुसारको तरकारी खेती गर्दै आएका छन् । तामाङको बारीमा गत वर्षभन्दा यो वर्ष राम्रो साग उत्पादन भएको छ । गत वर्ष करिब साढे चार लाखको तरकारी उत्पादन गरेका तामाङले यो वर्ष छदेखि सात लाखसम्मको तरकारी उत्पादन हुने बताए ।

सिँचाइको पर्याप्त सुविधा रहेको सिङ्गो गाउँका किसान अहिले दैनिक पाँच सय किलोसम्म साग काठमाडौं पठाउने गर्छन् । केही दिनअघि परेको असिना पानीले उपत्यकामा उत्पादन हुने तरकारी नष्ट भएको कारण अहिले काठमाडौंमा सागको खपत हुने गरेको स्थानीय कृषक कृष्ण तामाङले बताए । कृष्णले पनि १५ रोेपनी जग्गामा साग लगाएका छन् । उनले लगाएको साग लिन तरकारी व्यापारी गाडी र मान्छे लिएर गाउँमै आउने गरेका छन् । पछिल्लो समय लकडाउनले काउली बिक्री गर्न भने समस्या भएको छ । लकडाउनका कारण काउलीको माग घटेको उनले बताए । तर सागको माग र मूल्यवृद्धि भएको उनको भनाइ छ । दोलखाको चरीकोट बजारलगायतका ठाउँमा काउलीको माग न्यून रहेको हुँदा बारीमै काउली कुहिन थालेको उनले बताए ।

बजारमा काउलीको मूल्य ४० देखि ५० रुपैयाँ रहेको छ भने सागको मूल्य प्रतिकिलो २० देखि २५ रुपैयाँ रहेको छ । तर बिचौलियाहरुले भने कृषकको बारीमै गएर २० रुपैयाँ किलो साग र ३५ रुपैयाँ किलो काउली उठाउने गरेका छन् । सोही ठाउँका कृषक अर्जुन दाहालले तरकारी खेतीबाटै आफ्नो ६ जनाको परिवारको खर्च धानेर वार्षिक तीन लाखसम्म बचत गर्ने गरेको बताए । मकैबारीका धेरै जति किसानले उत्पादन गरेको तरकारी खरिद गर्दै आएका धादिङका तरकारी व्यापारी रामचन्द्र सुवेदीले विगत १५ वर्षदेखि मकैबारीलगायतका ठाउँ उत्पादन भएको तरकारी आफूले खरिद गरेर काठमाडौं लगेर बिक्री गर्ने गरेको बताए ।

किसानलाई राहत होस् भन्ने उद्देश्यले तरकारी खेतीको समय मलबीउ समेत आफैँले व्यवस्था गरिदिने गरेको उनको भनाइ छ । लकडाउनको समयमा पनि सुवेदीले दैनिक तीन गाडी तरकारी दोलखाबाट काठमाडौं लाने गरेका छन् । यहाँका कृषकहरुले मुख्यगरी साग, आलु, गाँजर, गोलभेडा, खोर्सानी, काउली, बन्दालगायतका तरकारी खेती गर्दै आएका छन् ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x